२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

प्रदेशसभामा उठ्यो समीक्षा मृत्युको विषय

रुपन्देही रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीको रहस्यमय मृत्युको बारेमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

सोमबार बसेको प्रदेशसभा ५ को बैठकमा सांसदहरु निर्मला क्षेत्री, कमला देवी बिक, दीपा विक, दामाकुमारी शर्माले समीक्षा ठकुरीको मृत्यु महिला हिंसाको चरम उत्कर्ष भन्दै दोषी पत्ता लगाएर कारबाही गर्न माग गरे ।

घटनाको लामो समय सम्म मुद्दा दर्ता नहुनु र सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि मात्रै मुद्दा दर्ता गरिनु, स्थानीय जनप्रतिनिधिहरु र स्थानीय प्रहरी प्रशासनले समेत घटनाप्रति चासो नदेखाउनु दुखद भएको सांसदहरुको गुनासो थियो ।

असार ९ गते आफ्नै घरमा सुतेको अवस्थामा आगोले जलेर गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा असार २० गते काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

अस्पतालमा उपचारमा रहेका बेला समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्‍याएको बताएको सानी आमा रचना बुढाथोकीले बताएकी छन् । स्थानीय पीसल्याण्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै गरेकी समीक्षा गएको ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । त्यसअघि उनी मावली घरमा बस्दै आएकी थिइन् ।

समीक्षा जन्मेको ९ महिना हुंदा उनका बुबाले दोस्रो बिहे गरेसंगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेला देखि नै आमा-छोरी माइतीमा बस्दै आएका थिए । समीक्षा बुबाको घरमा बस्न थालेपछि परिवारका सदस्यबाट पटक पटक कुटपिट, दुव्र्यवहार हुनुका साथै सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेका थिए ।

समीक्षा घरमै बस्न थालेसंगै अंश दिनुपर्ने डरले परिवारले मिलेर आगो लगाएको दावी किशोरीकी आमा र मावली पक्षले दावी गरेका छन् । घटना हुनु एक महिना अघि पनि बुबा, हजुरआमा र फुपुहरु मिलेर घाइते हुने गरी कुटपिट भएपछि समीक्षाले प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

उक्त घटना स्थानीय प्रहरी चौकी,गाउँपालिकाको न्यायिक समितिसम्म पुगेर छलफल भई आइन्दा कुटपिट नगर्ने सहमतिमा मिलेको थियो । तर त्यसको केही दिनपछि नै फेरि समीक्षामाथि दुर्व्यवहार शुरु भएको थियो ।

समीक्षाको मृत्युपछि दुई पटकसम्म जाहेरी दर्ता नभएपछि इराकमा रहेकी आमा माया थापा रुद्रपुर फर्केर परिवारका सदस्यले मार्ने उद्देश्यले समीक्षाको शरीरमा मट्टतिेल छर्केर आगो लगाइदिएको दावी सहित किटानी जाहेरी दिएकी थिइन् ।

शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको भन्दै सो निर्णय फिर्ता लिन माग गरे ।

संघीय सरकारको निर्णयले प्रदेश प्रमुख नियुक्तिको वैधानिकतामा प्रश्न चिन्ह खडा भएको भन्दै अबैधानिक प्रदेश प्रमुखबाट सपथ लिएको मन्त्री परिषद र प्रदेशसभा सदस्यको बैधानिकतामाथी पनि प्रश्न उठ्ने दाबी गरे ।

प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेशका मुख्य न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन् ।

Facebook Comments Box

फेसबुक