२०८१ असोज, ३०
||NEWS LUMBINI |

मनीषाको आत्मकथा- म मर्न चाहन्नँ

‘म मर्न चाहन्नँ।’

मैले छटपटिँदै साथीलाई सन्देश पठाएँ।

मलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पन्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ।

जति नै चलमलाए पनि अन्धकार आफ्नो अष्टबाहु फैलाएर मेरो घाँटी निचोर्दै थियो। मेरो आँखाअगाडि टाढाटाढासम्म उज्यालो प्रकाशको एक धर्सो पनि थिएन। अन्धकार मेरो कमजोर शरीरलाई आफ्नो पासोमा जकडेर मभित्र प्रवेश गर्दै थियो, एकदमै तीव्र गतिमा। विस्तारै त्यो मेरो शरीरभरि फैलियो। र, पेटको पिँधमा पुगेर मलाई गिँजोल्न थाल्यो।

आँखाभरि छाएको अन्धकारमा पनि म अतीतको त्यो क्षण प्रस्ट देख्दै थिएँ, जब मैले पहिलोचोटि आफूलाई परित्यक्त अनुभव गरेँ।

म त्यति बेला दस वर्षकी थिएँ। हामी भारतको बनारसमा हजुरआमासँग बस्थ्यौं। एकदिन मेरी आमा मलाई हजुरआमाकै घर छाडेर अचानक फुत्त हिँड्नुभयो। म आँखा फिँजारेर उहाँ गएको बाटो हेरिरहेँ। मूर्तिवत्।

आमालाई मेरो ममताले तानेर फर्काउला भन्ने मैले कत्रो आस लिएकी थिएँ। कत्ति न पर जानुहोला र! एक–दुई पाइला त हो नि! त्यसपछि उहाँ फरक्क फर्केर म नजिक आउनुहुनेछ, र मलाई अंगालो मारेर जुरुक्क आफ्नो काँधमा बोक्नुहुनेछ!

म सोचिरहेँ। आस गरिरहेँ।

अहँ, उहाँका पाइला अडिएनन्। उहाँले फर्केर पनि हेर्नुभएन।

‘तपाईं किन फर्कनुभएन आमा?’ मैले धेरै वर्षपछि उहाँलाई सोधेँ।

‘म मेरी सानी छोरीलाई उसकी आमाको भिजेको आँखा कसरी देखाउन सक्थेँ,’ आमाको जवाफ थियो।

आमा त्यसरी किन जानुभयो भन्ने मैले धेरै समयपछि मात्र बुझेँ। नेपालमा राजनीतिक गतिविधि चुलिएको त्यो समय बुबाको व्यस्तता बढेको थियो। त्यसैमा बुबालाई भर दिन मलाई हजुरआमाको काखमा सुम्पेर जानुभएको थियो।

म एक्ली कहाँ हो र! नेपालको राजनीतिक उथलपुथलबीच हजुरआमाले परिवारका थुप्रै केटाकेटी स्याहार्नुभएको थियो। उहाँको ममतामयी स्याहारले राजनीतिक बादलको लुकामारी मेरो हुर्काइमा पर्ने छैन भन्ने आमाले राम्ररी बुझ्नुभएको थियो।

मैले आमाको काख गुमाएँ। हजुरआमाको न्यानो काख पाएँ।

आज फर्केर हेर्दा त्यो बेलाको परिस्थिति र मेरी प्यारी आमाको बाध्यता म बुझ्छु। मेरो भविष्यको निम्ति उहाँले जुन बुद्धिमतापूर्ण निर्णय लिनुभयो, त्यसको पनि कायल छु। तर, कलिलो मन र काँचो मस्तिष्कमै आमाबाट परित्यक्त हुनुको जुन छाप अंकित हुन पुग्यो, त्यसलाई कसैगरी मेट्न सकिनँ।

प्रियजनबाट त्यागिनुको त्यस्तै अनुभूति मलाई मेरो विवाह चुँडिएपछि भयो। मैले यो सम्बन्ध सकुशल राख्न खुब कोशिस गरेँ। जब धागो चुँडियो, पीडाको बज्रपातले मेरो छाती मात्र होइन, आत्मा नै चिरियो। दोष कसैलाई दिन्नँ। गुनासो पनि गर्दिनँ। यत्ति हो, हामी दुवै नितान्त अलग व्यक्ति थियौं। चुम्बकका एकै ध्रुवजस्ता। हामी एकअर्काका निम्ति बनेकै थिएनौं। किन मेरो छनौटमा सधैं गलत मान्छे नै पर्छ?

यो धागो चुँडिदा पनि म खुब छटपटाएकी थिएँ। इष्टमित्र र परिचितहरूका प्रश्नमय आँखा मेरा अगाडि तेर्सिएका थिए। मैले आफ्नो सम्बन्ध किन सम्हालेर राख्न सकिनँ? यस्तै प्रश्नले मेरो सुर्ता थपेको थियो।

परित्यक्त हुनुको डरले मलाई जिन्दगीभर लखेटिरह्यो। आफ्नै छायाले लखेटेजस्तो।

यसपालिको डर पहिलेभन्दा भयावह थियो।

मलाई जिन्दगीबाटै परित्यक्त हुनुपर्ला भन्ने डर थियो।


१० डिसेम्बर, २०१२

म न्यूयोर्कको मेमोरियल स्लोन केटेरिङ क्यान्सर सेन्टरमा थिएँ। बाहिरको तापक्रमभन्दा कयौं गुणा मेरो अन्तरआत्मा चिस्सिएको थियो।

म झ्यालतिर एकटक नियालिरहेकी थिएँ। तुसारोले सिसा भिजेका थिए। तुसारोको तगारो नाघेर बाहिरको न्यानो उज्यालोले मेरो चिसो शरीर छुन सकिरहेको थिएन। छोएको भए म पनि न्यानो हुन्थेँ कि!

त्यो पर्दापछाडि मनै हर्ने हिउँद थियो, जसको म कल्पना मात्र गर्न सक्थेँ। रूखका खिङरिङ्ग अस्थिपञ्जरहरू फुसफुसे हिउँको दोलाई ओढेर आफ्नो ओइलाएको रूप छोप्न खोज्दै थिए। चिसोले च्याखुरिएका पालुवा त्यही हिउँभित्र कतै एकमुठी सास जोगाएर बसेका होलान्। वसन्तको प्रतीक्षामा। जब घामको किरणले हिउँको पर्दा खोल्नेछ, र पालुवाहरू कठ्याङ्ग्रिएका चिम्सा आँखा उघार्दै फक्रनेछन्।

तुसारोको पर्दापछाडि क्रिसमस क्रिया सुरु भइसकेको थियो, जसको म कल्पना मात्र गर्न सक्थेँ।

केटाकेटीहरू लूला घाँसमाथि मृगझैं बुर्कुसी मार्दै होलान्। घरमा क्रिसमिस बोट रंगीचंगी प्रकाशले सजिँदै होला। चक्लेटको गुलियो माया साटिँदै होला। मायालुहरू अंगालोमा बेरिएर कहिल्यै नछुट्टिने बाचा–कसम दोहोर्याउँदै होलान्।

तुसारोको तगारोपछाडि माया, हर्ष र उल्लासको उत्सव सुरु भइसकेको थियो। म त्यसको कल्पना मात्र गर्न सक्थेँ।

मेरो कल्पनाको परिधि फराकिलो थियो। तर, जहाँबाट म त्यो परिधिको अन्तिम छेउ हेर्दै थिएँ, त्यहाँ घना अँध्यारोमा उत्सवले उकेरा हाल्नै पाएको थिएन।

म अस्पतालको कोठामा थिएँ। चारैतिरबाट एक्ली। भित्रैदेखि रित्ती। र, गहिरोसम्म चुँडिएकी।

बलिउड नक्षत्रकी एक चम्किली तारा थिएँ म। जिन्दगीका थुप्रै उफानहरूबाट गुज्रिँदै एकाएक अस्पतालको शैयामा उनिन पुगेकी थिएँ। कमजोर बिरामीका रूपमा। कसैगरी उफान पोखिएला र म जिन्दगीबाटै रित्तिउँला भन्ने डरले काम्दै।

म जति आँखा नचाउँथेँ, मृत्यु मुख बाएर मैलाई घुरिरहेझैं लाग्थ्यो। के मेरो जीवित अस्तित्व निर्जीव आँकडामा सीमित हुँदै गइरहेको छ?

