सिजनको सुरुआतमा गोलका लागि निकै संघर्ष गरेका क्रिस्टियानो रोनाल्डो पछिल्लो समय लयमा देखिएका छन्। आइतबार रियल म्याड्रिडले गिरोनालाई ६–३ गोलले पराजित गर्दा एक्लैले चार गोल गरेका रोनाल्डो स्पेनी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा पुगेका छन्। स्पेनी पत्रिकाले उनको फर्किएको लयबारे नयाँ तथ्य सार्वजनिक गरेको छ, जसले रोनाल्डोले आफ्नै सहकर्मीसँगको बाजी जित्नका लागि गोल गरिरहेको पुष्टि गरेको छ।
गत नोभेम्बर ५ मा रियलले सात लिग खेल खेल्दा रोनाल्डोले मात्र एक गोल गरेका थिए, जति बेला बार्सिलोनाका लियोनल मेसी उनीभन्दा ११ गोलले अघि रहेका थिए। मार्काले दाबी गरेअनुसार रोनाल्डोले त्यति बेलै सिजनको अन्त्यसम्म मेसीलाई पछि पारेर यो वर्षको गोल्डेन बुट आफूले जित्ने दाबी गरेका थिए। उनले यस विषयमा आफ्नै क्लबका सहर्कीहरूसँग बाजीसमेत राखेका थिए।
त्यही दाबी र बाजीअनुसार रोनाल्डो स्पेनी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडि बढ्दै छन्। उनी आइतबारको खेलसम्म सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीभन्दा मात्र तीन गोलले पछि परेका छन् भने बार्सिलोनाकै लुइस स्वारेजभन्दा एक गोलले अघि छन्। रियलका लागि सबै खाले प्रतियोगिताको पछिल्लो आठ खेलमा लगातार गोल गरेका उनले ला लिगामै पनि पछिल्लो नौ खेलमा १८ गोल पुर्याएका छन्।
रोनाल्डोको बाजी पूरा होला/नहोला ? त्यसका लागि लिगका बाँकी रहेका अन्तिम नौ/नौ चरणका खेलसम्म कुर्नुपर्ने हुन्छ। बाँकी रहेका नौ/नौ खेलमध्ये रियल र बार्सिलोनाले सिजनको अन्तिम ‘एल क्लासिको’मा पनि प्रतिस्पर्धा गर्नेछन्। यही खेलको नतिजापछि रोनाल्डोले बाजी जित्ने वा मेसीले गोल्डेन बुट जित्नेबारे भने स्पष्ट हुनेछ। गोल संख्यामा पछि परे पनि रोनाल्डोले गोलको स्ट्राइक रेटमा भने मेसीलाई पछि पारिसकेका छन्। ला लिगामा मेसीले भन्दा पाँच खेल कम खेलेका रोनाल्डोले एभरेजमा प्रत्येक ९२ मिनेटमा एक गोल गरेका छन् भने मेसीले गोल गर्न ९८ मिनेट लगाएका छन्।
रोनाल्डो सर्वोत्कृष्ट फुटबलर
रोनाल्डो सन् २०१७ को सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन्। पोर्चुगिज फुटबल संघले आयोजना गरेको अवार्ड समारोहमा रोनाल्डो वर्षको सर्वाेत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भएका हुन्। रोनाल्डो अन्तिम तीनमा परेकामध्ये म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नान्डो सिल्भा र स्पोर्टिङ लिस्बोनका गोलरक्षक रुई प्याट्रिसियोलाई पछि पार्दै वर्षको उत्कृष्ट फुटबलर चुनिएका हुन्।
सन् २०१७ मा रियललाई घरेलु स्पेनी लिगसहित युरोपेली च्याम्पियन्स लिगको लगातार दोस्रो उपाधि दिलाएको आधारमा वर्षको सर्वाेत्कृष्ट खेलाडीबाट सम्मानित गरिएको हो।
-अन्नपूर्णपोष्टबाट