नायक नाजीर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि देशभर रिलिज हुने भएको छ । आगामी पुष २१ गते यो फिल्म नेपाली सहितको मैथिली भाषामा देशभर प्रदर्शन हुन लागेको निर्माता रमेश एमके पौडेलले बताएका छन् ।
मिथिला क्षेत्रमा बोलिने क्षेत्रीय भाषामा पहिलो पटक फिल्म प्रदर्शन हुन लागेको फिल्मको मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिन मिल्ने गरि २० लाख रुपैयाँमा सम्झौता गरिसकेको छ । पत्रमा भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच सहमति भएको छ ।
निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली फिल्मको पहुँच वृद्धि गराउनका लागि यस्तो कदम लिएको बताएका छन् ।यम थापाको निर्देशनमा तयार भएको चलचित्र ‘राज्जा रानी’मा नाजिर हुसेन र केकी अधिकारीको साथै कामेश्वर चौरासिया, दीपक क्षेत्री, सिपी पौडेल, अरुण रेग्मी, संगिता नापित लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । एमके पौडेलको निर्माणमा तयार भएको यस चलचित्रको कथा निर्देशक थापा आफैले नै लेखेका हुन् भने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।