यस्तो प्रश्न दिमागमा झिलिक्क आउनेबित्तिकै म थर्रर काम्थेँ।

‘म मर्न चाहन्नँ।’

निख्खर सेतो दलिनमा आँखा टिकाउँदै म बर्बराउँथेँ। त्यो दलिन एकोहोरो मलाई हेरेको हेर्यै थियो। चुपचाप।

डरले हो कि छटपटीले, मेरो मुटु बाहिरैसम्म सुनिने गरी हल्लिँदै थियो। मानौं, त्यहाँ जीवन र मृत्युको लडाइँ चल्दैछ। आशा र निराशा घम्साघम्सी गर्दैछन्।

‘मनीषा, तिमी यो लडाइँ जितेर अगाडि बढ्नेछौ,’ आशा मलाई आश्वस्त पार्थी।

उतिन्खेरै मृत्यु आफ्नो फण उठाउँथ्यो, ‘तिमीलाई त पाठेघर क्यान्सर पो भएको छ मनीषा, त्यो पनि तेस्रो चरणको।’

‘यस्तो रोग लागेका ४४ प्रतिशत बिरामी बाँचेका छन्,’ आशा मुसुक्क हाँस्दै मलाई थुम्थुम्याउँथी।

उतिन्खेरै मृत्यु दारा देखाउँदै भन्थ्यो, ‘ढुक्क नहोऊ मनीषा, यस्तो रोग लागेका ५६ प्रतिशत बिरामी मरेका छन्।’

म आफूभित्रकै द्वन्द्व सहन नसकेर आँखा चिम्म गर्थेँ। एकअर्कासँग बाझिरहेका ती कर्कश स्वरहरू विस्तारै मत्थर हुँदै जान्थे। म आफूलाई शून्यतामा हराउँदै गएको पाउँथेँ।

जब जब मलाई यस्तै शून्यताको संसारमा हराउन मन लाग्छ, मेरो मन मेरै देशतिर बरालिन थाल्छ। ती हिउँले ढाकिएका हिमशृंखलाको झलकले मेरो आत्माका तारहरू झंकृत हुन थाल्छन्। चित्रकारले रङका थोपा तप्पतप्प क्यानभासमा चुहाएझैं जब अस्ताउँदो सूर्यको लालिमा ती हिमशृंखलामा पोखिन्छन्, मलाई आफूभित्र हराएका सारा रङहरू फेरि एकचोटि बौरिएझैं लाग्छ। निमेषभरकै लागि सही, त्यो अन्धकारमा पनि म आफूलाई रंगीन देख्छु।

जब जब मलाई आफैंभित्रको आनन्दमा डुब्न मन लाग्छ, मेरो मन मेरै काठमाडौंका ती साँघुरा नागबेली गल्लीहरूमा बरालिन थाल्छ। ती अँध्यारा गल्लीमा लहर मिलेका दाँतझैं एकनासे घर, घरको चिसो छिँढीबाट बाहिरसम्मै फैलिएको ओस, घरिघरि नाकमा ठोक्किन आउने रैथाने मसलाको बासना, तरकारीको झ्वाइँ, सिलौटाको आवाज, केटाकेटीको खैलाबैला र आफैं हराउने त्यो भीडभाडमा म बल्ल आफूलाई भेट्छु। घरि शिर निहुराउँदै, घरि कुम ठोक्दै चहार्नुपर्ने काठमाडौं गल्लीहरूले मलाई यहाँको कला, संस्कृति र प्राचीन इतिहाससँग परिचित गराउँछ। वर्तमानमा उभिएर उतिबेलाको समृद्ध सभ्यतातिर फर्किंदा यस्तो लाग्छ, म आँखा चिम्लेर ध्यानमा बसेकी छु र आफूभित्र आफैंलाई खोज्दैछु।

जब जब म आफैंसँग अतासिन्छु, मेरो मन मेरै शिवपुरी जंगल र काठमाडौं उपत्यका वरिपरिका पदमार्गहरूमा फन्को मार्न थाल्छ। आँखाले समेट्न नसक्ने हरियालीबीच मलाई आफ्नै ज्यान कपासझैं हलुंगो अनुभूति हुन्छ। मेरा पाइलाहरू पदचिह्न पछ्याउन थाल्छन्। ती मेरै पदचिह्न हुन्, मैले नै छाडेर आएको। आफ्नै पदचिह्न पछ्याउँदा यस्तो लाग्छ, मानौं म आफूभित्रको ‘म’ लाई पछ्याउँदैछु। आफैंलाई खोज्दैछु। आफैंलाई चिन्दैछु।

यसले मलाई संसारमा कहीँ कतै नभेटिने आह्लाद प्राप्त हुन्छ।

केही समय भयो, मेरो काठमाडौंलाई आधुनिक संरचनाहरूले कुरुप पार्दै लगेको छ। त्यो देख्दा मन चसक्क बिझाउँछ, घाँसमाथि खाली खुट्टा हिँड्दा काँडा बिझेझैं। तै मलाई आज पनि यहाँ आउँदा आमाको काखमा लुपुक्क लुट्पुटिएझैं हुन्छ– सुखी, शान्त र निश्चिन्त।

मलाई सधैं यस्तो लाग्छ, शल्यक्रिया गर्न मेरो शरीर चिर्दा पनि मेरा नसाहरूमा नेपालको बागमती र भारतको गंगा आफ्नो पूरा उफानका साथ गड्डाइरहेका भेटिनेछन्। मेरो जिन्दगी नै यी दुई सुन्दर देशका दुई पवित्र नदीहरूले सिँचित छ।

म नेपालको राजनीतिक परिवारमा जन्मेँ। कोइराला परिवारबाट धेरै जनाले विभिन्न कालखण्डमा नेपालको सत्ता सम्हाले। तै मैले भारतलाई आफ्नो कर्मभूमि बनाएँ। नेपालसँग मेरो अन्तरआत्माको जरा गाँसिएको छ। भारत भने मेरो छनौट हो, जहाँ मैले झांगिने अवसर पाएँ।

जादुई मुम्बई महानगरमा मैले आफ्नो सपना बाँचेकी छु। मैले असीभन्दा बढी फिल्ममा काम गरेँ। जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ। यो सहरले मलाई आफ्नो समयमा बलिउडको उचाइमा पुर्यायो। केही वर्षको अन्तरालमा थुप्रै अवार्ड र सम्मानले विभूषित गर्यो। लाखौं–करोडौंको माया दियो। म यी सबैको निम्ति धन्य छु।

