२०८१ जेष्ठ, ११
||NEWS LUMBINI |

योगेशको राजनीतिक यात्रा : ताप्लेजुङदेखि सिंहदरबारसम्म

एकजना मन्‍त्री थपिनु खासै ठूलो विषय होइन। पछिल्लो समय त एक दुईजना मन्‍त्री बनेका वा फेरिएका समाचारले मिडियामा खासै ठाउँ पाउन छोडेको थियो। तर योगेश मन्‍त्री बन्दा बुधबार फरक अवस्था देखियो। सामाजिक स‌ंजाल तत्कालै तर‌ंगित भयो। 

बधाई तथा शुभकामनाको वर्षा भयो। न्यूजपोर्टलहरुमा हेडलाइन बन्यो। कहिलेकाँही पात्रले पनि पदको गरिमा बढाउँछ। योगेशको हकमा त्यही भएको छ। यसले योगेशप्रतिको आम अपेक्षा र विश्वास कति छ भन्‍ने संकेत दिएको छ।

योगेश नेकपाका युवा नेता हुन्। उनको परिचय यत्तिले मात्र पुग्दैन। पार्टीभित्र आशलाग्दा थोरै युवा नेतामध्येमा पर्छन् योगेश। शालिन व्यक्तित्व अनि प्रखर प्रस्तुतीका कारण उनी कार्यकर्ता पंक्तिमा लोकप्रिय छन्  र पार्टीबाहिर  पनि उनको छवि राम्रो छ।

राष्ट्रिय हित र जनचासोका मामिलामा उनको अडान सधै अटल हुन्छ। कहिलेकाँही पार्टी लाइनलाई पनि क्रस गरेर  जनता र मुलुकका पक्षमा स्पष्ट बोल्ने नेतामा पर्छन् योगेश।

योगेश भट्टराईका लागि मन्‍त्री पद खासै ठूलो सपना होइन र थिएन पनि। उनीभन्दा जुनियर अर्थात अरु कति कमजोर पात्र मन्‍त्री भइसकेका छन्। त्यसका लागि उनले कहिल्यै दोडधूप गरेनन्।

चर्चित पत्र तर पहिलो पटक मन्त्री बनेका योगेश २०२३ भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिएका हुन्। उनले साँघुकै नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सके।

यसपछि उनी माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी माविमा भर्ना भए। पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक भएको अनेरास्ववियु हामहडतालमा उनले सक्रिय भूमिकामा थिए। राजनीतिमा उनको पहिलो कदम यही थियो। 

त्यसपछि राजनीतिबाट योगेशको कदम कहिल्यै पछाडी हटेन। २०४० सालमा एसएलसीपछि उच्च शिक्षाका लागि उनी राजधानी आए।  ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए।

२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा योगेश उपसभापति र २०४३ सालमा सभापति पदमा विजयी विजयी भए। त्यसपछि पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले कयौंपटक जेलनेल र यातना समेत व्यहोरे।

२०४६ सालको जनआन्दोलनमा पनि योगेश सक्रिय रूपमा सहभागी भए। त्यही वर्षदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा समावेश भएका उनी संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष पनि भए। त्यो बेला उनले काठमाडौं उपत्यकामा भएका विभिन्न सडक संघर्षहरूको नेतृत्व समेत गरे।

२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व समेत योगेशले गरे। उनले २०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे।

२०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याएर योगेश पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए।

अन्ततस् योगेश ताप्लेजुङ नै फर्किए। प्रतिनिधिसभा निर्वाचनमा उनले ताप्लेजुङबाट सानदार मत प्राप्त गरेर विजयी भए। आफ्ना प्रतिद्वन्दीलाई उनले १४ हजार मतान्तरले पछाडी पर्न सफल भए।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका बेला योगेशले २९ हजार ४ सय ७९ मत पाए।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक