प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्। सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।
डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।
सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।
होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।
अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा बृद्धि भएको देखिन्छ। पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ। जिल्लाको अबस्था हेर्दा गएको १५ बर्षदेखि लिएर ६० बर्ष माथीका समेतले आत्म हत्या गरेका छन्। जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।