म्यूजिक भिडियोमा सक्रिय मोडल पूणिर्मा श्रेष्ठले दुई सयभन्दा बढि भिडियोमा अभिनय गरेकी छिन् । नेपाल प्रहरीको जागिरेसमेत रहेकी पूणिर्मा आफूलाई मोबाइलको खासै सोख नभएको बताउँछिन् । तर, अहिलेसम्म १० वटा सेट फेरिसकेकी छिन् ।
१० वर्ष अगाडिदेखि मोबाइल बोक्न थालेकी पूणिर्माले अहिले सामसुङको जे सेभेन मोबाइल बोकिरहेकी छिन् । उनीसँग गरिएको मोबाइल संवादः
पहिलोचोटि किनेको मोबाइल कुन हो ?
नोकियाको सानो सेट किनेको थिँए । सायद १० वर्ष अगाडी होला । कतिमा भन्ने बिर्से ।
अहिलेसम्म कतिवटा मोबाइल चेन्ज गर्नुभयो ?
म मोबाइलको सौखिन हैन । तैपनि १० वटा जति फेरेँ होला । ब्यागमा बोक्दा प्राय मेरो मोबाइल थिचिएर स्त्रिmन जान्छ । अनि अर्को किन्छु ।
मोबाइल हराएको छ कि छैन ?
पहिलोपटक किनेको मोबाइल चाहीँ हरायो । कार्यक्रमका लागि पाल्पा गएको वेला हराएको थियो । हराएपछि खोजी गरिनँ ।
मोबाइल उपहार कत्तिको पाउनुहुन्छ ?
उपहार त आउँछ नी । अहिले बोकेको पनि उपहार नै हो ।
दैनिक कति मिस कल आउँछन् ? कल ब्याक गर्ने चलन छ कि छैन ?
खासै त्यति धेरै आउदैन । चिनेको नम्बर छ भने कल ब्याक गर्छु । नचिनेकालाई गर्दिन ।
दैनिक कति एसएमएस आउँछन् ?
एसएमएस त खासै आउदैन । अचेल त म्यासेजहरु फेसबुकमा बढी आउछ ।
मोबाइलमा सबैभन्दा बेसी कोसँग कुरा हुन्छ ?
घरकै मान्छेसँग । यो नै भन्ने छैन । घरका सबैसँग कुरा हुन्छ ।
मोबाइलमा मासिक कति खर्च हुन्छ ?
खासै हुँदैन । त्यही हो, एक हजारजति ।
सेल्फी हान्न कत्तिको मन पर्छ ?
कहिलेकाहीँ हान्छु । साथीहरुसँग कतै घुम्न गएको बेला । विदेश गएको बेला पनि हल्का सेल्फी हान्छु ।
मोबाइल नउठाएको कारण कुनै अवसरबाट वञ्चित हुनुभएको छ ?
छ एकपटक । म टे्रनिङमा थिएँ । मेरो मोबाइल ब्यागमा थियो । भिडियो निर्देशक प्रशन्न पौडेलले भिडियोको लागि फोन गर्नु भएको रहेछ । मैले बेलुका कल ब्याक गर्दा अरु कोही फिक्स भैसकेछ । मलाई उहाँको भिडियोमा काम गर्ने रहर थियो ।
बाटो हिँड्दा मोबाइल भेट्टाउनु भयो भने के गर्नुहुन्छ ?
अहिलेसम्म गतिलो भेटेको छैन । पुराना मोडलका एक-दुई पटक भेटेको छु तर, टिपिनँ ।
मोबाइलमा फेसबुक कति हेर्नुहुन्छ ?
म फेसबुक चलाउदिन । प्रायः युट्युव हेर्छु ।
अब कुन मोबाइल किन्न मन छ ?
पारखी नै त हैन । आइफोन किन्ने रहर छ ।
राति कतिबेरसम्म मोबाइल चलाउनुहुन्छ ?
बेलुका नौ बजेपछि इमर्जेन्सी बाहेकका फोन उठाउदिन । बेलुका पाँचदेखी सात बजेसम्म अलि धेरै चलाउँछु ।
कस्तो बेलामा मोबाइल अफ हुन्छ ?
म कहिल्यै मोबाइल अफ गर्दिन ।
शौच गर्न बसेको बेला फोन आयो भने के गर्नुहुन्छ ?
ट्वाइलेटमा भएको वेला फोन आयो भने उठाउदिन ।
मोबाइल नभइदिए जीवन कस्तो हुन्थ्यो होला ?
पहिला पनि त मोबाइल थिएन, जीवन चलेकै थियो । अहिले चाहीँ सबैको हात हातमा भएकोले मोबाइल भएन भने केही दिन अप्ठयारो होला । तर क्रमश जीवनले फेरी नयाँ लय समाउदै जान्थ्यो होला ।
-अनलाइन खबर