२०८० असोज, ७
||NEWS LUMBINI |

भद्रगोलकी मायालु रक्षा वास्तविक जीवनमा रुन्ची

हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठको सौन्दर्यका दिवानाहरु धेरै छन् । म्युजिक भिडियोहरुमा राम्रै जमेकी यी सुन्दरी ठूलो पर्दामा भने अहिलेसम्म झुल्किएकी छैनन् ।

उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । उनी आफैं पनि कहिलेकाहीँ ऐनामा आफूलाई नियाल्छिन्, र साँच्चै सुन्दर पाउँछिन आफ्नो आँखा । आँखाबाहेक आफ्नो नाक पनि उनलाई मन पर्छ ।

रक्षालाई मन नपरेको आफ्नै शरीरको अंग चाहिँ के होला ?

‘कपाल’ उनी सहजै जवाफ दिन्छिन्, ‘मलाई लरक्क परेको स्ट्रेट कपाल मन पर्छ, तर मेरो अली कर्ली छ ।’

स्वभावको कुरा गरौं । उनलाई सितीमिति रिस उठ्दैन । उठिहाले पनि ठुस्स परेर बस्दिनन् ।

‘म कुनै कुरामा इगो पालेर बस्दिन, गल्ति गर्नेलाई पनि छिट्टै माफ गरिहाल्छु,’ रक्षा भन्छिन् ।

उनको त्यही स्वभावले धेरै घाटा पनि भएको रहेछ । उनले अहिले पनि धेरै मान्छेसँग काम गरेको पैसा लिनु पर्ने छ । तर, ताकेता गर्दिनन् । ‘एक-दुई पटक माग्छु त्यसपछि आफैंलाई अप्ठेरो लाग्छ,’ रक्षाले भनिन् ‘त्यहि भएर होला कतिले पैसा दिएका छैनन् ।’

भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ,’ उनी भन्छिन् ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।

आफ्नो स्वभाव अलि हाउडे लाग्छ उनलाई । गमक्क परेर बस्नै सक्दिनन् ।

लोभी चाहिँ कत्तिको छिन् ?

‘जसले काम गरेको पारिश्रमिक त लिएको छैन त्यस्तो मान्छे लोभी हुन्छ ?’ उल्टै प्रश्न गरिन् । फर्केर हेर्दा आफू अहिलेसम्म सफल नै भएजस्तो लाग्छ उनलाई । भद्रगोलबाट आउने रेस्पोन्सले उनी मख्ख पर्ने गर्छिन् ।

फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।

उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।

‘हरेक वर्ष कार्यक्रम बनायो । कहिले सुटिङ पर्छ, कहिले के, जानै पाएको छैन,’ रक्षाले आफैसँग गनगन गरिन् । यो वर्ष भने जसरी पनि पिकनिक जाने योजना छ उनको ।

आफूलाई रोमान्टिक बताउने रक्षा धार्मिक प्रवृत्तिकी पनि छिन् । हरेक दिन बिहान उठेपछि पुजा नगरी मुखमा केही हाल्दिनन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिmप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

-अनलाइन खबर

Facebook Comments Box

फेसबुक