२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

बुटवल-पाल्पामा पर्ने सिद्धबाबा सडकको विकल्प तयार

झुम्सादेखि चरङ्गेसम्म ट्रयाक खोलियो

भगबती पाण्डेय, बुटवल-वर्षेनी दर्जनभन्दा धेरै यात्रुको ज्यान लिईरहेको बुटवल-तानसेन सडकखण्डको विकल्पको रूपमा झुम्सा चरङ्गे सडकको ट्रयाक खोलिएको छ।

हिउँद होस् या वर्षा जुनसुकै मौसममा पनि पहिरोको जोखिम बढेपछि सिद्धबाबा खण्डको विकल्पको रूपमा जुनसुकै रुपबाट भए पनि विकल्प अघि बढाउन सरकारलाई दवाव बढेको थियो।

हरेक वर्ष सरकारले सिद्धबाबा सडकखण्डलाई प्राथमिकतामा पारेको भन्दै बजेटमा उल्लेख गरिए पनि त्यो अध्ययन र अनुगमनमै सिमित बनेको थियो। यस वर्ष पनि संघीय सरकारले सिद्धबाबा सडकको विकल्प के हुन सक्छ भनी अध्ययनको लागि बजेटमा उल्लेख गरे पनि प्रदेश पाँच सरकारले भने झुम्सा चरङ्गे ट्रयाकलाई अगाडि बढाएको हो।

उपभोक्ताको पहलमा यसअघि नै झुम्सादेखि चौकीभन्ज्याङ र चरङगेदेखि मुढाबाससम्म  ट्रयाक सरकारले झुम्सा–चौकीभञ्ज्याङ–मुढावास–चरङगे–धागो कारखाना खण्डलाई वैकल्पिक मार्गका रुपमा प्रस्ताव गर्दै काम अगाडि बढाएको हो।

सरकारले यो ट्रयाकको लागि बजेटमा पनि १० करोड रूपैया विनियोजन गरिसकेको छ।

पाल्पाका उपभोक्ताको पहलमा ट्रयाक खोल्न शुरु गरिएको बेला प्रदेश सरकारले आगामी वर्षको लागि ट्रयाक सञ्चालनको लागि भन्दै बजेट विनियोजन गरेपछि पाल्पाबासीहरु उत्साहित बनेका छन् ।

ट्रयाक खुलेपछि शुक्रबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, भौतिक योजना तथा निर्माणमन्त्री बैजनाथ चौधरी लगायत रुपन्देही र पाल्पाका सरोकारवाला निकायको प्रतिनिधिको टोलीले झुम्सादेखि चरङगेसम्मको सडक निरीक्षण गरेको छ।

सडक निरीक्षण गर्दै मुख्यमन्त्री पोखरेलले सामान्य पानी पर्दा पनि पटकपटक अवरूद्ध हुँदै आएको सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा प्रदेश सरकारले यो सडकलाई अगाडि सारेर बजेट विनियोजन गरेको बताए।

उनले यात्रुलाई मात्र नभई पाल्पा जिल्लामा रहेका खानी उत्खनन्बाट निकालिएका कच्चा पदार्थ बाहिर लैजान पनि यो सडक जरुरी रहेको बताए। मुख्यमन्त्री पोखरेलले सरकारले भौतिक संरचना मात्र तयार गरिदिने भएको उल्लेख गर्दै त्यसलाई प्रयोगमा ल्याउने र स्थापित गर्ने काम सर्वसाधारणको भएको बताए।

‘आवश्यकता हेरेर सरकारले लगानी गर्ने हो, पूर्वाधार तयार गर्ने हो त्यसलाई जनताले प्रयोग गरिदिए विकल्प विकल्पको रुपमा स्थापित हुन्छ अन्यथा लगानी गरेर पनि उपलब्धी मुलक बन्न सक्दैन,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले सिद्धबाबा सडकको विकल्पको रुपमा भविश्यमा सुरूङमार्गको विकल्प अगाडि सारिए पनि त्यसको एउटा प्वाईन्ट भन्ज्याङचौकी उपयुक्त स्थान रहने बताए।

प्रदेश सरकारका भौतिक योजना तथा निर्माणमन्त्री बैजनाथ चौधरीले डबल ट्रक हिड्ने गरी यसै वर्ष बाटो सञ्चालन हुने दावी गरे। ‘यो प्रदेश सरकारको ईज्जतको सवाल छ, प्रदेश सरकारको कार्यक्षमता हेर्ने ट्रयालको रुपमा पनि हामीले यो सडकलाई लिएका छौं,’ उनले भने, ‘प्रदेश सरकारले ईच्छाशक्ति देखाएर यदी काम गर्न चाह्यो भने एउटा ठूलै योजना एकैवर्षमा सम्पन्न गर्न सक्ने रहेछ भन्ने देखाउन पनि यो सडक संचालन गर्नैपर्छ।’

