२०८० असोज, १७
||NEWS LUMBINI |

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप

फरार अभियुक्तले बदनाम गर्न खोज्यो : राजदूतावास

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झूटा आरोप लगाएर बदनाम गर्न खोजेकोमा नेपाली राजदूतावासले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झूटा आरोप लगाएर बदनाम गर्न खोजेको जनाएको छ।

सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेका वाङ्छु शेर्पाले  नेपालबाट प्रशारण हुने एक टेलिभिजनमार्फत् राजदूत र उनका परिवारलाई मानव ओसार पसारमा संलग्न रहेको आरोप लगाएका थिए।

राजदूतावासमा कार्यरत वाङ्छु सामान चोरेर भागेपछि नेपाल सरकार र परराष्ट्र अनि अस्ट्रेलियाको सम्बन्धित निकायमा पनि धेरै पहिले अवगत गराएपछि उनको खोजी कार्य भैरहेको  नेपाली राजदूतावासले जनाएको छ।

निज वाङ्छुले सिंगापुरमा पनि केही व्यक्तिलाई ठगी गरेको र नेपालमै पनि लेनदेनमा बदमासी गरेको आरोप लागेको थियो।

हाल अस्ट्रेलियामै रहेका वाङ्छुले अदालती प्रकृयालाई नै प्रभावित गर्नेगरी र राजदूत अनि उनको परिवारको छवि घमिल्याउने उद्धेश्यले भ्रामक र कपोकल्पित बयान सार्वजनिक गरेकोमा दूतावासले सर्वसाधारण नेपालीलाई भ्रममा नपर्न आह्वान गरेको छ।

नेपालमा न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा वाङ्छुले भिडियो कलमार्फत् राजदूतले गलत नियतले काम गरिरहेको र आफू त्यसको शिकार भएको भन्दै आफ्ना एकतर्फी कुरा राखेका थिए।

‘एउटा फटाहा बदमासले भन्दैमा कुनै कुरामा पनि सत्य हुँदैन। आफैं फरार अभियुक्तका रूपमा लुकीलुकी हिँड्नेले लगाएको आरोपमा कुनै सत्यता छैन,’राजदूत शेर्पाले भनिन्, ‘हामीले नेपाल सरकार र अस्ट्रेलियन प्रहरीलाई समेत फरार अभियुक्तका बारेमा विस्तृतरूपमा सम्पूर्ण विवरण पठाइसकेका छौं।

राजदूतावासले धेरै अघिनै यसको बदमासीबारे जानकारी गराएर कारबाहीको लागि पत्राचार गरिसकेको छ।

-सेतोपाटीबाट साभार गरिएको हो
Facebook Comments Box

फेसबुक