ती सुन्दर पल बाँचिरहँदा मलाई थाहा थिएन, मेरो यात्रा सहज छैन। विधिले मेरो मुटुको क्यानभास सफलताको खुसीले मात्र भर्ने छैन। ती सबै संवेदनाहरू पोख्न पनि उत्तिकै उदारता देखाउनेछ, जुन हामी जिन्दगीमा भोग्न नपरे हुन्थ्यो भन्ठान्छौं। हामीले ठानेर मात्र कहाँ हुन्छ र? मेरो मुटुको क्यानभासमा असफल सम्बन्धले दिएको निराशा लेखियो। अनपेक्षित धोकाको पीडाले भरियो। अवसर खुम्चिँदै जाँदाको छटपटीले छोप्यो।

र, मलाई अन्तरआत्मासम्मै निचोरेर निराशाको रसातलमै पुर्याउने गरी आयो, यो रोगको पहिचान।

जसले मलाई एक्लै बर्बराउन बाध्य पार्यो– ‘म मर्न चाहन्नँ।’

अस्पतालको त्यो कोठाभित्र उच्चाट लाग्ने गरी क्वारक्वार्ती दलिन हेर्दै कति समय बित्यो मलाई थाहा छैन। जब ब्युँझिएँ, मेरो मुख प्याक्प्याक्ती सुकेको थियो। मैले चारैतिर आँखा डुलाएँ। म अघिको कोठामा थिइनँ। मलाई अस्पतालकै अर्कै कोठामा ल्याइएछ। त्यो अपरेसन कक्ष थिएन। न अपरेसनपछि राखिने कक्ष थियो।

मलाई आफ्नो मुटुको धड्कन थामिएझैं लाग्यो। त्यो टक्क अडिन्थ्यो होला, मैले उतिबेलै मेरी आमालाई कोठाभित्र छिरेको नदेखेकी भए।

आमाको उपस्थितिले नै मेरो फड्फडाइरहेको मुटुलाई सन्तोक दिइरहेको थियो। अब उहाँले मलाई सुखद खबर सुनाउनुहुनेछ! म आशातीत नजरले उहाँलाई हेर्न थालेँ। तर, किन आमा आज मलाई देखेर पनि मुस्कुराउनुभएन? किन उहाँ मेरो आँखासँग आफ्नो आँखा मिलाउन सक्नुभएको छैन? उहाँको आँखामा किन म उही चमक देख्दिनँ, जुन मलाई देख्दा सधैं तैरिने गर्थ्यो?

कहाँ छन् डा. डेनिस ची? उही त हुन् मेरा रक्षक। आखिर के हुँदैछ यहाँ?

त्यही बेला मैले डा. चीलाई कोठाभित्र छिर्दै गरेको देखेँ।

रोग पहिचान भएयता म अरूको अनुहार पढ्ने कलामा पोख्त भएकी छु। मेरा प्रियजनहरू अक्सर आफ्नो अनुहारमा झूटको नकाब लगाएर सत्य लुकाउन खोज्छन्। मलाई छल्न खोज्छन्। यो उनीहरूको मप्रति माया हो, मलाई थाहा छ। तर, मुखले जतिसुकै झूट बोले पनि आँखाको भावमा सत्य लुक्दैन। मान्छेको हाउभाउले हताश मनको छनक दिइहाल्छ।

यतिबेला पनि म अनुहार पढ्नमा एकोहोरिएकी थिएँ। मलाई हाँसोको आवरणभित्र लुकेको सत्य खुट्टयाउनु थियो।

मैले उनको आँखा पढ्ने कोशिस गरेँ। सकिनँ।

मैले उनको अभिव्यक्ति पढ्ने कोशिस गरेँ। सकिनँ।

उनी आफैंले एकै शब्दमा मेरो भविष्यको नतिजा सुनाइदिए। उनको बोली मेरो छातीमा तीरझैं रोपियो। चट्टानझैं कठोर सत्य बज्रिएर म थिलथिलो भएँ। यस्तो लाग्यो, मानौं छ फुट अग्लो बक्सरले एक्कासि आफ्नो शक्तिशाली मुक्का ममाथि खन्याए।

मेरो हालत त्यो परीक्षार्थीको जस्तो थियो, जो परीक्षाको नतिजा सुनेर नित्र्यान्न परेको छ।

क्यान्सरले मलाई जितेको थियो।

म मर्दै थिएँ।


नोभेम्बर, २०१२

मध्यरात। म काठमाडौंको नर्भिक इन्टरनेसनल अस्पतालको सेतो चादर बिछ्याएको शैयामा लम्पसार थिएँ। एक्लै।

कोठामा मधुरो उज्यालो थियो। मेरो मनमा भने ज्वार उठेको थियो। म चिस्सिएकी थिएँ। एक्ली थिएँ। डराएकी थिएँ।

म किन यहाँ छु? किन सडकको अर्कोपट्टि प्रसूति गृहमा छैन? मलाई यहाँ प्रसूतिको निम्ति किन भर्ना गरिएन? के म कुनै दिन मेरो आफ्नो बच्चालाई अंगालोमा च्याप्न सक्छु?

यस्ता अनेक प्रश्न आगोको झिल्काझैं मेरो मनमा उठ्थ्यो।

जब मान्छेको मन आफ्नै विचारका तरंगहरूमा गुजुल्टिएर थकित हुन्छ, उसका आँखा दिनदिनै देखिने सामान्य दृश्यहरू पनि अचम्मसँग याद गर्न थाल्दा रहेछन्।

झ्यालबाट छिरेको चन्द्रमाको चाँदनीमा मैले आफ्नै कोठा नियालेँ। कस्तो सुग्घर! कति व्यवस्थित! यहाँ हरेक चिज कसरी ठिक–ठिक ठाउँमा राखिएको! जुन चिज जहाँ हुनुपर्छ त्यहीँ! एक इन्च तलमाथि छैन!

कोठामा छिर्दा पनि मैले ख्याल गरेकी थिएँ, अस्पतालको यो भाग निकै आकर्षक थियो। मलाई लाग्यो, यो अतिविशिष्ट (भिआइपी) व्यक्तिहरूको निम्ति छुट्टयाइएको शाखा हो।

मलाई एकाएक आफ्नो परिचय उदांगिएको महशुस भयो। भरिन बाँकी ठूलो घाउको पाप्रा कसैले कोट्ट्याएर उक्काइदिएझैं।

मैले सयौंचोटि आफ्नो पेट सुम्सुम्याएँ। निकै समय भयो, मेरो पेट अप्रत्यासित रूपले फुलेको फुल्यै छ। त्यसैमाथि हल्का हात चलाउँदै मैले सुस्तरी सुस्केरा हालेँ। यति सुस्तरी, मेरो आफ्नै कानले धरि मेरो निश्वास चाल पाएन।

जुन घटनाक्रमले मलाई यो अस्पतालको शैयासम्म ल्याइपुर्यायो, त्यसको बाटो लामो समयदेखि खनिँदै रहेछ। त्यसको पदचाप मैले सुन्दै सुनिनँ।

मुम्बईमै हुँदा म केही महिनादेखि बिरामी महशुस गर्दै थिएँ। मेरो पेट सधैं डुम्डुम्ती फुलिरहेझैं हुन्थ्यो। मलाई देखेर मान्छेहरू हिजोकी खिरिली, चिरिचट्ट परेकी हिरोइन कस्तरी मोटाइछे भनेर कुरा काट्न थालेका थिए। त्यो सुनेर म आत्तिन्थेँ। उनीहरूको कुरा सही पनि थियो। जत्ति कोशिस गर्दा पनि म आफ्नो तौल नियन्त्रण गर्नै सकिरहेकी थिइनँ। खासगरी पेटको वरिपरि मासु भरिएर मलाई आफू मोटाइरहेको आभाष हुन्थ्यो।

