नन्दराम पौडेल, बाणगङ्गा नपा-८ का तीन जना बालबालिका आठ वर्षीय अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी शिवानी नेपालीलाई इन्सेक जिल्ला प्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको पहलमा लुम्बिनी समाज कुवेतले पठाएको ५१ हजार रुपियाँ नगदसहित खाद्यान्न, लत्ताकपडा फागुन १२ गते बालबालिकाको घरमै पुगेर सहयोग गरिएको छ ।
बाबुआमाको मृत्युपछि टुहुरा बनेका बालबालिकालाई प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसरमा १० हजार रुपियाँ दिएको खबर विभिन्न पत्रपत्रिकामा आएलगत्तै मानव अधिकार निगरानी समूह र इन्सेक जिल्ला प्रतिनिधिको पहलमा लुम्बिनी समाज कुवेतले कुवेतमा बस्ने नेपालीहरूले उक्त रकम सङ्कलन गरी पठाएका थिए ।
सङ्कलित रकम र अन्य सामग्री बालबालिकाकै घरमा एक कार्यक्रमको आयोजना गरी निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि, मानव अधिकार निगरानी समूह, सञ्चारकर्मीलगायतको उपस्थितिमा वितरण गरिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले निगरानी समूह तथा इन्सेक प्रतिनिधिको पहलमा भएको यस कार्यले बालबालिकाको उज्वल भविष्यको सुरूवात भएको बताए ।
लुम्बिनी समाज नेपालका प्रतिनिधि विष्णु पन्थि बन्जाडेले सहयोगको आग्रह गर्दै बाबुआमा गुमाएका बालबालिकाको समचार तस्वीर पठाएका कारण आर्थिक र अन्य सामग्री सङ्कलनमा समाजले सक्रियता देखाएको बताइन ।