२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

प्रचण्डको राजनीतिक चातुर्यता: बाबुराम सिद्धिएलान् कि सिद्ध्याउलान्

काठमाडौं,मंसिर २ – पहिलो चरण अन्तरगत मंसिर १० गते हुने निर्वाचनमा अहिले धेरै मानिसको ध्यान गोरखा क्षेत्र नम्बर २ तर्फ खिचिएको छ । यो क्षेत्रमा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी भिडन्तमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका दुवै एकीकृत माओवादी कालका उपाध्यक्ष हुन् ।

जनयुद्धकालमा श्रेष्ठ खुला मोर्चामा र भट्टराई युद्ध मैदानमा नै नेतृत्वमा रहेका थिए । निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रमकरुपमा अघि बढाईरहेका छन् । माओवादी जनयुद्धका दौरान प्रचण्डपछिका दोस्रो शक्तिशाली नेता डा. बाबुराम भट्टराई यति बेला कांग्रेसकै सहारामा संसद् प्रवेशका लागि जनताको दौंडिनु पर्ने अवस्था आएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा २ बाट निर्वाचित डा। भट्टराई र मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु एकले अर्कोलाई सिद्याउन खोज्दा आफैं भावी सांसद बन्ने बाटो बन्द गर्नु पनि हो। यो भिडन्तले गर्दा चर्चित दुईनेता मध्ये एकले मात्र मात्रै सांसदको विल्ला पाउने छन्। भिडन्तमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो जीत हुनेछ। किनभने पार्टीमा रहुन्जेल बाबुरामले दिएको सकसपूर्ण साथलाई माथ गर्नेदेखि नारायणकाजीको नारद प्रवृतिलाई साइजमा राख्न मतादेश प्राप्तिको यो मौका प्रचण्डको राजनीतिक चातुर्यताको चुनावी महाकुम्भ पनि हो।

द्वन्द्वमा राज्यपक्ष वा तत्कालीन विद्रोही शक्ति माओवादीबाट हत्या गरिएकाको शहिद परिवार, घाइते, अपांगता भएका अहिले धर्मसंकटमा छन् । काँग्रेस निकटका द्वन्द्वपीडितले पत्रकार सम्मेलन गरी मुख खोलिसकेका छन् कि सशस्त्र द्वन्द्वका नेतृत्वकर्तासमेत रहनुभएका भट्टराईलाई भोट दिन सक्दैनौँ भनेर । माओवादीभित्रका द्वन्द्वपीडितको पनि अवस्था उस्तै छ – हिजो ‘जनयुद्ध’ धोका ठान्ने श्रेष्ठलाई पार्टीको ह्वीपअनुसार भोट दिने कि नदिने । चुनावका हरेक सभामा एउटा पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गरेको दृश्य रोचक देखिन्छ । कोही त कार्यक्रम गरेपिच्छे पार्टी परिवर्तन गर्छन्, शीर्ष नेताको हातबाट अबीर लगाउँछन् । प्रायः स्वार्थी चुनावपिच्छे पार्टी परिवर्तन गरिरहेका हुन्छन् ।

डा भट्टराई र श्रेष्ठको प्रायः सबैजसो कार्यक्रममा एक/दुई जना पार्टी प्रवेश गरिरहेकै हुन्छन् । कहिले नयाँ शक्ति छाडेर माओवादीमा, कहिले माओवादी छाडेर नयाँ शक्तिमा त कहिले काँग्रेस छाडेर एमाले, एमाले छाडेर काँग्रेस । एघार वटा स्थानीय तह रहेको गोरखामा नौ वटा तहको प्रमुख पद काँग्रेसले जितेको छ । त्यस बेला गोरखामा शान्त चुनाव भएको थियो । झडप भएन । कुटपिट गर्न नसक्दा आफ्नो पार्टीले हार व्यहोर्नुपरेको समीक्षा गरेका दलले यसपटक झडप गर्ने, जिल्ला बाहिर रहेका मतदातामा त्रास फैलाउने गतिविधिको छनक दिइरहेका छन् ।

