लामो कपाल । ग्ल्यामरस ड्रेस । धरैको नजरमा महिला हो भन्ने पर्छ । तर महिलाजस्तो देखिनका लागि उनले गर्नुपर्ने दुःख बेग्लै छ । शारीरिक बनावट पुरुषको भए पनि उनको इच्छा चाहाना सबै महिलासँग मिल्ने खालको छ । पिङ्की गुरुङ । यो उनको चलनचल्तीको नाम हो तर नागरिकतामा उनको नाम छ– सञ्जीव गुरुङ । अर्थात समाजमा अरू सामान्य नागरिकले जसरी जीवन जिएका छन्, उनले त्यस्तो पाएकी छैनन् ।
विश्वमा धेरै युवा सफल हुनुमा परिवार, आफन्त, साथी, जीवनसाथी सबैको प्रत्यक्ष सहयोग चाहिन्छ तर उनलाई भने यति धेरै साथ मिलेको छैन । तर पनि उनी आज एक उदाहरणीय पात्रको रूपमा दरिएकी छिन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसमा उनै सञ्जीव उर्फ पिङ्कीको सङ्घर्ष र सफलताको कथा राख्दै छौँ ।
समलिङ्गी तथा तेस्रो लिङ्गीको अधिकारका लागि सङ्घर्षरत पिङ्की नीलहीरा समाजकी अध्यक्ष हुन् । ठूलो सफलता हात पार्न नसके पनि उनी समलिङ्गी र तेस्रो लिङ्गीहरूका लागि नायक हुन् । हिजो गल्ली, चोक र दोबाटोमा कुरा काट्नेहरू आज उनीबाट नै धेरै सिक्दैछन् । समलिङ्गी र तेस्रोलिङ्गीहरूलााई हेयको दृष्टिले हेर्नेहरूको धारणा परिवर्तन गराउन तल्लीन छिन् ।
२०३५ सालमा लमजुङमा जन्मिए पनि पिङ्कीको बाल्यकाल काठमाडौँमै बित्यो । स्कुल कलेजको यही अध्ययन गरिन् तर तत्कालीन साँघुरो समाजमा उनलाई अघि बढ्न पाइला पाइलामा अवरोध थिए । यद्यपि चुनौतीसँग जुध्दै उनको सङ्घर्षको यात्रा कहिल्यै रोकिएन । त्यसैले त हिजो घृणाको पात्र बनेकी पिङ्की आज देशभरको समलिङ्गी तथा तेस्रोलिङ्गी समुदायको पक्षमा लड्न सक्ने भएकी छिन् ।
हिजो घरबाट आफ्नो चाहाना अनुसारको कपडा लगाएर बाहिर निस्कन नसक्ने पिङ्की अहिले आनन्दसँग समलिङ्गी– तेस्रो लिङ्गीको विषयमा कुरा गर्न सक्छिन् । भन्छिन्, ‘मलाई यो अवस्थासम्म आउनका लागि धेरै समय लाग्यो । सफलता प्राप्त गर्ने मान्छेले धेरै कुरा भोग्नुपर्ने रैछ । अहिले म परिवारको विश्वासिलो पात्र भएको छु । ३ वर्षअघि मेरो बाबा क्यान्सरको कारणले बित्नुभयो । मर्नुभन्दा पहिला बाबाले मलाई आफ्नो मृत्यु संस्कारमा आएका आफन्तहरूलाई राम्रोसँग खानपिनको व्यवस्था गर्नु तेरो नै भरलाग्छ भन्नुभएको थियो ।’ ‘मेरो परिवारलाई मैले गर्ने कामको विश्वास लाग्छ, त्यसैले बुबाले यस्तो भन्नु हुनसक्छ’, उनले अड्कल काटिन् ।
शारीरिक बनावट पुरुषको भए पनि साथी सर्कल महिला नै हुन्छन् । बिहान ९ बजे बसुन्धारास्थित घरबाट निस्कने पिङ्की बेलुका घरपुग्दा छिटोमा ९ बज्छ । नत्र कहिलेकाहीँ १२ पनि बज्छ । उनलाई दिनरात आफूजस्तै लैङ्गिक अवस्था भएकाहरूलाई सघाउनु छ र त दिन रात भन्न पाउँदिनन् ।
पिङ्की बन्न गर्नुपरेको सङ्घर्ष
