२०८१ असोज, ३०
||NEWS LUMBINI |

प्रदेश ५ : प्रदेशसभाका समितिमा निर्विरोध नेतृत्व चयन

लामो समय सत्तापक्ष र प्रतिपक्ष दलहरूका बीचमा सहमति जुट्न नसक्दा गठन हुन नसकेको प्रदेश ५ प्रदेशसभाका विषयगत समितिको नेतृत्व अन्ततः निर्विरोध चयन भएको छ।

लामो समयसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६ वटा विषयगत समितिमध्ये दुई वटा समितिको नेतृत्व आफूले पाउनेपर्ने माग गर्दै समितिका सदस्यहरूको समेत नामावली पठाएको थिएन।

सभामुख पूर्णबहादुर घर्तीले असार २७ गतेको प्रदेशसभा बैठकमा समितिका सदस्यहरू मनोनयन गरी नेतृत्वको लागि साउन ९ र १० गते निर्वाचनको मिति  तोकेका थिए ।

सोही अनुरुप मंगलबार र बुधबार गरी समितिको नेतृत्वको लागि सांसदहरूले संसद सचिवालयमा मनोनयन दर्ता गरेका थिए। मंगलबार र बुधबार तीन/तीन वटा समितिको नेतृत्वको लागि मनोनयन दर्ता गरिएकोमा एक/एक जनाको मात्र मनोनयन परेपछि समितिको नेतृत्व निर्विरोध चयन भएको हो।

जसअनुसार सत्तापक्ष नेकपाको तर्फबाट ४ वटा,  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र फोरमका एक/एक जनाले समितिको नेतृत्वको जिम्मेवारी पाएका छन् ।

संसदमा गठन हुने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउने संविधानमै व्यवस्था भए अनुरुप सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका डिल्ली चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, कृषि, वन तथा वातावरण समितिको सभापतिमा संघीय समाजवादी फोरम नेपालका विजय बहादुर यादव निर्वाचित भएका छन्। यादव बाँके २(१) बाट निर्वाचित सांसद हुन्।

नेकपाको तर्फबाट अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा दधिराम न्यौपाने निर्वाचित भएका छन्। न्यौपाने पार्टी एकीकरण हुनु पहिले माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक रहेका थिए।

त्यस्तै, प्रदेश मामिला तथा कानून समितिमा दामा शर्मा, भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार, र सामाजिक विकास समितिमा दिर्घ नारायण पाण्डे निर्वाचित भएका छन्। शर्मा पार्टी एकीकरण पूर्व माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद हुन् भने स्वर्णकार र पाण्डे एमालेको तर्फबाट सांसद भएका हुन् ।

प्रदेशसभामा नेकपाका ६१, कांग्रेसका १९, फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका एक/एक जना सांसद रहेका छन् ।

यसैगरी, नेकपाको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा भूमिश्वर ढकाल चयन भएका छन्। ढकाल पार्टी एकीकरण पूर्व पनि एमालेको तर्फबाट प्रमुख सचेतक रहेका थिए ।

पार्टी एकीकरणपछि प्रमुख सचेतकमा ढकाल र दधिराम न्यौपानेले दाबी गर्दै आएकोमा न्यौपानेलाई  अर्थ उद्योग तथा पर्यटन समितिको सभापति बनाएर ढकाललाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक