काठमाडौँ: क्रिश्चियन धर्म प्रचारमा लागेको एउटा एउटा कोरियन संस्थाको सम्मान थापेपछि प्रधानमन्त्री केपी शर्मा ओली चर्को आलोचनाको शिकार भएका छन् । क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट आइतवार करिब १ करोड ११ लाख रुपैयाँसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्ड थापेपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै पार्टी नेकपाका कार्यकर्तादेखि सर्वसाधरणसम्मले एउटा विवादित संस्थाको सम्मान थापेर प्रधानमन्त्रीले दुईतिहाइ बहुमतकै बेइज्जत गरेको पनि गुनासो गरेका छन् ।
आलोचना भइरहेको यही मेसोमा जोडिन पुगेका छन् विवेकशील-साझा पार्टीका संयोजक रवीन्द्र मिश्र । संयोजक मिश्रले त अन्यको भन्दा कडा शब्दसहितको धारणा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनले प्रधानमन्त्रीको पछिल्लो गतिविधि अति भएको बताउँदै आइतवार थापिएको अवार्डले सम्मान नभइ अपमान गरेको बताएका छन् । ‘यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री-हामी सबैको प्रधानमन्त्री देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो’, उनले भनेका छन्, ‘त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?’
पछिल्लो समय कु-शासन र खराब नेतृत्वका कारण आलोचित भइरहेकाले बेला यो पुरस्कार लिनु सरासर अनुचित भएको मिश्रको भनाइ छ । ‘देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यतिबिघ्न आलोचना भइरहेका बेला “नेतृत्व र सुशासन पुरस्कार” लिन अफ्टेरो लागेन?’, प्रधानमन्त्रीमाथि कसिलो निशाना लगाउँदै मिश्रले भनेका छन् ।
सरकार एकपछि अर्को भ्रष्टाचार र कु-शासनमा फसेको बताउँदै मिश्रले प्रधानमन्त्री भ्रममा रहेको बताए । ‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ?’, मिश्रले अगाडि सोधेका छन् ।
मिश्रले यस्तै गतिविधि गरिरहेमा प्रधानमन्त्रीको भ्रम चाँडै टुट्ने पनि चेतावनी दिएका छन् । ‘हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। सम्भवत: हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले भनेका छन्, ‘तर तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।’
-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो