२०८० असोज, १७
||NEWS LUMBINI |

बैंक मात्र हैन, स्कूल पनि हुन थाले ‘मर्ज’

बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिने/मर्ज हुने खबर नौलो होइन । तर, अब सरकारी विद्यालयहरु पनि मर्ज हुन थालेका छन् ।

उत्कृष्ट नतिजाका कारण ख्याति कमाएको बुटवलको कालिका मावि र अति न्यून विद्यार्थी संख्या र औसत शैक्षिक गुणस्तर भएको बुटवलकै रामनगरको मानवज्ञान मावि अब एउटै विद्यालय बनेका छन् ।

एउटै वडाका दुई विद्यालय मर्ज भएर कालिका मानवज्ञान मावि भएका हुन् । अब कालिका मानवज्ञान मावि सामुदायिक विद्यालयतर्फ नेपालकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय भएको छ ।

कालिका मानवज्ञानमा अब ४ हजार ६ सय विद्यार्थी पुगेका छन् । मर्ज हुनुअघि कालिकामा मात्रै ४ हजार ३ सय ६४ विद्यार्थी थिए ।

दुई विद्यालयले एक आपसमा समायोजन हुन दुबै विद्यालयले बुटवल उपमहानगरपालिकामा दुई महिना अघि निवेदन दिएका थिए । बुटवल उपमहानगरको नगर कार्यपालिकाले ‘मर्ज’का लागि अनुमति दियो ।

कालिका मानवज्ञान मावि मुलुककै नमूना विद्यालय बनेको प्राचार्य घनश्याम पाठकले बताए । ‘अबको ५ वर्षभित्र विद्यार्थी संख्या ८ हजार पाँच सय पुर्‍याउने लक्ष्य छ’ पाठकले भने, ‘आधुनिक मल्टिमिडिया, स्वीमिङ पूल, स्टेडियम, अण्डरग्राउण्ड पार्किङ, म्युजियम, ई लाइब्रेरी, छात्रावास सहित अन्तराष्ट्रिय स्तरको सिकाई केन्द्र बनाउने भिजन छ ।’

दुई विद्यालय मर्जपछि कालिका मानव ज्ञान माविको स्वामित्वमा ५ बिघा ४ कठ्ठा जग्गा पुगेको छ । साथै विद्यालयले शिक्षा विभागमा पेश गरेको ८८ करोडको गुरुयोजना स्वीकृत भएको प्राचार्य पाठकले बताए ।

मर्जपछि कालिकानगरको भवनलाई सेक्टर १ र रामनगरको भवनलाई सेक्टर २ नामाकरण गरिएको छ । साविक मानवज्ञानमा कक्षा नर्सरीदेखि १२ सम्म पूर्णतः अंग्रेजी माध्यममा पढाई हुने उनले जानकारी दिए ।

हाल २५० जना मात्रै विद्यार्थी रहेको मानवज्ञानमा यही शैक्षिक सत्रमा पाँच सय विद्यार्थी थप्ने लक्ष्य छ ।

अहिले कालिका माविमा विद्यार्थीको अत्यधीक चापले करिब २ हजार विद्यार्थीहरु भर्ना हुन नपाएर फर्कनुपरेको अवस्था छ । अब यो शैक्षिक सत्रदेखि भर्ना हुन नपाएर विद्यार्थी र्फकनुपर्ने वाध्यताको अन्त्य हुने पाठकले बताए ।

मानवज्ञान मावि रहेको ठाउँमा तीन बिघा क्षेत्रफल विद्यालयको स्वामित्वमा छ । जग्गा प्रशस्त भएकाले क्रमशः भौतिक संरचना बनाउँदै सेक्टर २ मा मात्रै विद्यार्थी संख्या ४ हजार पुर्‍याउन सकिने प्रधानाध्यापक पाठक बताउँछन् ।

तीन वर्षदेखि लगातार देशभरकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत हुँदै आएको कालिका मावि २८ माघमा सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भएको थियो ।
-अनलाइन खबर

Facebook Comments Box

फेसबुक