२०८१ जेष्ठ, १०
||NEWS LUMBINI |

भित्ताभरी बैग्लै ‘मधेस देश’को झन्डा, विमानस्थल-शहरमा ‘आजादी’को नारा

नेपालबाट तराई मधेसलाई अलग्गाएर बेग्लै ‘स्वतन्त्र मधेस देश’ बनाउने पृथकतावादी आन्दोलन चलाइरहेका चन्द्रकान्त (सिके) राउतको लागि राजनीतिको मुलधारको मैदान तयार भएको छ । सरकारले राउतसँग गरेको ११ बूँदे सम्झौताले उनलाई नयाँ बाटो बनाइदिएको हो ।

एघार बूँदे स्वागतको नाममा यसअघि बनाइएको बेग्लै मधेस देशको झन्डा

२०७५ फागुन २४ मा राउतसँग सरकारले सहमति गर्दै गर्दा निकै ठुलो उपलब्धी भए जसरी राष्ट्रिय सभागृहमा तामझाम गरियो । गृहमन्त्रालयले गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु भरिभराउ थिए । कार्यक्रमको दृश्य निकै फरक थियो । त्यो दिन प्रधानमन्त्री केपी शर्मा ओली बोल्दा भन्दा कुनै बेला देशद्रोही करार गरिएका राउतले नेकपाका कार्यकर्ताहरुको ताली खाए । मातृभूमिलाई ‘बेश्या’ भनेर बोल्दै र लेख्दै हिडेका राउतले सत्तारुढ दलका कार्यकर्ताहरुको यतिधेरै ताली खाएका की उनी आफै पनि दंग देखिएका थिए ।

यतिसम्मकी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनै राउतसँग तुलना गर्दा पनि हलमा गढगढाहट ताली बज्यो । कुनैबेला अत्याधिक घृणाको पात्र बनाइएका राउतलाई आफ्नै अध्यक्षसँग तुलना गर्दा बजेको ताली निकै अनौठो थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सहमतिलाई निकै ठुलो सफलताको रुपमा अथ्र्याए । यसपछि पनि सरकारी मान्छे र सत्तारुढ दलका नेताहरुले यो सहमतिलाई ठुलो सहमतिको रुपमा व्याख्या गरे । तर, राउतले कार्यक्रममा दिएको अभिव्यक्ति र त्यसपछि उनले गरेको गतिबिधिले भने त्यसलाई स्वात खण्डन गर्छ ।

फेरियो मधेस

एघार बूँदे स्वागतको नाममा यसअघि बनाइएको बेग्लै मधेस देशको झन्डा राखेर गरिएको पेन्टिङ्ग


यो सहमितसँगै तराई मधेसमा भने स्वतन्त्र मधेसको गतिबिधि खुलेआम बढेको छ । सहमति हुन केही घन्टा अगाडि पनि राउतले सरकार स्वातन्त्र मधेसको लागि जनमत संग्रह गर्न तयार भएको दाबी सहित स्टाटस लेखेका थिए । सहमतिको ६ नम्बर बूँदामा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ ।

सहमतिको ६ नम्बर बूँदामा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’

तर, सहमति भएको केही घन्टामा नै स्वतन्त्र मधेसको नाममा बनाइएको स्वतन्त्र मधेसको झन्डा सहित प्रर्दशन समेत गरिइएन तराई मधेसका भित्ताहरुमा स्वतन्त्र मधेस अर्थात् छुट्टै मधेस देशको झन्डा बनाएर वाल पेन्टिङ्ग गरियो । ११ बूँदेलाई स्वागत गर्दा स्वतन्त्र मधेसको बेग्लै राष्ट्रगान समेत बजाइयो । सहमति विपरित स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइनको प्रयोग नै जारी राखिएको छ ।

राउतको पार्टीको आधिकारिक साइडमा राखिएका सामग्रीहरु
राउतको पार्टीको आधिकारिक साइडमा राखिएका सामग्रीहरु

सम्झौतामा यसअघिका अनलाइन पनि बन्द गर्ने भनिएको छ । तर, बेग्लै देशको झन्डा, नक्सा र गीत राखिएको राउतको अनलाइन झनै आक्रमक रुपमा चलिरहेको छ । मधेस डटकम नामक यो अनलाइन शनिबार र आइतबार छिनछिन जसो अपडेट गरियो ।

आइतबारको त्यो दृश्य

आइतवार जनकपुरधाम विमानस्थलमा राउतका कार्यकर्ताहरु


सरकारसँग सहमति भएको दुई दिन नबित्दै जनकपुरधामको विमानस्थलमा अनौठो दृश्य देखियो । राउतका कार्यकर्ताहरु कुनै भूमिगत छापामार जस्तो मास्क र कभर कालो ज्याकेट लगाए आएका थिए । उनीहरुले स्वतन्त्र मधेस लेखिएका झन्डाहरु बेकेका थिए । उनीहरुले प्रहरीकै अगाडि जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाए ।

रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गरे । कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाए ।

आइतवार जनकपुरधाम विमानस्थलमा राउतका कार्यकर्ताहरु

राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरू विमानस्थललाई चारैतर्फबाट घेरा हालेका थिए । राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरूसँग उनका निजी सुरक्षा गार्डले भने धकेलेर बाहिर निकाले ।

काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम प्राप्त सुरक्षा दस्ता थिए भने अर्का्तिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काए । उनीहरुले ‘आजादी’को नारा लगाएका थिए । राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिरहँदा उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् ।

-नयाँपेजबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक