२०८१ भाद्र, २९
||NEWS LUMBINI |

प्रदेश ५ः दिगो विकास लक्ष्यको आधार तथ्यांक प्रतिवेदन तयार

भगवती पाण्डे- सन् २०३० भित्र गरिबीको अन्त्य, भोकमरीको अन्त्य, सबैका लागि स्वास्थ्य, शिक्षा, लै‌गिक समानता, स्वच्छ पानी र सरसफाई, आधुनिक उर्जा र न्यायमा पहुँचको सुनिश्चितता लगायत १७ वटा लक्ष्य सहित प्रदेश नं. ५ ले दिगो विकास लक्ष्यहरुको आधार तथ्यांक प्रतिवेदन तयार गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (यूएनडिपी) को सहयोगमा तयार पारी प्रदेश योजना आयोगले प्रकाशित गरेको उक्त तथ्यांक प्रतिवेदन शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले विमोचन गरेका हुन्।

तथ्यांक प्रतिवेदनमा दिगो विकास लक्ष्य प्राप्तिको लागि उच्च आर्थिक वृद्धि सहित समृद्ध अर्थतन्त्र, रोजगारी सहित जीवन निर्वाहको लागि पर्याप्त आम्दानी, आधारभूत भौतिक सुविधाको उपलब्धता, सुरक्षा, समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि लगायत दिगो विकासका १ सय ६९ वटा सहायक लक्ष्यहरु समावेश गरिएको छ।

तथ्यांक प्रतिवेदन विमोचन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको दिगो विकास लक्ष्यलाई सफलतापूर्वक कार्यान्वयन गर्न सके नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तीमा सफल हुने बताए। उनले प्रदेशले तयार गरेको आवधिक योजनालाई आधार बनाएर दिगो विकासको लक्ष्य बनाइएको बताए।

मुख्यमन्त्री पोखरेलले राजनीतिक, प्रशासनिक र वित्तीय संघीयता पूर्ण रुपमा कार्यान्वयनमा नजाँदासम्म दिगो विकास लक्ष्य पुरा गर्न नसकिने बताए। ‘राजनीतिक संघीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा आउन कठिनाइ भईरहेको छ, कर्मचारी समायोजनको पूर्ण तथ्याङ्क केन्द्रले प्रदेशलाई बुझाइ सकेको छैन, वित्तीय रुपमा पनि केन्द्रले प्रदेशलाई जिम्मेवारी प्रदान गरेको छैन, यस्तो अवस्थामा दिगो विकास लक्ष्य पुरा गर्न कठिनाई हुन्छ’ उनले भने।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार एक्लैले ठूलो महत्वाकांक्षा पुरा गर्न नसक्ने भन्दै सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताए। ‘निजी क्षेत्रको सार्थक सहभागिता र नेतृत्वदायी भूमिकाको अपेक्षा गरेका छौँ, निजी क्षेत्रलाई सक्षम र प्रभावकारी बनाउन प्रदेश सरकार सहयोग गर्न तयार छ’ साझेदार गरेर अघि बढौँ’ उनले भने।

मुख्यमन्त्री पोखरेलले संगठित निजी क्षेत्र केन्द्रिकृत भएको भन्दै यसलाई प्रादेशिक ढांचामा ल्याउन जरुरी रहेको बताए। यसै वर्ष प्रदेशले लगानी सम्मेलन गर्न गइरहेको भन्दै उनले मिलेर योजना बनाउन निजी क्षेत्रलाई आग्रह गरे।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भलेरी जुलिएन्डले दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयकरण, तथ्यांकको प्राप्ति र वित्तीय व्यवस्थापन महत्वपूर्ण हुने बताउँदै तीनै कुरामा ध्यान दिन सके दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिने बताईन् ।

यूएनडिपीका आवासिय प्रतिनिधी एसाइन मेडागन्गोडा लाबेले यूएनडिपी विश्वभर नै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउँदै आएको र प्रदेश ५ मा पनि सहयोग पुर्‍याउने बताइन्।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव कृष्ण नेपाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, सदस्य विष्णु प्रसाद गौतम, पुष्पा भुसाल लगायतले आफ्नो धारणा राखेका थिए।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक