राष्ट्रिय योजना आयोगले भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न दुई विकल्प सिफारिस गरेको छ। भौतिक कामको ५३ प्रतिशत प्रगति भएको उक्त आयोजना सन् २०१९ भित्रै निर्माण सम्पन्न हुने भनिए पनि अहिलेसम्म संचालन मोडालिटी बन्न सकेको छैन।
संचालन मोडालिटी तय गर्नका लागि नागरिक उड्डय प्राधिकरणले राय सुझाव दिन राष्ट्रिय योजना आयोगमा पठाएको थियो। आयोगले सकेसम्म संचालन गर्न निजी क्षेत्रलाई समावेस गरेर जान सुझाव दिएको छ। आयोगले बिकल्पसहितको पत्र रायका लागि अर्थ मन्त्रालयमा पठाएको हो।
योजना आयोगको पत्रमा नेपाल सरकारको स्रोत र साधानले संचालन गर्नसक्ने भए आफै चलाउन सकिने पनि सुझाव दिएको हो।
‘सकेसम्म अन्तर्राष्ट्रियस्तरमा विमानस्थल संचालन गरेको कुनै निजी क्षेत्रको कम्पनीलाई समावेस गरेर संचालन गर्न उपयुक्त देखिन्छ’ योजना आयोगले अर्थ मन्त्रालय पठाएको पत्रमा भनिएको छ,‘यद्यपी प्राधिकरणको मौजुदा स्रोत र साधनले विमानस्थल चलाउन सक्ने अवस्था रहने आफै चलान पनि सकिने छ।’
यद्यपी आयोगले अहिलेको नागरिक उड्डय प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नसक्नेमा प्रश्न उठाएको छ। उसले अहिलेकै त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अवस्था हेरेर भैरहवामा चलाउन सक्नेमा आशंका व्यक्त गरेको छ।
आयोगले पठाएको पत्र अर्थ मन्त्रालयले रायसहित पठाएमा नागरिक उड्डयन प्राधिकरण बोर्डले पास गरेपछि मोडालिटी तय हुने छ। विमानस्थल चलाउन मोडालिटी तय नहुँदा त्यसको मार्केटिङ तथा अन्य व्यवासायिक काम हुन सकिरहेका छैनन्।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न सरोकारवाला निकायमा पत्राचार गरिकसकेकाे छ। विमानस्थल संचालनमा सहभागी हुने अन्य सरकारी निकायमा पत्राचार गरेकाे थियाे।
गृह,अर्थ, श्रम, वाणिज्य तथा कृषि मन्त्रालयमा पत्राचार गरिएकाे हाे। अध्यागमन भन्सार प्रहरी जस्ता निकायलाइ तयारीकाे लागि पत्राचार गरिएकाे मन्त्रालयले बताएकाे छ।
टर्मिनल भवनको छाना हाल्ने र धावनमार्गको कालोपत्रे गर्ने भौतिक काम बाँकी रहेको छ। वर्षायाम सकिए लगत्तै पिचको काम सुरु हुने आयोजनाले जानकारी दिएको छ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले यसअघि नै उक्त विमानस्थल संचालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिसकेका छन्।
-सेतोपाटीबाट साभार गरिएको हो