प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता प्रस्ताव अघि सारेका छन् ।
औपचारिक घोषणा नगरिएपनि प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका बताएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा शनिबार आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।
मन्त्री पुनले भने –‘यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।’
एकताबारे थप तयारी गर्न माओवादीले १५ गतेलाई सचिवालयय बैठक बोलाएको छ। पार्टीको संगठन तथा अन्य प्राविधिक विषयमा निर्णय लिने गरी १५ गतेको सचिवालय बैठकको तयारी गरिएको छ।
यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए । एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए । प्रमुख पदहरुमा भागवण्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् ।
७ फागुनमा सातबुँदे सहमति भएको थियो, जसमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेनिनवाद’ राख्ने उल्लेख छ । त्यसपछि संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल पनि बन्यो ।
-नयाँपेज