चुनावमा को बलियो भनेर गत स्थानीय तहमा आएको दलको भोट हिसाब गर्ने गरिएको छ । यस आधारमा नेपाली काँग्रेस, नयाँ शक्ति, राप्रपाका साझा उम्मेदवार लोकतान्त्रिक गठबन्धनको मत गोरखा २ मा २४ हजार ९६५ पुग्छ जुन वाम गठबन्धनको भन्दा १५८ मत बढी हो । स्थानीय तह निर्वाचनपछि थपिएका १८ हजार गोरखाली मतदाताले कसको पल्ला भारी गर्छन् त्यो हेर्न बाँकी छ ।

स्थानीय चुनावका आधारमा को कति बलियो ?
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन । गोरखा २ मा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन जम्मा १३२ मतले मात्रै अगाडि देखिन्छ । तर, अबको चुनावमा उम्मेदवारको व्यक्तित्वका कारण स्थानीय चुनावको भन्दा केही फरक परिणाम आउन सक्ने अनुमान गरिएको छ ।

गत स्थानीय चुनावमा नेपाली कांग्रेसले यस क्षेत्रमा कुल १७ हजार ७० मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १७ हजार ८९४ मत पाएको थियो । त्यस्तै नयाँ शक्तिले ७ हजार ९०० र नेकपा एमालेले ७ हजार २०८ मत पाएको थियो । स्थानीय चुनावको यो मतका आधारमा हेर्दा कांग्रेस र नयाँशक्तिको कुल मत २४ हजार ९७० हुन्छ भने माओवादी र एमालेको २५ हजार १०२ मत हुन्छ ।

गोरखा-२ मा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, सुलीकोट गाउँपालिका तथा गोरखा नगरपालिकाका ८ देखि १४ वडा समावेश छन् । पालुङटार नगरपालिमा गत स्थानीय चुनावमा कांग्रेसले ४ हजार ६९८ मत पाएको थियो । माओवादी केन्द्रले ४ हजार ४९१, एमालेले २ हजार ४१० र नयाँ शक्तिले ३ हजार ९७६ मत पाएका थिए । सिरानचोक गाउँपालिकामा कांग्रेसले ३ हजार ४०२ मत पाएको थियो भने एमालेले १ हजार ७४०, माओवादी केन्ऽले ३ हजार २३५ र नयाँ शक्तिले १ हजार ४३१ मत पाएका थिए ।

त्यस्तै अजिरकोट गाउँपालिकामा कांग्रेसले ३ हजार ३३, एमालेले ३ सय ४७, माओवादी केन्द्रले २ हजार ७०२ र नयाँ शक्तिले १ सय ५० मत पाएका थिए । सुलीकोट गाउँपालिकामा कांग्रेसले ३ हजार २२, माओवादीले ४ हजार ६५९, एमालेले ८ सय ८५ र नयाँ शक्तिले १ हजार १६ मत पाएका थिए । गोरखा नगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसले ४९८, एमालेले ४०५, माओवादीले ४३९ र नयाँशक्तिले ४५५ मत पाएका थिए । वडा नम्बर ९ मा कांग्रेसले ४६७, एमालेले १७५, माओवादीले ३६६ र नयाँ शक्तिले १७७ मत पाएका थिए ।

वडा नम्बर १० मा कांग्रेसले ३६७, एमालेले ३७३, माओवादीले ३०९ र नयाँ शक्तिले १८२ मत पाएका थिए । वडा नम्बर ११ मा कांग्रेसले ३४७, एमालेले ३२७, माओवादी केन्द्रले ४२८ र नयाँ शक्तिले ६८ मत पाएका थिए । यस्तै वडा नम्बर १२ मा कांग्रेसले ५३६, एमालेले १२२, माओवादीले ४८७ र नयाँ शक्तिले २१ मत पाएका थिए । वडा नम्बर १३ मा कांग्रेसले ४०४, एमालेले ९७, माओवादी केन्द्रले ५६४ र नयाँ शक्तिले ३२८ मत पाएका थिए । र, वडा नम्बर १४ मा कांग्रेसले २९६, एमालेले ३२७, माओवादीले २१४ र नयाँ शक्तिले ९६ मत पाएका थिए

Facebook Comments Box

फेसबुक