सञ्जीव गुरुङलाई पिङ्की गुरुङ बन्न निकै सङ्घर्ष गर्नुपर्यो । शारीरिक बनावट पुरुषको भए पनि उनलाई म महिला हो भन्ने भान हुन्थ्यो । बाल्यकालमा छोरीको जस्तो व्यवहार देखाउँदा सामान्य ठानिए पनि उमेर परिवर्तनसँगै उनको क्रियाकलाप महिलासँग मिल्न थाल्यो । यो कुरालाई सबैले शङ्काको दृष्टिले हेर्न थाले ।
महिलाको आवाजमा गीत गाउने, ड्रेस पनि महिलाकै लगाउने, युवा अवस्थामा विपरीतलिङ्गप्रति आकर्षण बढ्नु पर्नेमा पुरुषप्रति नै आकर्षित हुन थालिन गुरुङ । यसरी एक पुरुष भनिएका व्यक्तिले महिलाको चरित्र देखाउन थालेपछि विद्यालयमा उनी आफ्नो साथीबाट पटक पटक तिरष्कृत भइन् ।
तिरष्कारको कुरा गर्दा यस्तै बाटोमा हिँड्दा महिलाको स्वरमा गीत गाउँदा गाउँकै मानन्धर थरका व्यक्तिले उनको घाटी निचोरेको पीडा अहिलेसम्म पनि पिङ्कीले भुल्न सकेकी छैनन् । उनी भन्छिन्, ‘‘उनीसँग अर्काे साथी नभएको भए मलाई मार्थे होलान् ।’
हुन त यस्ता तिरष्कारका र अपहेलनाका सूची उनीसँग लामै छ । तर उनलाई विगतमा अल्झिनुभन्दा पनि भविष्य बनाउने चिन्ता छ ।
अनि बाटो मोडियो
बाल्यकालदेखि नै सङ्गीतमा रुचि भएका कारण एसएलसीपछि उनी आरआर कलेजमा भर्ना भइन् । आईएमा सङ्गीत विषयमा भर्ना भएकी उनी घरबाट निस्कँदा पुरुषको कपडा लगाउँथिन् भने बीच बाटोबाट भने महिलाको कपडा लगाएर क्याम्पस पुग्थिन् । क्याम्पसपछि दिनभर आफूजस्तै साथीहरूसँग भेटघाट गर्थिन् । सधैँ बीच बाटोमै कपडा परिवर्तन गर्न उनलाई सम्भव भएन । त्यसपछि उनले घरबाट नै महिलाको कपडा लगाएर निस्कने निधो गरिन् ।
उनको पहिलो सफलता भनेको त्यही थियो । सुरुमा कपाल पालिन् । बिस्तारै महिलाले सर्टपेन्ट लगाइन्, शारीरिक परिवर्तनका लागि हर्माेनको प्रयोग गरिन् । अनि ग्ल्यामर ड्रेसमा घरबाट निस्कन थालिन् । परिवारलाई उनको बारेमा जानकारी भएकै कारण खासै रोकतोक भएन । तर हिजोसम्म पुरुष व्यक्ति एकाएक महिलाको रूपमा निस्कँदा समाजले आश्चार्य मान्न थाल्यो । त्यति मात्रै होइन, उनी हिँड्ने गल्लीगल्ली, चोकचोकमा कुरा काट्न थाले तर उनले कुनै मतलब गरिनन् ।
कलेज पढ्दै गर्दा उनले आफूजस्तै धेरै साथी भेटिन् । उस्तै साथीहरूबीच रत्नपार्कमा १ बजेपछि भेट हुन थाल्यो । जुन बेलामा समलिङ्गी— तेस्रोलिङ्गीको पक्षमा बोल्ने कुनै पनि आधिकारिक निकाय थिएनन् ।
सन् २००१ मा नेपालमा नीलहीरा समाजको स्थापना गरियो । समलिङ्गी — तेस्रोलिङ्गीको हकहितमा काम गर्ने उद्देश्यले उनी पनि समाजमा लागिन् । सन् २००१ मा स्थापना हुँदा ६ सदस्य थिए ।
सोही संस्थामार्फत उनले समलिङ्गी — तेस्रोलिङ्गीको हक अधिकारको बारेमा आवाज उठाउँदै आइन् । सँगै आफ्ना साथीहरूलाई संस्थामा आबद्ध गराउन थालिन् । लुकेर बसेको उनको समुदायको आवाज बाहिर ल्याउने केही नाम चलेका समलिङ्गी — तेस्रोलिङ्गीसँग पिङ्कीको नाम पनि जोडिन थाल्यो । काठमाडौँकी पिङ्की देशभरको समलिङ्गी — तेस्रोलिङ्गीको हकहितमा काम गर्न थालिन् ।