मन्त्री चौधरीले प्रदेश सरकारले १० करोड मात्रै छुट्याए पनि रकम आवश्यक परे अन्यत्रबाट रकमान्तरण गरेर भएपनि यो सडक संचालनमा ल्याउने बताए। यो सडकलाई खाली डाईभर्सनको लागि मात्र होकी भनेर आशंका नगर्न आग्रह गर्दै मन्त्री चौधरीले लोडेड ट्रक, टिप्पर हिड्ने दिर्घकालिन सडकको रुपमा यसलाई प्रयोग गर्ने स्पष्ट पारे।

‘पाल्पामा धेरै खानी रहेकोले पनि दैनिक सयौं टिप्पर र मालवाहक ट्रक सिद्धबाबा हुँदै गुड्दा बुटवल बजार अस्तव्यस्त बन्दै गएको छ त्यसलाई व्यवस्थित गर्न यो बाटोलाई भविश्यमा मालबाहक गाडी हिड्ने बाटोको रुपमा प्रयोग गरिनेछ।’

यो ट्रयाक खुलेसँगै अत्यन्त जोखिम रहेको बुटवल चिडियाखोलादेखि दोभानसम्मको सडकयात्रामा हुने जोखिम हट्ने देखिएको छ।

पहिरोको जोखिम मोलेर सिद्धबाबाहुँदै झुम्सा पुग्न ९ किलोमिटरको दूरी चरङगेहुँदै झुम्सा पुग्न २० किलोमिटर यात्रा गर्नुपर्नेछ।

दूरीका हिसाबले दोब्बर बढी यात्रा गर्नुपर्ने भए पनि पहिरोको जोखिम भने हट्ने भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरोको सबैभन्दा जोखिम रहेको यो सडकको दिर्घकालिन विकल्पको रुपमा सुरूङमार्ग, तिनाउ नदिमाथी पुल निर्माण वा सिद्धबाबा पहाडलाई बेन्चकटको रुपमा काट्ने जुनसुकै विकल्प अगाडि बढाईए पनि सडक यात्रालाई सुरक्षित गर्ने तत्कालिन विकल्प भने चरङगे झुम्सा ट्रयाक नै उपयुक्त भएको जिल्ला समन्वय समिति पाल्पाका संयोजक दयाराज बस्याल बताउँछन्।

२०६८ सालदेखि सिद्धबाबा खण्डमा निरन्तर पहिरोको जोखिम बढ्दै गएपछि यो सडकको विकल्प खोज्न सबै क्षेत्रबाट दवाव परेको हो।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो १० वर्ष यता बुटवल तानसेन सडक खण्डमा १८ बस, ५ जिप, २२ मोटरसाईकल, ७ ट्रक र ९ कारमा क्षति पुगेको छ ।

१० वर्षको अवधीमा पहिरोमा परी ७५ जना भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यो वर्ष पनि जेठ महिना लागेसँगै लगातार पहिरो र ढुंगा खस्न थालेको छ ।

सरकारले रकम विनियोजन गरेको वैकल्पिक सडक बुटवलको धागो कारखानादेखि देवदह नगरपालिका १० मुढावाससम्म साढे ७ किलोमिटर क्षेत्रमा यसअघि नै सवारी साधन सञ्चालन हुँदै आएका थिए ।

पछिल्लो समय मुढावासदेखि पाल्पाको तिनाउ गाउँपालिकाको चौकीभञ्ज्याङ सम्मको ५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको तिनाउ गाउंपालिकाका ईञ्जिनियर अधिस ढकालले बताए ।

ठूला सवारी साधन र मालबाहक साधन सञ्चालन गर्न पहिले नै ट्रयाक खोलिएको झुम्सादेखि चौकिभन्ज्याङ सम्मको साढे सात किलोमिटर सडकलाई मर्मत सम्भारसँगै केही फराकिलो बनाउनुपर्ने छ । चौकिभन्ज्याङदेखि मुढाबाससम्म भने नाली निर्माण, ग्याबिन वाल, रोहिणी खोलामा पुल निर्माण र ग्राबेल गर्नुपर्ने छ  ।

तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले यो ट्रयाक खोल्न यस वर्ष तिनाउ गाउँपालिकाबाट ३० लाख रुपैयाँ गरी समग्र पाल्पा जिल्लाबाट १ करोड रकम लगानी गरिएको बताए।

पाल्पाका सबै स्थानीय तह र रुपन्देहीको देवदह नगरपालिकाले ट्रयाक सञ्चालनको लागि ५ ला देखि ३० लाख सम्म रकम उपलब्ध गराएको उनले जानकारी दिए ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक