काठमाडौं : तीन टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले नेपालमा फोरजी सेवाको विस्तार गरिसकेका छन्। यो क्रममा तीनै टेलिफोन सेवाप्रदायक कम्पनीको फोरजी सेवाको सुरुवात सहर केन्द्रित भयो। गाउँबाट टेलिफोन सेवा सुरुवात गरेको स्मार्ट टेलिकमको पनि फोरजी सेवाको सुरुवात काठमाडौं, पोखरालगायत ठूला सहरबाट भएको छ।
सहरोन्मुख देखिएको फोरजी सेवाको विस्तारले गाउँलाई अझै छुन सकेको छैन। विस्तारका क्रममा रहेको एनसेलले अहिलेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दमौली, पोखरा, विराटनगर, दमक, भरतपुर, बिर्तामोड, दमक, धरान, भरतपुर, हेटौंडा, वीरगन्ज, भैरहवा, बुटवल, नेपालगन्ज, कोहलपुर र वीरेन्द्रनगर गरी २१ सहरमा फोरजी सेवा पुर्याइसकेको छ। नेपाल टेलिकम र स्मार्टसेलले काठमाडौं, ललितपुर, भक्तपुर र पोखराभन्दा अन्य सहरमा विस्तार गर्न सकेका छैनन्।
विस्तारको क्रममा एनसेल अघि भए तापनि फोरजी सेवामा भने अहिले स्मार्टसेल अब्बल छ। स्मार्टसेलले १० मेगाहर्जबाट फोरजी सेवाको विस्तार गरेको छ। यो स्मार्टसेलका लागि सबैभन्दा राम्रो पक्ष पनि भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ। नेपाल टेलिकम र एनसेलले पाँच मेगाहर्जबाट फोरजी सेवा दिइरहेका छन्। यसले गर्दा यी दुई कम्पनीको फोरजी सेवाको गति स्मार्टसेलको तुलनामा कम छ।
स्मार्टसेलले ७२ एमबीपीएस डाउनलोड स्पिड अफर गरिरहँदा नेपाल टेलिकमले ३२.४ एबीपीएस र एनसेलले ३७ एमबीपीएस डाउनलोड स्पिड दिएका छन्। कम्पनीले जतिसुकै स्पिड अफर गरे तापनि ग्राहकले त्योअनुसारको स्पिडमा इन्टरनेट प्रयोग भने गर्न भने पाएका छैनन्। मंगलबार बिहान ११ बजे गरिएको फोरजी स्पिड टेस्टलाई आधार मान्ने हो भने सेवाप्रदायक कम्पनीमध्य एनसेलको फोरजी नेटोर्कमा सबैभन्दा कम स्पिड छ। उक्त स्पिड टेस्ट गर्ने क्रममा विभिन्न एपको प्रयोग गरिएको थियो। त्यसमध्ये स्पिड टेस्टरले देखाएअनुसार स्मार्टसेलको डाउनलोड स्पिड २४.४८ एमबीपीएस र अपलोड स्पिड ४.६६ एमबीपीएस छ।
त्यस्तै नेपाल टेलिकमको डाउनलोड स्पिड ७.६९ एमबीपीएस र अपलोड स्पिड १.५३ छ। एनसेलको डाउनलोड स्पिड ४.४४ र अपलोड स्पिड २.६० एबीपीएस छ। स्पिडमा कम्पनीले अफर गरेको डाउनलोड स्पिड, प्रयोगकर्ता संख्या र पिक आवरले पनि फरक पार्ने भएकाले स्पिडमा तलमाथि हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको भनाइ छ। अहिले स्मार्टसेलका ग्राहक कम रहेको र त्यसले गर्दा पनि उसको फोरजीमा स्पिड उच्च भएको उनले बताए।
प्राधिकरणमा कम्पनीहरूले बुझाएको डाटालाई हेर्ने हो भने नेपाल टेलिकमको फोरजी सेवा सबैभन्दा सस्तो देखिन्छ। नेपाल टेलिकमको एक एमबीबराबर एक रुपैयाँका दरले ग्राहकलाई इन्टरनेट प्रदान गर्ने उल्लेख गरेको छ। एनसेलले भने एक एमबीबराबर तीन रुपैयाँ र स्मार्टसेलले २ रुपैयाँ प्रतिएमबी डाटाको शुल्क तोकेर एनटीएमा बुझाएको छ। कम्पनीहरूले बुझाएको यो दर उनीहरूले प्रदान गर्दै आएको थ्रीजी र टूजीमा समेत लागू भएको एनटीएका प्रवक्ता अर्यालको भनाइ छ। कम्पनीले बुझाएको आधारमा हेर्ने हो भने नेपाल टेलिकमको डाटा केही सस्तो छ।
तर कम्पनीबीच भइरहेको ‘प्राइस वार’ले गर्दा प्रयोगकर्तालाई भने फाइदा पुगेको छ। किनभने टेलिकम कम्पनीले ग्राहकलाई आकर्षित गर्ने नाममा विभिन्न डाटा प्याकेज ल्याएका छन्। यसले गर्दा ग्राहकले सस्तो दरमा फोरजी डाटा प्रयोग गर्न पाएका छन्। कम्पनीले ग्राहकलाई आकर्षित गर्न ल्याएको डाटा प्याकेजलाई हेर्न हो भने अहिले नेपाल टेलिकमका ग्राहकले एक एमबी डाटाको ७ पैसा, एनसेलका ग्राहकले ८ पैसा र स्मार्टसेलका ग्राहकले ९ पैसासम्म तिर्दा हुने भइसकेको छ।
नेपाल टेलिकमले अहिले ५० रुपैयाँमा दुई सय एमबी सात दिनका लागि, सय रुपैयाँमा पाँच सय एमबी १४ दिनसम्म, दुई सयमा १२ सय एमबी २८ दिनका लागि, तीन सयमा दुई हजार एमबी २८ दिनका लागि र पाँच सयमा ३६ सय एमबी २८ दिनका लागि उपलब्ध गराउँदै आएको छ। त्यस्तै एनसेलले १० रुपैयाँमा ३० एमबी एक दिनको लागि, ३० रुपैयाँमा सय एमबी तीन दिनका लागि, ५० रुपैयाँमा दुई सय एमबी तीन दिनका लागि, ७० रुपैयाँमा दुई सय सय ५० एमबी सात दिनका लागि, सय रुपैयाँमा पाँच सय एमबी ७ दिनको लागि, ३ सयमा १२ सय ५० एमबी ३० दिनको लागि, पाँच सयमा २५ सय एमबी ३० दिनको लागि र १५ सय मा १० हजार एमबी ३० दिनको फोरजी डाटा प्याक उपलब्ध गराउँदै आएको छ।
स्मार्टसेलले १ देखि दुई जीबी डाटा दुई सय ३५ रूपैयाँमा ३० दिनका लागि, सात सय ५० एमबीदेखि १.५ जीबी एक सय ४५ रुपैयाँ १५ दिनका लागि, ५५ एमबीदेखि १ जीबी ८५ रुपैयाँमा सात दिनका लागि र ७५ देखि सय एमबीसम्म ५० एमबी १५ रुपैयाँमा एक दिनका लागि डाटा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले उपलब्ध गराएको डाटा प्याकलाई अध्ययन गर्दा नेपाल टेलिकमले ग्राहकलाई एक एमबी डाटा ७ पैसा, एनसेलले ८ पैसा र स्मार्टसेलले ९ पैसासम्ममा उपलब्ध गराएको छ।