उनीहरूको सक्रियताले समलिङ्गी — तेस्रोलिङ्गीले पनि इच्छाअनुसार नागरिकता पाउनुपर्ने कुरा कानुनमा नै उल्लेख गरियो । यो नेपालको समलिङ्गी — तेस्रोलिङ्गीको ठूलो उपलब्धि थियो । तर कार्यान्वयन भने अझैसम्म झन्झटिलो नै छ । अहिलेसम्म ९ लाख समलिङ्गी — तेस्रोलिङ्गी रहेको अनुमान छ भने २ सय २० जतिले मात्रै नागरिकता प्राप्त गरेका छन् । नीलहीरा समाजको अहिलेसम्म ४० जिल्लामा शाखा रहेको छ । समलिङ्गी — तेस्रोलिङ्गी समुदायलाई यौन रोग र एचआईभी एड्स रोगेको बारेमा सुसूचित गराउँदै आइरहेकी छिन् ।
नीलहीरा समाजमा ६ लाख आबद्ध रहेका छन् । समलिङ्गी — तेस्रोलिङ्गीको हितमा काम गरेकै कारण आज उनी देशभरका समलिङ्गी — तेस्रोलिङ्गीको नेतृत्व गरिरहेकी छिन् । उनले नीलहीरा समाजको अध्यक्षको जिम्मेवारी सम्हालेको ९ वर्ष भयो ।
राजनीतिमा पिङ्की
नीलहीरा समाजको अध्यक्षको जिम्मेवारीसँगै उनी राजनीतिमा पनि सक्रिय छिन् । पिङ्की नयाँ शक्तिपार्टीमा जोडिएकी छिन् । ‘डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ३.५ प्रतिशत बजेट विनियोजन गरिएको थियो । डाक्टर भट्टराईको पालामा समलिङ्गी — तेस्रोलिङ्गीको केही कुरा सम्बोधन भएको थियो । यो कामले गर्दा पिङ्की नयाँ शक्तिमा लागेकी हुन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट समानुपातिकमा नाम दर्ता गरिन् । पर्याप्त मत भने आउन सकेन । यद्यपि त्यो समयदेखि पिङ्कीलाई राजनीतिक दलको नेताका रूपमा पनि धेरैले चिन्न थालेका छन् । आखिर उनी किन राजनीतिमा पनि लागिन् त ? उनी भन्छिन्, ‘राजनीतिमा हुँदा आफूहरूको माग सम्बोधन गर्न केही सहज हुने रहेछ ।’
नयाँ शक्ति पार्टीको सचिवालय सदस्य र महाधिवेशन आयोजन समितिमा रहेकी उनी व्यक्तिगत फाइदाका लागि भन्दा पनि सम्पूर्ण समलिङ्गी — तेस्रोलिङ्गीको हितका लागि सक्रिय हुँदै भइरहेको बताउँछिन् । जुनसुकै चुनौतीलाई पनि सकारात्मक रूपमा लिने उनी त्यसैलाई आफ्नो सफलताको मुख्य कारक मान्छिन् । भन्छिन्, ‘नकारात्मक कुरा गर्ने मान्छेसँग झनै नकारात्मक कुरा गर्नुभन्दा राम्रो कुरा गर्नुपर्छ ।’
समलिङ्गी — तेस्रोलिङ्गी भनेपछि पार्टीभित्रका व्यक्तिहरूले पनि नकारात्मक दृष्टिले हेर्ने गरेको अनुभव उनले सुनाइन् । ‘राजनीतिक पार्टीका लागेको व्यक्तिले पनि हामीलाई यौन व्यवसाय लाग्ने व्यक्ति ठान्दा रहेछन्, निशङ्कोच प्रस्ताव राख्छन् । यस्तो अवस्थामा नमज्जा लाग्छ’, उनी भन्छिन्, ‘अझै पनि जान्ने बुझ्ने व्यक्तिले नै हाम्रो कुरा बुझ्न सकेका छैनन् ।’
समलिङ्गी — तेस्रोलिङ्गीको अधिकारकै लागि दौडिरहेकी उनको यसैगरी निरन्तर सक्रिय रहिरने योजना छ ।
-रातोपाटीबाट साभार गरिएको हो