२०८० असोज, ६
||NEWS LUMBINI |

प्रदेश ५ सरकारका सय दिने उपलब्धि सार्वजनिक

प्रदेश ५ को सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सिमित पूर्वाधार र बलियो जग बिना नै बनेको प्रदेश सरकारले अभुतपूर्व काम गरेको बताए ।
मुख्यमन्त्री पोखरेलले संविधानले दिएको अधिकार अनुसार धेरै काम गर्न नसकेपनि परिस्थितीको हिसाबमा धेरै काम भएको बताए । कानुन अभाव, संगठन र संरचना अभावकैबीच सरकारले गरेका ४७ कामको सूची सार्वजनिक गरेको छ ।

सूचीमा मन्त्रालय स्थापना, वेभसाईट निर्माण, ब्रोसियर तयारदेखि केही योजनाको डिपिआरसम्म छन् ।

चालू वर्षका नीति कार्यक्रम, बजेट पारित, प्रादेशिक योजना आयोग गठन, विभिन्न ऐन र नियमावली निर्माण, विधेयक तयार गरेका काम पनि उपलब्धिको सूचीमा उल्लेख छन् ।

एक दर्जन बढी योजनाको अध्ययन भैरहेको र केहीको काम अघि बढाउन कन्सल्टेन्ट छनोटको चरणमा पुगेको सरकारका प्रवक्ता वैद्यनाथ चौधरीले बताए ।

प्रदेश सरकारको अवस्था, कानुन, सिमा र विकासको योजनामा स्पष्ट भएकाले सरकारमा कुनै अलमल नरहेको प्रदेश सरकारले जनाएको छ ।

यो वर्ष प्रादेशिक योजना आयोगले योजना तयार गर्ने र अर्को वर्षबाट निर्माणका काम अघि बढ्ने मुख्यमन्त्रीले पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले प्रदेशको नाममा समस्या नभएपनि स्थायी राजधानी तोक्ने कुरा सहमति मै गर्नुपर्ने भएकाले दुवै एकैसाथ गर्ने गरी तयारी भैरहेको जानकारी दिए ।

Facebook Comments Box

फेसबुक