मैले तौल नियन्त्रण गर्न खुब कसरत गरेँ। दिनहुँ जिममा गएर चिटचिट पसिना बगाउँथेँ। मलाई त्यति बेला मेरो पेटमा अथाह बोसो भरिएको छ भन्ने भान भएको थियो। त्यसबाट मुक्ति पाउन मैले कुनै कसर छाडिनँ। केही समयमै नतिजा पनि देखियो। मेरो तौल घट्दै गयो। मेरो शरीरका सबै अंगहरूबाट अनावश्यक मासु निख्रिँदै गए। पेट भने जस्ताको तस्तै रह्यो। त्यसको बढ्ने क्रम अझै जारी थियो। आफ्नै शरीरको बिग्रँदो बनोट देखेर म भित्रभित्रै दुःखी थिएँ।

व्यायामले पनि पेटको बोसो घटाउन नसकेपछि म दिक्क मान्दै डाक्टरको सल्लाह लिन थालेँ। मुम्बईका धेरै डाक्टरकहाँ उपचार गर्न गएँ। शरीरको पूरै जाँचपड्ताल गराउने तयारीमा पनि थिएँ। त्यही बेला मलाई काठमाडौं जानुपर्यो।

प्रशंसकहरूका आँखामा युवा र आकर्षक देखिनुपर्ने कलाकारहरू उमेर छिप्पिँदै जाँदा ऐना हेर्न डराउँछन्। उनीहरूलाई बुढ्यौलीले चाउरी पर्न थालेका आफ्नै अनुहारदेखि आफैंलाई डर लाग्न थाल्छ। म पनि आफूलाई बुढ्यौलीले छुँदै गएको स्वीकार गर्न थालेकी थिएँ। चालीसकी जो भइसकेकी थिएँ।

तीन महिनाअघि म मुम्बईको सिद्धिविनायक मन्दिर गएकी थिएँ। पूजापाठ गरेँ। मन्त्र जपेँ। बढेको तौल र पुटुक्क उक्सेको पेटबाट छुट्कारा पाउन भाकल पनि लिएँ– अर्को तीन महिनासम्म म अन्न खाने छैन। माछामासु र जाँडरक्सी त छुँदै छुन्न। साधुहरू यसैगरी उपवास बस्छन् भन्ने मैले सुनेकी थिएँ। म आफ्नो कमजोरीबाट त्राण पाउन जुनसुकै बाटो अपनाउन तयार थिएँ।

त्यसैबीच नोभेम्बर २०१२ मा म काठमाडौं उडेँ।

त्यो मेरो निम्ति एक अविश्मरणीय दिन थियो। मेरो साथीकी बहिनीको विवाह हुँदै थियो। मैले जुन स्वअनुशासनबाट आफूलाई बाँधेर राखेकी थिएँ, त्यसलाई तोड्ने उपयुक्त अवसर अर्को हुनै सक्थेन। आज फर्केर हेर्दा सम्झन्छु, त्यो मलाई गिँजोलेर बसेको रोग खुट्टिनुभन्दा दुई दिनअगाडिको कुरा थियो।

जिन्दगीमा अगाडि कस्तो दृश्य पटाक्षेप हुँदैछ भन्नेबाट बेखबर म उत्सवको रौनकमा रंगिएकी थिएँ। मेरा सबै साथीहरू पिउँदै थिए। खुसी मनाउँदै थिए। म पनि एक गिलास वाइन पिएर त्यो खुसीमा सामेल भएँ। उतिन्खेरै मलाई आफ्नो पेट फेरि डुम्म फुलेझैं लाग्यो। माछामासु, जाँडरक्सी र अन्नबाट परहेज रहने स्वअनुशासन पनि निष्प्रभावी बनेको देखेर म निराश भएँ।

पार्टी सकेर म आफ्नो कारमा घर फर्कंदै थिए। पेटमा एकैचोटि लाखौं सुई घोचेजस्तो अथाह पीडा भएर आयो। काठमाडौंका उबडखाबड सडकले जतिचोटि गाडीका पाङ्ग्रा उफार्थ्यो, मेरो मुखबाट असह्य पीडाको चित्कार छुट्थ्यो।

त्यो पूरा रात मैले घोप्टो सुतेर काटेँ। दुखाइ कतिविधि थियो भने, म कोल्टे फेर्न पनि सक्दिनथेँ। मलाई त्यस्तो के भइरहेको थियो? म आफैंसँग भुत्भुतिएँ। रनभुल्ल परेँ। डरले जीउभरि काँडा उम्रिए।

भोलिपल्ट बिहानै मैले आफ्नो भाइ सिद्धार्थसँग कुराकानी गरेँ। ऊसँग कुरा गर्दा मेरो आवाज कामेको थियो। मेरो अनुहारभरि छटपटीका रेखाहरू छरिएका थिए।

‘म अब यो पीडा सहन सक्दिनँ। मलाई यो के भइरहेको छ, पत्ता लगाउनुछ।’

भाइले तुरुन्तै मलाई अस्पताल लग्यो।

अनि, म यहाँ आइपुगेँ। नर्भिक अस्पतालको यो कोठामा। डाक्टरको प्रतीक्षा गर्दै।

त्यो बेला मेरो टाउको यस्तो भारी भइरहेको थियो, मानौं मेरो पूरै शरीरको भार मेरो टाउकोमा थुप्रिएको छ।

त्यो बिहान जब डा. मधु घिमिरेले मेरो परीक्षण गरे, मलाई सास फिरेजस्तो भयो। अब उनी भन्नेछन्, ‘सामान्य संक्रमण हो मनीषा, चिन्ता लिनुपर्दैन। केही दिनमै ठिक हुन्छ।’

त्यसपछि म यो पीडाबाट मुक्त भएर शिवपुरी जंगल र काठमाडौं उपत्यका वरिपरिका पदमार्गहरूमा फन्को मार्न पुग्नेछु। त्यहाँ आँखाले समेट्न नसक्ने हरियालीबीच मलाई आफ्नै ज्यान कपासझैं हलुंगो अनुभूति हुनेछ।

मैले मनभित्रै आफूलाई लागेको रोगको तानाबाना पनि बुन्न थालिसकेकी थिएँ। सोचेकी थिएँ, कलेजो संक्रमण होला। यसै पनि म तीन महिनाको स्वअनुशासनमा बस्नुअघि कयौं महिनादेखि दिनको एक बोतल वाइन पिउँथेँ।

डाक्टरलाई भने मेरो तानाबानाले तानेन। उनीहरू मेरो पेटकै परीक्षण गर्न थाले।

‘तपाईंको पेटमा धेरै तरल पदार्थ जमेको छ, यसलाई झिकेर परीक्षण गर्नुपर्छ,’ डा. घिमिरेले भने।

उनले सुई झिके। सुई देख्नेबित्तिकै मेरो जीउ कक्रक्क पर्यो। उनले त्यसको वास्तै नगरी पेटमा रोपे। पेटभित्र जमेको तरलको थोरै अंश विस्तारै सुईमा सर्यो। उनले त्यो नमूना ‘बायोप्सी’ निम्ति पठाउने बताए।

यति जाँचपछि घर जान पाइएला भन्ने सोचेकी थिएँ। पाइनँ। मेरो सिटीस्क्यान भोलिपल्ट बिहानलाई तोकिएको थियो। त्यो रात मैले नर्भिकमै काट्नुपर्ने भयो।

रातभर अस्पतालको बसाइले म अधीर भएँ। धैर्य त्यसै पनि मेरो स्वभावमै छैन।

भोलिपल्ट मलाई ह्विलचेयरमा गुडाउँदै सिटीस्क्यान निम्ति लगियो। त्यसपछि फेरि सुरु भयो एउटा अन्त्यहीन पर्खाइ। मेरो खाली, तर व्यग्र दिमाग फेरि अनेक तानाबाना खेलाउन थाल्यो।

मलाई कलेजोकै कुनै गम्भीर रोग लागेको रहेछ भने के गर्ने? त्योभन्दा पनि भयानक अर्थोकै केही भएको रहेछ भने के गर्ने? हे परमात्मा, तिमी मेरो पुकार सुन्दैछौ? मलाई स्वस्थ बनाइदेऊ?

