२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

प्रदेश नम्बर पाँचको स्थितिपत्र : सामाजिक विकासतर्फ राष्ट्रिय तथ्यांकभन्दा कमजोर अवस्था

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामू सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन्।

प्रदेशसभा बैठकमा प्रदेशको आर्थिक र सामाजिक विकासको स्थितिपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री शंकर पोखरेलले पाँच नम्बर प्रदेश पूर्ण साक्षर घोषणा भइनसकेको जानकारी गराए।

प्रदेश नम्बर ५ मा ६६ दशमलव ४ प्रतिशत मात्र साक्षरता रहेको छ। यस्तै, यो प्रदेशका नागरिकको औषत आयु ६७ वर्ष रहेको छ।

मानव विकास सूचकांक शून्य दशमलव ४१ मात्र छ । यो राष्ट्रिय सूचकांक भन्दा कम हो।

यसका साथै, सामाजिक विकासतर्फ प्रदेश नम्बर ५ राष्ट्रिय तथ्यांकभन्दा कमजोर अवस्थामा देखिएको छ। १२ जिल्ला रहेको प्रदेशमा ४४ लाख ५८ हजार जनसंख्या रहेको छ। जसमध्ये २५ दशमलव ८८ प्रतिशत गरिबी रहेको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकासमा कृषि, वन, जडिबुटी, ऐतिहासिक पुरातात्विक क्षेत्र, पर्यटन सवल पक्षको रूपमा रहेको बताए।

मुख्यमन्त्री पोखरेलले युवालाई कृषिमा आकर्षण गर्न सके अहिलेको स्थितिलाई अझै सुधार गर्न सकिने ठूलो सम्भावनाको रूपमा चित्रित गरेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पर्यटन क्षेत्रको विकासमा ठूलो फड्को मार्ने पोखरेलले बताए।

स्थितिपत्रले उर्जामा ५ नम्वर प्रदेशको अवस्था कमजोर देखाएको छ। अहिले प्रदेशमा २१ मेगावाट विद्युत उत्पादन रहेको छ। त्यसैगरी, प्रदेश नम्बर ५ मा ११ हजार किलोमिटर सडक रहेकोमा ६५ प्रतिशत सडक मात्र कालोपत्रे र ग्राबेल छ। ३५ प्रतिशत कच्ची र धूले सडक रहेको स्थितिपत्रले देखाएको छ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले विकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन सबैलाई अपिल गरेका छन्।

मुख्यमन्त्री पोखरेलले समग्र प्रदेशहरूको अवस्था हेर्दा पाँच नम्बर प्रदेश चौंथो स्थानमा रहे पनि सम्भावना पहिचान गरी श्रोतहरूको सही सदुपयोग गर्न सके उत्कृष्ठ प्रदेश बनाउन सकिने बताए।

प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र सार्वजनिक भएसँगै प्रदेश सभाको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ।

शुक्रबारको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेट संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।

-सेतोपाटी

Facebook Comments Box

फेसबुक