२०८१ भाद्र, २९
||NEWS LUMBINI |

‘मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई यौन व्यवसायी ठान्छन्’

काठमाडौं – पोखराकी शुसिला झण्डै १७ वर्ष अघि काकाकाकीको साथ लागेर काठमाडौं आउनुभयो । काठमाडौंमा उहाँलाई काम गर्नु थियो । तर काम के गर्ने ? दोधारमा पुर्नभएकी शुसिलालाई साथीभाइले दोहोरी साँझमा राम्रो कमाइ हुने बताए ।

उहाँलाई गाउँन नाच्न त आउँदैन थियो । त्यसैले सुरु वेटरको काम गर्न थाल्नुभयो । ‘चार पाँच वर्ष वेटरको काम गरें, ठिकै थियो, तर साथीभाइले भनेजस्तो नहुने, अनेक खालका मानिस, व्यवहार पनि उस्तै, ग्राहकले चुरोट र रक्सी खाएको बेला चाहिँ नरमाइलो लाग्थ्यो,’ शुसिलाले काम गर्दाका अनुभव सुनाउनुभयो ।

अरुको कामगर्दा गर्दै शुसिलाले आफैंले यो व्यवसाय थाल्नुभयो । आफ्नो व्यवसाय सुरु गरेपछि भने उहाँले ग्राहकबाट दुव्र्यवहार सहनु पर्‍र्यो । ‘मेरो साथीले प्लान बनाएर नै मलाई फसाएकोे रहेछ, उसले यौन दुव्र्यवहार गर्न खोज्यो तर मैले मर्छु भनेपछि उसले छाड्यो,’ शुसिलाले सुनाउनुभयो ।

शुसिला जस्तै स्याङ्जाकी सोफिया पनि डान्सबारमा काम गर्नुहुन्छ । उहाँले यो काम गर्न थालेको एक वर्ष भयो । सोफिया पनि साथीकै सल्लाहमा डान्सबारमा काम गर्न थाल्नुभएको हो । ‘साथीसँग एउटा पार्टीमा गएको थिएँ, त्यहाँ मेरो डान्स देखेपछि साथीले नै मलाई यो काम गर भनिन्, तर सबैले नराम्रो भन्छन्, नाचेपनि म नराम्रो गर्ने मान्छे हैन,’ सोफिया गुनासो गर्दै भन्नुहुन्छ, ‘कला बेच्दा पनि रात बिताउने प्रस्ताव गर्छन् ।’

शुसिला र सोफियालाई समाजले गर्ने व्यवहार उस्तै छन् । दुवैजनालाई काम सकेर राती घरपुग्दा घरबेटीदेखि छिकेकीले अनेकौ कुरा काट्छन । ‘डान्सबारमा नाच्ने केटी छिछि भन्छन्, घरबेटीले बस्न नदिएर चार ठाउँमा त कोठा सरिसके,’ सोफियाले समस्या सुनाउनुभयो ।

शुसिला र सोफिया त उदाहरण पात्र मात्र हुन् । शक्ति समुहले सन् २००८ मा गरेको अध्ययन अनुसार काठमाडौंमा मात्रै ६० हजार जनाले उनीहरुले जस्तै काम गरेर जीविकोपार्जन गरिरहेका छन् । गएको १० वर्षमा यो संख्या बढेको छ । तर यकिन तथ्याङ्क छैन् ।

मनोरञ्जन तथा सत्कार सेवाका श्रमिक माझ न्यायमा पहुँच तथा श्रम अवस्थाको बारेमा स्वतन्त्रता अभियान नेपाल, महिलाका लागि महिला मञ्च, विश्वास नेपाल लगायत ६ वटा संस्थाको सहकार्यमा काठमाडौंमा गरिएको अध्ययनले मनोरञ्जन तथा सत्कार सेवामा काम गर्ने कामदारले दुव्र्यवहारमा पर्दा पनि उजुरी नगर्ने गरेको देखाएको छ ।

अध्ययन अनुसार ४ प्रतिशतले मात्रै समस्यामा पर्दा प्रहरीमा उजुरी गर्ने गरेको देखाएको हो । काठमाडौंमा यो क्षेत्रमा काम गर्ने ५ सय ४ जनामाथि गरिएको यस अध्ययन अनुसार ५० प्रतिशतले साथीभाइले यो काममा लगाएको देखाएको छ भने केहीले विभिन्न संघसंस्थामा उजुरी गर्ने गरेका छन् ।

