२०८० असोज, ७
||NEWS LUMBINI |

प्रहरी हुँ भन्दै, ठग्दै

बर्दीमा खिचेको तस्बिर र नक्कली परिचयपत्र देखाउँदै ठग्ने गिरोह नै सक्रिय
– नक्कली सशस्त्र प्रहरी महिला पक्राउ
– ठगको फन्दामा प्रहरी नै
सशस्त्र प्रहरीको फौजी पोसाकमा उभिएका अनेक फोटो देखिन्छन्, मन्जु बुढाथोकीको फेसबुक पेजमा । एउटा फोटोमुनि एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्– सेवा नै धर्म हो, सलाम छ । महानगरीय प्रहरी वृत्त, बालाजुले आइतबार तारकेश्वर नगरपालिका १० बाट यिनै बुढाथोकीलाई पक्राउ गर्‍यो । पक्राउपछि पो प्रहरीले थाहा पायो, उनको असली नाम कोपिला बोहोरा रहेछ ।
फाेटाे: प्रहरी हुँ भन्दै ठगी गर्ने अम्बिका बाेहाेरा ।
सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ। वास्तवमा उनको परिचय पनि झूटो रहेछ। प्रहरीले उनको कोठामा सशस्त्र प्रहरीको पोसाकमा सजिएको फ्लेक्स प्रिन्ट पनि देखेको थियो। आफू सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक रहेको बताउँदै सशस्त्रमा जागिर लगाइदिने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्।

कोपिलाले आफू भर्खरै रसुवाबाट सरुवा भएर सशस्त्र प्रहरीको प्रधान कार्यालय आएको भन्दै ४ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेकी थिइन्। सशस्त्र प्रहरीमा जागिर खान प्रतिस्पर्धामा उत्रिएर फेल भएकाहरूसित नाम निकालिदिने भन्दै उनी रकम असुल्थिन् र एकाएक बेपत्ता हुन्थिन्। महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी विश्वराज खडकाका अनुसार कोपिलाले यसअघि पनि यस्तै प्रकृतीको ठगी घटनामा पक्राउ परेर सजाय भोगेकी थिइन्।

प्रहरीका अनुसार २०७३ फागुन ११ मा भीमप्रसाद राईसहितका पीडितले ५ लाख ५ हजार रुपैयाँ ठगेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी थिइन्। यही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना बुझाएपछि उनी थुनामुक्त भएकी थिइन्। कोही सक्कली सशस्त्र प्रहरीकै मिलेमतोमा उनले ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

बालाजु वृत्तले कोपिलालाई पक्राउ गरेकै दिन महानगरीय अपराध महाशाखाले मैतीदेवी बस्ने कुमार मण्डललाई पक्राउ गर्‍यो। कोपिलाको जस्तै झूटको सहारा लिएर ठगी गर्न पल्केका कुमारको धन्दा उस्तै रोचक थियो। कोपिलाले सर्वसाधारणलाई ठगेकी थिइन्, तर कुमारले त बहालवाला प्रहरीलाई नै ठग्न भ्याए। प्रहरी प्रधान कार्यालयमा काम गर्ने डीएसपीसँग कुरा मिलाएर ‘सेटिङ’ मा संयुक्त राष्ट्रसंघको मिसन टोलीमा पठाइदिने आश्वासन दिँदै उनले बहालवाला दुई प्रहरीसँग पटक–पटक गरेर ४ लाख रुपैयाँ ठगेका थिए। प्रहरीका अनुसार कुमारले प्रकाशकुमार नामका व्यक्तिसँग मिलेर ठगीे धन्दा चलाएका थिए। आफूलाई डीएसपी नारायणकुमार श्रेष्ठ बताउने प्रकाशको पनि प्रहरीले खोजी गरिरहेको छ। महाशाखाले कुमारलाई ठगीमा कारबाही चलाउने भएको छ।

नक्कली प्रहरी बनेर ठग्ने र सक्कली प्रहरीलाई नै ठगी गर्ने घटना यो पहिलो भने होइन। गत ५ वैशाखमा कञ्चनपुरका केशव सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गर्‍यो। उनले आफूलाई परिसरको सिभिल पुलिस भएको नक्कली परिचयपत्र देखाउँदै ठगी गरेका थिए। रकम र मोबाइल नदिए विभिन्न मुद्दा चलाएर फसाइदिने भन्दै उनले डोटी, गुगडा– ३ का शुभम बोगटीलाई धम्काउँदै आएका थिए। पैसा लिन कोटेश्वर पुगेका बेला प्रहरीले केशवलाई पक्राउ गरेको थियो। फागुन तेस्रो साता पनि महानगरीय अपराध महाशाखाले एआईजीको ड्राइभर बताउने र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने आश्वासन दिँदै ठगीधन्दा चलाएका गुल्मीका मिलन पाण्डेलाई पक्राउ गरेको थियो। अपराध महाशाखाको प्रहरी बताउँदै ठगीधन्दा चलाउने सिन्धुपाल्चोकका दीपेन्द्र केसीलाई पनि फागुनकै तेस्रो साता अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

प्रहरीको बर्दीसहितको फोटो देखाउँदै ठगी गर्ने दीपेन्द्रले आफू प्रहरीको केरकार शाखामा काम गर्ने र सजिलै ग्यास उपलब्ध गराइदिने भन्दै सल्लाघारीकी एक महिलासँग ५० हजार ठगेर बेपत्ता भएका थिए।
-जनकराज सापकोटा/कान्तिपुर

Facebook Comments Box

फेसबुक