त्यो पर्खाइको बीचमा मैले सयौंचोटि नर्सलाई सोधेँ, ‘डा. घिमिरे कहाँ हुनुहुन्छ? उहाँ कहिले आउनुहुन्छ?’

नर्सले पनि सयौंचोटि मलाई जवाफ दिइन्, ‘उहाँ व्यस्त हुनुहुन्छ। जतिसक्दो छिटो आउनुहुनेछ।’

म बिहानैदेखि उहाँलाई पर्खेर बसेकी थिएँ। बिहान तन्केर दिउँसो भयो। दिउँसो पनि तन्किँदै जान थाल्यो। सूर्यका किरणहरू डाँडापछाडि छोपिँदै गए। अब चाँडै यी किरणहरू अलप हुनेछन्। मलाई यो समय दिनभरिमै सबभन्दा नाटकीय लाग्छ। यस्तो लाग्छ, मानौं धर्तीमा कुनै डरलाग्दो दृश्यको निम्ति मञ्च तयार हुँदैछ।

म झन् झन् अधीर हुँदै गएँ।

किन कोही पनि केही समाचार लिएर आइरहेका छैनन्? मेरो पेटबाट निकालिएको त्यो तरल बयोप्सीको निम्ति पठाइएको होइन र?

साँझ आफ्ना दुवै हात फैलाएर दिनको उज्यालोलाई आफूभित्र समेट्न खोज्दै थियो। त्यही बेला मेरो परिवारका सदस्यहरू एक–एक गर्दै कोठाभित्र छिरे– मेरा आमाबुबा, सिद्धार्थ, मेरी काकी, काका र मेरा अरू भाइ–बहिनीहरू।

अचम्म! यिनीहरू किन यस्तरी हुल बाँधेर मलाई हेर्न आए?

मेरो मनको एउटा भाग थर्कमान भयो। मैले थकान, छटपटाहट र तनावले गलेको स्वरमा सुस्तरी सोधेँ, ‘के भयो? तिमीहरू मलाई किन केही भन्दैनौ?’

मेरा अचम्भित आँखाहरू डा. घिमिरेमा गएर अडिए। उनी मेरो परिवारका सदस्यहरूको भिडमा पछाडि उभिएका थिए। उनी त्यहाँबाट विस्तारै अगाडि सरेर मेरो नजिक आए। उनी यति विस्तारै पाइला चाल्दै थिए, मानौं एक–एक पाइला गन्दै छन्। मैले उनका आँखा चम्किला देखेँ। के उनका आँखामा आँसु टिल्पिलाएको हो? कि, त्यो दिनभरिको थकानको असर हो?

उनले आँखामा चस्मा लगाएका थिएनन्। उनको पावरवाला चम्मा कालो डोरीमा उनिएर घाँटीमा झुन्डिएको थियो। हातमा केही कागजपत्रहरू च्यापेका थिए। एउटा फाइल पनि थियो, जसका पन्नाहरू धेरैचोटि ओल्टाइपल्टाइ गरेझैं देखिन्थे।

म उनलाई एकटक हेरिरहेँ।

उनी एकछिन मूर्तिवत् उभिए।

विस्तारै मैले उनको ओठ चलमलाएको महशुस गरेँ।

के उनी बोल्न खोज्दैछन्? धन्न!

कृपया केही त बोल्नू डाक्टर? के भएको छ मलाई, केही त भनिदिनू?

‘मनीषा, अचेल यस्तो कुराको उपचार हुन्छ।’

लामो समय लगाएर उनले जे बोले, त्यसले झन् मलाई मुटुमै काँडा बिझेजस्तो भयो।

‘उपचार? तपाईं कस्तो उपचारको कुरा गर्दै हुनुहुन्छ?’ मैले आफ्नो भास्सिएको स्वर अलिकति उचालेर सोधेँ।

म त्यसै पनि व्याकुल थिएँ। शरीरभित्र पसिनाका करोडौं ग्रन्थीहरू एकैचोटि फुट्न लागेझैं चिटचिट भइरहेको थियो। मैले घाँटीमा खैरो स्कार्फ बेरेकी थिएँ। मलाई त्यो स्कार्फले सास घाँटीमै अड्केझैं भयो। मैले हातले स्कार्फ तानेर गाँठो खुकुलो पारेँ।

‘समय पहिलेजस्तो छैन। विज्ञानले धेरै तरक्की गरिसक्यो। अचेल यस्तोमा धेरै राम्रो उपचार हुन थालेको छ। मान्छेहरू लामो समय बाँच्न थालेका छन्,’ उनले अझै कुरा चपाए।

‘तपाईं के कुरा गर्दै हुनुहुन्छ डाक्टर? कुन उपचारको बारेमा भन्दै हुनुहुन्छ?’ मैले उस्तै व्यग्रतासाथ सोधेँ।

डा. घिमिरे एकछिन मौन रहे। उनी भित्रैदेखि आफ्नो शक्ति खिचेर मुखमा ल्याउँदै थिए, सायद।

‘मनीषा, तिमीलाई क्यान्सर भएको छ!’

‘क्यान्सर?’ मैले एक–एक अक्षर तौलँदै उच्चारण गरेँ। यस्तो लाग्यो, कोठाभित्र मेरो आवाज थर्किंदैछ।

‘मलाई कसरी क्यान्सर हुन सक्छ?’

मैले यो प्रश्न यस्तरी सोधेँ, मानौं यो रोग अरूलाई लाग्न सक्ला, मलाई कसरी लाग्न सक्छ? म स्वस्थ छु। पोसिलो खान्छु। आहारविहारमा ध्यान पुर्याउँछु। केही समयदेखि त माछामासु र जाँडरक्सी बारेको पनि छु। होइन, होइन। कहीँ कतै कसैबाट गल्ती भएको हुनसक्छ! यो मलाई लाग्ने खालको रोगै होइन!

मेरो मनको तर्कना भंग गर्दै डा. घिमिरेले उस्तै सुस्तरी भने, ‘पाठेघरको क्यान्सर, अन्तिम चरणको।’

उनको बोलीसँग मेरो कानले तालमेल मिलाउन सकिरहेको थिएन।

म भन्दै थिएँ, ‘त्यसो हो भने किन तपाईं यसलाई काटेर फाल्दिनुहुन्न?’

मैले धेरैचोटि यस्तै अवस्था फिल्ममा देखेकी थिएँ। फिल्ममा पाठेघर क्यान्सर हुँदा महिला शरीरको त्यो अंग सरक्क काटेर फालेको देखेकी थिएँ। मलाई वास्तविक जीवनमा पनि यो त्यत्तिकै सरल छ भन्ने लाग्दै थियो।

मेरी काकी स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ। केही समयअघि उहाँले पुटुक्क उठेको पेट हेर्दै भन्नुभएको थियो, ‘मनीषा, कतै तिमी गर्भवती त भएकी छैनौ?’

