काठमाडौं, ७ मंसिर — एकदमै धेरै विवादमा रहेको सञ्जय लीला भन्सालीको फिल्म पद्मावती अहिले सेन्सर बोर्डको सर्टिफिकेट कुरेर बसिरहेको छ ।
बेलायतमा भने यो फिल्म कुनै पनि कटविना नै पास भएको छ । ब्रिटिश सेन्सर बोर्डले दीपिका पादुकोण र रणवीर सिंहले खेलेको फिल्म १२ वर्षभन्दा माथिका दर्शकका लागि योग्य भनी पास गरिदिएको छ ।
फिल्म मंसिर १५ गते रिलिज हुनुपर्ने थियो तर भारतमा त्यस मितिमा रिलिज गर्न सम्भव देखिएको छैन । बेलायतमा भने त्यही मितिमा फिल्म प्रदर्शन गरिने सम्भावना छ ।
फिल्म निर्माताहरूले बेलायती सेन्सर बोर्डमा पहिले नै निवेदन दिएका रहेछन् । भारतमा चाहिँ पद्मावतीका विषयमा राजपूत संगठनहरूले कडा विरोध गरिरहेका छन् । त्यसैले फिल्मका निर्माता भन्साली प्रोडक्सन्स र भायाकम १८
पिक्चर्सले फिल्मको रिलिज पछाडि धकेलेका छन् ।
भारतको सेन्सर बोर्डले चाहिँ अधूरो निवेदन दिएकाले पद्मावतीका निर्माताहरूलाई फिल्म फर्काइएको बताएको छ ।
इतिहाससँग छेडछाड गरिएको भन्दै राजपूत करणी सेनाले फिल्मको घोर विरोध गरिरहेको छ ।