२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

भैरहवा पुगेर धुर्मुसले भनेः ४० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम छिट्टै

कलाकार तथा समाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले छोटो अवधिमै अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बनाउने बताएका छन । भैरहवामा रहेकोे सिद्धार्थ रंगशालामा ब्यटिङ्ग गर्दै उनले अब नेपालीले छिटै अन्तर्राष्ट्रिय मापदण्डको पिचमा खेल्ने प्रतिवद्धता जनाएका हुन् ।

सिद्धार्थ रंगशाला अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्माणको प्रक्रिया लामो र सोचेर गर्नुपर्ने भए पनि निर्माणअवधि भने छोटो हुने बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउन अध्ययन अवलोकनका क्रममा रुपन्देही आएको धुर्मुसको टोलीले सैनामैना र भैरहवाको क्रिकेट रंगशाला अवलोकन गरे । उनले नेपालले पछिल्लो समय क्रिकेटमा नेपालले फड्को मारेकाले क्रिकेटर र सरकारलाई सघाउन यो अभियानमा लागेको बताए ।

उनले अहिलेसम्म अवलोकन गरेकामध्ये भैरहवाको रंगशाला उत्कृष्ट रहेको बताए । तापनि आफूहरुले लिएको लक्ष्य ४० हजार दर्शक क्षमता, सुरक्षा जस्ता सबै कुरा हेरेर रंगशाला छनौट गरिने उनले बताए ।

रंगशाला अवलोकनका क्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, सचिव सञ्जय गुरुङ्ग, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, उपमेयर उमा अधिकारी लगायतले स्वागत गर्दै सिद्धार्थ रंगशालाको बारेमा जानकारी गराएका थिए ।

धुर्मुसको टोलीमा कलाकार मनोज गजुरेल, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), इन्जिनियर रवि भुषण झा र अर्जुन घरेलसमेत भैरहवा आएका हुन् ।

Facebook Comments Box

फेसबुक