मैले उहाँलाई भनेकी थिएँ, ‘यो सम्भव छैन।’

त्यही गर्भ रहने पाठेघर मैले चटक्क चुँडालेर फाल्ने कुरा गर्दा डा. घिमिरेले प्रस्ट, तर पराजित शैलीमा भने, ‘कति काट्नु? कहाँसम्म काट्नु? क्यान्सर जताततै फैलिसक्यो।’

डा. घिमिरे त्यसपछि मलाई आगामी उपचार विधि बताउन थाले। संसारमै क्यान्सरको उत्कृष्ट उपचार हुने अमेरिका जान सल्लाह दिए। मेरो मस्तिष्कले भने उनका कुनै पनि कुरासँग तालमेल मिलाउन सकिरहेको थिएन।

त्यतिबेला उनले के–के भने, केही पनि सुनिनँ। त्यो क्षण पूरै कोठा फन्फनी रिंगिँदै थियो। मेरो पैतालामुनिको जमिन भासिँदै थियो। म शून्यमा घरि तैरिँदै थिएँ, घरि डुब्दै थिएँ।

त्यो एकदमै अनौठो क्षण थियो।

त्यसपछिको समय कसरी बिते, मलाई केही हेक्का छैन। म एकोहोरो भित्तातिर टोलाइरहेँ। मेरो परिवारका सदस्यहरू एक–एक गर्दै आउँथे। चुपचाप मेरो काँधमा हात राख्थे। र, चुपचाप हराउँथे। मानौं, सबैको आवाज हराएको छ। सबै निःशब्द भएका छन्। उनीहरू आफ्नो मायालु स्पर्शले खाली यति जताउन खोज्दै थिए, मनीषा तिमी एक्ली छैनौ, हामी तिम्रो साथ छौं।

त्यो मेरो जिन्दगीकै सबभन्दा लामो र एक्लो कहालीलाग्दो रात थियो।

भोलिपल्ट बिहान अघिल्लो दिन लाएको लुगाधरि नफेरी नर्भिक अस्पतालबाट घर फर्केकी त्यो मनीषा, अर्कै मनीषा थिई– अस्तव्यस्त र छिन्नभिन्न। मैले गाढा निलो रङको ट्रयाक र सेतो टिसर्ट लगाएकी थिएँ। मेरो पहिरन जतासुकै खुम्चिएका थिए।

म त्यो बेला बलिउड स्टार मनीषा कोइरालाजस्तो बिल्कुलै देखिएकी थिइनँ। तर, मलाई त्यसको कुनै वास्ता थिएन।

मैले आफ्ना आँखा हतार–हतार सनग्लासभित्र लुकाएँ। बिहानको तेजिलो घामको प्रकाश छेकियो। त्योभन्दा बढी संसारको आँखाबाट मेरो वास्तविकता लुक्यो।

बाटोभरि कोही बोलेनन्। खाली गाडीको घर्रघर्र आवाज आइरह्यो।

अनि, मेरो अन्तरआत्माको आवाज, जुन एकोहोरो भन्दै थियो– म मर्न चाहन्नँ।


‘मनीषा, तिमी मुम्बईमा घर किन।’

शाहरुख खान मलाई सधैं भन्ने गर्थे, ‘आफ्नै घर किनेर बस्यौ भने मात्र मुम्बई तिमीलाई आफ्नै जस्तो लाग्नेछ।’

सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ बाट बलिउडमा प्रवेश गरेपछि मैले संख्यात्मक रूपमा थोरै काम गरेँ हुँला। तर, तीमध्ये केही काम गुणात्मक रूपले उत्कृष्ट थिए।

१९४२– अ लव स्टोरी, अकेले हम अकेले तुम, बम्बे, अग्निसाक्षी, खामोशी– द म्युजिकल, गुप्त, दिल से, मन – यी यस्ता फिल्महरू हुन् जसले बक्स अफिसमा मात्र धूम मच्चाएनन्, मेरो अभिनयको पनि खुबै तारिफ भयो। आज पनि बलिउडका उत्कृष्ट फिल्मको नाम लिँदा यीमध्ये केही छुट्दैनन्।

माया नगरीमा स्थापित भइसक्दा पनि मैले मुम्बईमा घर किनेकी थिइनँ। शाहरुखको भाषामा भन्दा, मुम्बईले मलाई आफ्नो बनाइसकेको थियो, तर मैले नै मुम्बईलाई आफ्नो बनाएकी थिइनँ। मैले अपार्टमेन्ट भाडामा लिएकी थिएँ। मुम्बई आएदेखि म भाडाकै घरमा बस्दै आएकी थिएँ।

लामो फिल्म करिअरबाट मैले राम्रै पैसा जम्मा गरेकी थिएँ। के का लागि जम्मा गरेकी थिएँ, त्यो थाहा छैन।

शाहरुख भन्ने गर्थे, ‘मुम्बईमा आफ्नै घर किनेपछि बल्ल मलाई यहाँ जरो गाडेको अनुभूति हुनेछ। यायावरझैं एक ठाउँबाट अर्को ठाउँ भौंतारिने मान्छे होइन, एउटा स्थायी ठाउँमा स्थापित भएझैं लाग्नेछ।’

म उनको कुरा मुसुक्क हाँसेर टारिदिन्थेँ।

मलाई थाहा थियो, कुनै पनि घरमा त्यस्तो शक्ति छैन, जसले मलाई कुनै पनि ठाउँमा स्थायी रूपले बाँधेर राख्न सकोस्। म अन्तरआत्मादेखि नै यायावर प्रकृतिकै छु। मेरो यो स्वभाव म कसैगरी बदल्न सक्दिनँ।

शाहरुख आफैं पनि मुम्बईका होइनन्। करिअर पछ्याउँदै दिल्लीबाट आएका हुन्, जसरी म नेपालबाट आएँ।

गहिरिएर सोच्दा मलाई के लाग्छ भने, म कतै न कतै, कुनै न कुनै रूपमा जरो उखेलिएर यहाँ आइपुगेकी छु। म आफ्नो सामर्थ्यले भ्याएसम्म राम्रो काम गर्दै थिएँ। आफ्नो उत्कृष्ट कला पस्कँदै थिएँ। तर, लामो समयदेखि यहीँ रहँदाबस्दा पनि मलाई कहिल्यै मुम्बई आफ्नो लागेन। म यहीँको हुँ, यो विचार मेरो दिमागमा आउँदै आएन।

तै मैले शाहरुखको सुझाव मान्ने निधो गरेँ। सन् १९९९ मा मुम्बईमा घर किनेँ। मैले मुम्बईलाई आफ्नो घर बनाएँ।

मुम्बई सहर कहिल्यै सुत्दैन।

म पनि त जागै थिएँ। कोशौं कोश परसम्म निद्राको नामनिसान थिएन।

म आफ्नो पहिलो घर काठमाडौंमा रोग खुट्टिएपछि दोस्रो घर मुम्बई आएकी थिएँ। पीडाले मेरो मुटु दुखिरहेको थियो। मलाई डरले छपक्क छोपेको थियो।

त्यो बेला म र आमा दुई जना मात्र मुम्बई आएका थियौं। परिवारका अरू सदस्य भोलिपल्ट आउँदै थिए। हामी दुई जनाको निम्ति त्यो उडान एउटा विन्दुबाट अर्को विन्दुसम्मको यात्रा मात्र थिएन। अँध्यारोबाट हामी उडेका थियौं, उज्यालोको खोजीमा थियौं। उडानभरि मेरो ध्यान डा. सुरेश आड्वानीसँगको भेटमा केन्द्रित थियो। उनी भारतका एक उत्कृष्ट क्यान्सर विशेषज्ञ हुन्। मैले अघिल्लो दिनै उनीसँग फोनमा कुरा गरेर समय लिएकी थिएँ।

जहाजमा पनि म देख्थेँ, मान्छेहरू मैलाई हेरिरहेका छन्। कसैका आँखामा भय नाचेको छ त कसैकामा सहानुभूति उर्लिएको छ।

मेरो जिन्दगीको यो रहस्य यिनीहरूले कसरी चाल पाए?

