परासी -पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो ।
पैसा हराएपछि पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई खबर गरिन् । तत्कालै रकम भेट्टाउनेलाई पुरस्कारको घोषणासहित खोजतलास शुरु गरिएको स्थानीय कानून व्यवसायी दीपेन्द्र मिश्रले बताए ।
रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् । पावित्रीले घोषणा गरेको पुरस्कार पनि उनले लिएनन् । लालचनको यो इमान्दारिताप्रति कृतज्ञ हुँदै पीडित परिवारले उनलाई धन्यवाद दिएको छ ।-रासस