तर धेरैजसो कामदार भोली राम्रो हुने आशमा मौन बस्ने गरेको अध्ययनमा संलग्न स्वतन्त्रता अभियानकी ऋतु भट्ट राईले बताउनुभयो ।
बाल विवाह गर्नेको संख्या धेरै

यो क्षेत्रमा रहेका श्रमिक मध्ये धेरैले बाल बिवाह गरेको गरेको अध्ययनले देखाएको छ । १६० जना विवाहित श्रमिक मध्ये ९५ जनाले २० वर्षभन्दा कम उमेर मै विवाह गरेको अध्ययनमा उल्लेख छ ।

विवाहित श्रमिक मध्ये ६ प्रतिशत महिलाले र ३७ प्रतिशत पुरुषले २० वर्ष भन्दा कम उमेरमा नै विवाह गरेका छन् । २७ प्रतिशतले बाल श्रमको प्रयोग गरेको बताएका छन् । यो क्षेत्रमा २८ प्रतिशत श्रमिक १८ वर्षभन्दा कम उमेरमा यो पेशामा संलग्न भएको अध्धयनमा उल्लेख छ ।
घरदेखि कार्यस्थलसम्म दुर्व्यवहार

यो क्षेत्रमा काम गर्ने श्रमिकले घरदेखि कार्यस्थलसम्म दुव्र्यवहार खेपिरहेका छन् । रातिसम्म काम गर्नु पर्ने र घर फर्किदा बाटोमा महिला श्रमिकहरु यातायत चालकबाट पनि यौन हिंसा र दुर्व्यवहारमा परेको अध्ययनले देखाएको छ ।

अध्ययनमा सहभागी ८४ प्रतिशतले साप्ताहिक बिदा लगायतका कुनै सुविधा नपाएको अध्ययनले देखाएको छ । ४१ प्रतिशत श्रमिकले रोजगारदाताको दवाव र त्रासमा काम गरेको, १७.४ प्रतिशतले बधुवाको रुपमा, १९ प्रतिशतले बिना ज्याला, ५ प्रतिशतले गाह्रकलाई यौन सुविधा प्रदान गर्नु परेको अध्ययनले देखाएको छ । सहभागी मध्ये ६० प्रतिशतले इच्छा विपरित जबर्जस्ती काममा लगाएको बताएका छन् ।

कार्यस्थलमा भनेको भन्दा फरक काम लगाउने, ससाना गल्तीमा पनि तलव काट्ने, शारीरिक बल प्रयोग गरेर काममा लगाएको अध्ययनमा उल्लेख छ । यस अध्ययनले ९५ प्रतिशत श्रमिकले नियुक्ति पत्र बिना नै काम गरेको देखाएको छ । परिचयपत्र, नागरकता जस्ता अत्यावश्यक कागज नहुँदा उनीहरुलाई रातीको समयमा हिँड्न समेत अप्ठेरो भएको बताएका छन् ।

यो क्षेत्रमा काम गर्ने कामदारको न्युनतम परिश्रमिक नतोकिएकाले उनीहरुले थोरै तलव पाउने र हिंसा धेरै भोगेको अध्ययनमा उल्लेख छ । समस्या र अप्ठेरा हुँदाहुँदै पनि मनोरञ्जन व्यवसायलाई उपयुक्त ढङ्गले नियमन र अनुगमन गरी व्यवस्थित गर्न सके यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा युर्‍याउने अभियानकी ऋतु भट्ट राईले बताउनुभयो ।

मनोरञ्जन क्षेत्र यौन व्यवसाय भन्दा फरक भएको भन्दै उहाँले सरकारले यो क्षेत्रलाई नियमन गर्न प्रभावकारी नियम ल्याउनु पर्ने र समाजले नै यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो ।

श्रम विभागका निर्देशक बरुण झाले यो व्यसायलाई मर्यादित बनाउन र श्रमिकको हितका लागि जे गर्न पनि तत्पर रहेको बताउदै टोली बनाएर रातको समयमा यो क्षेत्रमा नियमित निरीक्षण गर्ने प्रतिवद्धता गर्नुभयो ।

(परिचय गोप्य राख्न नाम परिवर्तन गरिएको छ । )
-उज्यालो अनलाइन

Facebook Comments Box

फेसबुक