म उनीहरूको सहानुभूतिपूर्ण हेराइले झनै तर्सिन्थेँ। छेउमा आमा हुनुहुन्थ्यो। भित्रभित्रै आँसु निलेर मुखमा मधुरो हाँसो छर्न खोज्दै हुनुहुन्थ्यो। सायद, उहाँलाई डर थियो म डराउँला कि भन्ने। उहाँलाई सुर्ता थियो, मैले सुर्ता लिउँला कि भन्ने। आमा न हो!

मलाई उहाँको खुबै माया लाग्यो। आमाको काखमा उसको बच्चाको मृत्यु– यो भावीको नियमित विधान त हुँदै होइन। कसरी सम्हाल्छन् होला ती आमाहरू आफूलाई? कसरी सम्हाल्नुहोला मेरी आमा आफूलाई?

म आफ्नो भय र तनाव हड्डीहरूमा समेत महशुस गर्दै थिएँ। लूला भएका थिए मेरा हातगोडा। मानौं, त्यहाँ हड्डीको भरै छैन।

म यो पनि चाहन्नथेँ, हाम्रो यो क्लेश कसैले देखोस्! म सार्वजनिक आँखाहरूबाट हाम्रो त्यो क्लान्ति लुकाउन चाहन्थेँ। मैले आमाको पहेँलिएको अनुहार हेरेँ। आकाशे–निलो बर्को ओढ्नुभएको थियो। मैले त्यही बर्को तानेर उहाँको मुख ढाकिदिएँ।

मैले त्यतिबेला ट्रयाकसुट लगाएकी थिएँ। आफ्नो पुट्ट फुलेको पेट ढाक्न ट्रयाक प्यान्ट कम्मरभन्दा मुनि सारेकी थिएँ। अरूले हेर्दा सायद म सामान्य थिएँ। बलिउड अभिनेत्री हुँ, पर्दामा जस्तै वास्तविक जीवनमा पनि शान्त र निश्चिन्त भएको अभिनय गर्दै थिएँ। पर्दापछाडिको यथार्थ भने फरक थियो। मेरो मन मेरै काबूमा थिएन।

मेरा हातगोडा लगलग काम्दै थिए। कतिखेर यो जहाज मुम्बई अवतरण गरोस्, र कतिखेर म मुम्बईको व्यस्त ट्राफिक छिचोलेर डा. आड्वानीलाई भेटुँ– मलाई खाली यत्ति ध्याउन्न थियो।

त्यस दिन डा. आड्वानी व्यस्त रहेछन्। उनले मलाई जसलोक अस्पतालमै साँझतिर भेट्न डाकेका थिए। पछिल्लो केही वर्षदेखि उनीसँग मेरो एक किसिमको सहकार्य छ। मैले क्यान्सरपीडित केही गरिब नेपाली बालबालिकालाई उनीकहाँ उपचार निम्ति पठाएकी छु। मैले पठाएका सबै बिरामीलाई उनले उत्तिकै स्नेहसाथ उपचार गरेका छन्।

अब तिनै डाक्टरलाई म बिरामीका रूपमा भेट्नेछु।

मैले आफ्नो टोपी तल तानेँ। ठूलो आकारको सनग्लासले आँखा मात्र होइन, आधै अनुहार ढाकियो।

मुम्बईको हावामा सास फेर्दा मलाई झट्ट दुइटा अनुभूति भयो– यहाँको तातोपन र समुद्री हावामा भरिएको नुनिलो बासना। मलाई याद छ, धेरै वर्षअघि १६ वर्षे स्कुलेकिशोरीका रूपमा पहिलोचोटि मुम्बई आउँदा पनि मैले यही अनुभव गरेकी थिएँ।

विमानस्थलबाट बाहिर निस्कँदा मलाई यस्तो लाग्दै थियो, मेरो मुटुमा कसैले जोड जोडसँग हथौडा बजार्दैछ। म पसिनाले लुछुप्पै भिजेकी थिएँ। त्यो गर्मीको पसिना होइन। मुम्बईको गर्मीले मलाई कहिल्यै त्यतिविधि अत्याएन। त्यो मभित्रको आत्मबल थियो सायद, जुन पसिनाको रूपमा बाहिर चिट्चिटाउँदैछ। आमा पनि उसैगरी थरथर काम्दै हुनुहुन्थ्यो। मैले उहाँको पाखुरा बलियो गरी समातेँ र कानमा फुस्फुसाएँ, ‘आफूलाई सम्हाल्नुस् आमा।’

म आमालाई सम्हाल्न खोज्दै थिएँ, मेरै स्वर भने लत्रेको थियो।

विमानस्थलबाहिर जसलोक अस्पतालको एम्बुलेन्स हामीलाई लिन आएको रहेछ। म एम्बलुेन्समा जान चाहिनँ। आफ्नै कारमा चढेँ। जिन्दगीले मलाई अपरिचित परिस्थितितर्फ धकेलिरहेका बेला म परिचित वातावरणको सन्निकटता खोज्दै थिएँ। त्यसले मलाई एक किसिमले सुरक्षाको प्रत्याभूति पनि दिन्थ्यो।

म आफ्नै कारको आरामदायी छालाको सिटमा पसारिएँ। टाउकोलाई फूलबुट्टे सिरानीमा अड्याएँ। र, लामो सास तानेँ।

हामी जसलोक अस्पताल जाँदै थियौं। जीउभरि तनावका काँडा उम्रेका थिए। मलाई डाक्टर भेट्ने हतार थियो। मुम्बईमा मान्छेहरू जति हतारमा हुन्छन्, ट्राफिक उति सुस्त चल्छ। यहाँको ट्राफिक नै सुस्त हो कि, मान्छेलाई बढी हतार भएको हो, मैले कहिल्यै बुझ्न सकिनँ।

हाम्रो गाडी व्यस्त सडकको बीचमा असंख्य निजी कार, ट्याक्सी, अटोरिक्सा, बस र ट्रकले घेरियो। उनीहरू सबै अधीर थिए।

म उनीहरूभन्दा अधीर।

छटपटी र तनावको संयोग निकै खराब हुँदो रहेछ। जीउभरि पसिनाका फोकाहरू एकैचोटि फुट्ने। यस्तो बेला त मान्छेसँग पनि पखेटा भइदिए हुन्थ्यो नि बरु!

मन चरा गतिमा जसलोक अस्पताल पुग्न चाहन्थ्यो, हामी भने चिप्लेकीराझैं घिस्रिरहेका थियौं।

विमानस्थलबाट जसलोक पुग्न हामीलाई ठ्याक्कै डेढ घन्टा लाग्यो। त्यो डेढ घन्टा मेरो निम्ति डेढ जुनी बराबर थियो।

डा. आड्वानीको जीवनकथाले मलाई सधैं प्रोत्साहित गर्छ। उनलाई आठ वर्षको उमेरमै पोलियो भयो। ह्विलचेयरमा हिँडडुल गर्छन्। उनको आत्मबल यति उँचो छ, आफूलाई कहिल्यै ह्विलचेयरसँग उनेर राखेनन्। कुनै बेला शारीरिक अपांगताकै कारण उनलाई मेडिकल कलेजले भर्ना लिन मानेको थिएन। उनले तै हार खाएनन्। विदेश गए। त्यहाँका उत्कृष्ट डाक्टरहरूको सानिध्यमा आफ्नो बौद्धिक कद बढाए। र, सन् सत्तरी दशकको प्रारम्भमा क्यान्सरलाई आफ्नो कार्यक्षेत्र बनाए, जुन त्यतिबेला डाक्टरहरूको विरल छनौटमा पर्थ्यो। पद्मभूषणले विभूषित यी डाक्टर भविष्यमा पनि यस्ता धेरै विभूषणबाट सम्मानित होऊन्– म ईश्वरसँग हृदयदेखि कामना गर्छु।

जसलोक पुग्नेबित्तिकै म कारबाट निस्केर कुद्दै डा. आड्वानीको क्याबिनमा पुगेँ। हामी समयभन्दा अगाडि नै आइपुगेछौं। मेरो छटपटी झन् बढ्यो। पेटभित्र अँध्यारो सुरुङ खनिएझैं म रित्तो महशुस गर्दै थिएँ।

करिब एक घन्टा डाक्टरलाई पर्खंदा आमा र म दुवै उनको क्याबिनमा मौन थियौं। मानौं, हाम्रो आवाज त्यही अँध्यारो सुरुङमा कतै अलप भएको छ।

साँझ छिप्पिँदै थियो। आकाशमा चन्द्रमा देखिएको थिएन। औंशीको रात होला, सायद।

परबाट ह्विलचेयरको चक्का घुमेको खर्रर आवाज मेरो कानमा ठोक्कियो। आँखा तन्काएँ। अस्पतालको लामो करिडोरमा पल्लो कुनाबाट डा. आड्वानी आउँदै गरेका देखिए।

उनको ओठमा मुस्कान छरिएको थियो। जसमा आत्मविश्वासको लहर दौडिएको म प्रस्टै देख्थेँ। मैले हतारहतार आफ्नो सारा रिपोर्ट उनीतिर तेर्स्याएँ। उनी रिपोर्टका पन्नाहरूमा मिहिन आँखा दौडाउन थाले। म उनको आँखाको भाव पढ्न आफ्नो आँखा दौडाउन थालेँ।

हामी साँझतिर अस्पताल छिरेका थियौं। अहिले रातको झन्डै ११ बज्दै थियो।

‘मनीषा, म केही थप परीक्षण गराउन चाहन्छु– पेट स्क्यान र सिटीस्क्यान पनि,’ डा. आड्वानीले तीखो नजरले मतिर हेर्दै भने, ‘तर, अहिले ढिला भइसक्यो। तपाईं घर जानू। भोलि बिहान खाली पेट आउनुहोला।’

ओहो, डा. आड्वानीले भोलि फेरि मेरो परीक्षण गर्नेछन्! उनले भन्दे हुन्थ्यो नि, काठमाडौंबाट ल्याएका यी सबै रिपोर्ट गलत हुन्! मलाई केही भएको छैन। सामान्य पेटको समस्या हो। कलेजोको संक्रमण। अब भोलि बिहानसम्म म कसरी कुरूँ!

आमालाई पनि सायद यही आस थियो।

मैले मुम्बईको घरमा दुइटा कुकुर पालेकी छु– बडी र स्पार्की। त्यो रात लामो समयपछि मलाई देख्नेबित्तिकै मेरा यी दुवै साथी पुच्छर हल्लाउँदै, उफ्रिँदै, लाडिँदै मछेउ आए।

त्यो दिन मैले थाहा पाएँ, कुकुरसँग छैठौं इन्द्रीय हुँदो रहेछ। म घरमा छिर्नेबित्तिकै बडी त छायाँ बनेर मेरो पछि लाग्यो। उसले एक सेकेन्ड पनि मलाई छाड्न मानेन। म जहाँ जान्थेँ, ऊ पछ्याउँदै आउँथ्यो। मेरो खुट्टामा लुपुक्क टाँसिएर बस्थ्यो। ऊ मलाई आफ्नो तेजिलो र रसिलो आँखाले हेरिरहन्थ्यो। सायद ऊ मलाई सान्त्वना दिँदै थियो।

के उसले मेरो मनभित्र चलेको हुन्डरी बुझेको थियो?

भोलिपल्ट डा. आड्वानीले मेरो परीक्षण र स्क्यानहरू फेरि गराए। सबै सकेपछि उनले मलाई करिडोरको पछिल्लो कुनामा रहेको कोठामा बसाले। त्यहाँ एकान्त थियो। मलाई एकान्तकै खाँचो थियो। म फेरि एकचोटि नतिजा पर्खिरहेकी थिएँ।

मेरो हालत त्यो परीक्षार्थीजस्तो थियो, जो एकचोटि फेल भएर फेरि अर्को परीक्षा दिँदैछ।

मेरो धैर्य गुम्दै थियो। छटपटी बढ्दै थियो। लाग्दै थियो, म आफैं कुदेर डाक्टरको क्याबिनमा जाउँ र सोधुँ, ‘डाक्टर, मेरो रिपोर्ट आएन?’

करिब २ बजे मैले करिडोरको पल्लो कुनाबाट ह्विलचेयरको खर्रर आवाज आफूतिर आइरहेको सुनेँ।

मैले आफूलाई थाम्नै सकिनँ। ढोकाबाट बाहिर हेरेँ। उनीतिर आशातीत नजर फिँजारेर उभिइरहेँ।

तर, यो के? उनको आँखा किन यति मलिन? उनको ओठको त्यो विश्वासिलो मृदु मुस्कान खोइ आज कता हरायो?

उनी कोठाभित्र आए। अरू डाक्टरहरू पनि जम्मा भए। म टुलुटुलु उनीहरू सबैलाई हेर्दै थिएँ। जवाफको प्रतीक्षामा।

‘मनीषा, रिपोर्ट सही रहेछ, तपाईंलाई क्यान्सर भएको छ,’ डा. आड्वानीले कुरा नचपाई सोझै भने, ‘अन्तिम चरणको, पाठेघर क्यान्सर।’

मेरो मुखबाट अनायासै लामो सुस्केरा निस्क्यो।

मैले मनमनै भनेँ, ‘म मर्न चाहन्नँ।’


जसलोक अस्पतालका डा. सुरेश आड्वानीले क्यान्सर पुष्टि गरेपछि हामीले आगामी उपचारबारे धेरै सरसल्लाह गर्यौं। डाक्टरसँग, परिवारसँग, इष्टमित्रसँग। सबैको रायमा क्यान्सरको उपचार निम्ति संसारमै कहलिएको अमेरिकाको न्यूयोर्क जाने निधो भयो।

म उस्तै छटपटी र व्यग्रतासाथ न्यूयोर्क पुगेँ।

डिसेम्बरको चिसोमा न्यूयोर्क पुग्दा मलाई थाहा छैन, न्यूयोर्कको तापक्रम बढी चिसो थियो कि मेरो मन।

रोगको पहिचान, उपचार र निदान– यी तीन चरणमा मैले मेरो पूरा जिन्दगी बाँचेँ। यो त्यही अवधि हो, जब मभित्रका धेरै उफानहरू शान्त भए। म स्थिर भएँ। दृढ भएँ। आत्मबल हलक्कै बढ्यो।

यो किताबमा मेरो जिन्दगीको त्यही कालखण्डको आद्योपान्त छ।

मनीषाको अर्थ हो, सरस्वती। मेरो यो किताब मभित्रको सरस्वती खोज्ने प्रयास हो।

सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी

(बलिउड अभिनेत्री मनीषा कोइरालाले लेखक नीलम कुमारसँगको सहकार्यमा लेखेको आत्मकथा ‘हिल्ड’ को अनूदित अंश। डिसेम्बर अन्त्यमा सार्वजनिक हुने यो किताब पेन्गुइनले प्रकाशन गरेको हो।)

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक