के.वि.मसाल-पाल्पा र स्याङजा जिल्लाको सिमामा रहेको कालीगण्डकी किनारको रानी महल अहिले पाल्पा जिल्लाको लागि पर्यटनको गन्तब्य बनेको छ । तानसेनबाट भुसलडाडा, बराङदी हुदै पैदल ३ घण्टा र मोटरवाट १ घण्टामा पुग्न सकिने रानी दरवार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवा युवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन । रानी दरवारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विस्वास गर्दछन ।
रानीमहल वि.सं.१९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । रानी महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानी महल कालीगण्डकी नदीको विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा निर्माण भएको छ । रानी महल दरबारको बायाँतर्फ शीतलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङगाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ । दरवार परिसरमा बायाँतर्फ शिव र गङगाका दुई मन्दिर छन् । महलको पूर्व तिर खडग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र बिचको तलामा अरु कोठाहरु रहेका छन् । रानी महल वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखिन्छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङगा र ईटाबाट बनाइएका सिढी कालीगण्डकी नदी किनारमा जोडिएको छ ।
रानी महलको चारतले भवन ५६ फिट चौडाई र ११२ फिट उचाई रहेको छ । महल वरपर हराभरा वनको वातावरणले रानी महल पुग्ने पर्यटकहरुको मनमा साँच्चिकै आनन्द दिन्छ । रानी महल निर्माण गर्दा जनताले ईटा बनाउने, पर्खाल लगाउने, जगंलबाट काठ ओसार्ने रं ढुङगा काटने अर्थात कुदने काम श्रमदानबाट गरेका थिए । चुन, सुर्खी, ईटाको धुलो आदि विशेष सामग्रीबाट बनाइएको ईटा र सालको काठबाट रानी महल निर्माण भएको थियो । वि.स १८९२ मा श्रीमतीको अचानक मृत्यु भएको एक वर्षपछि खडग शमशेरले दरबार निर्माण गरेका हुन् । दरबार निर्माण गर्न भारत तथा विदेशबाट दक्ष कालिगड ल्याइएको थियो । विशेष वास्तुकलाको प्रयोग गरी निर्माण गरिएकोले रानी महल अहिलेपनि उत्तिकै बलियो र मनमोहक छ । ईटामा खडग शमशेर लेखिएको छ ।
प्रेम–प्रतीकको रुपमा भारतको आग्रास्थित ताजमहल आज संसारमा चर्चित छ । मुगल सम्राट शाहजाँका धेरै श्रीमती थिए । श्रीमतीहरुमध्ये तेस्रो मुमताज महललाई उनी अत्यन्त माया गर्दथे । उनको स्मृतिमा सम्राटले ताज महल बनाएका हुन् । इस्वी संवत् १६३२ मा सुरु भएको ताज महल निर्माण १६४८ मा पूरा भएको थियो । ताज महललाई भारतको इस्लामी वास्तुकला इतिहासमा सबैभन्दा उत्तम उपलव्धि मानिएको छ । ताज महल बनाउन हजारौं कालिगड तथा चित्रकारले निकै वर्षको समय र आफ्नो बेजोड कलालाई प्रयोग गरेका थिए । भारतको आग्रास्थित ताज महलका संस्थापक मुस्लिम सम्राट जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेम कहानी पनि पछिसम्म अमर रहोस् भनि जनरल खडग शमशेर राणाले रानी महल निर्माण गराएका थिए । यसको वुर्जामा रानी तेजकुमारी शरणम् भनि लेखिएको शिलालेख छ ।
विश्वासघातको सजायँ वापत खडग शमशेरलाई पाल्पा गौडा अन्तर्गतको अर्घाखाँचीको ठाडा निकाला गरिए । १९४५ मा विर शमशेरले उनलाई पाल्पाको पश्चिम कमाण्डिङ जर्नेल (मुख्य प्रशासक) र भैरहवा, तौलिहवा, बाग्लुङ र पर्वत सम्मको अख्तियारी पद समेत दिएका थिए । १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा संस्कार गरियो । खडग शमशेरले संस्कार स्थललाई रानीघाट नाम राखी रानी महलको शिलान्यास गरे र रानीघाट पुग्न तानसेनबाट घोडेटो बाटो समेत बनाए । रानी तेजकुमारी रुपवती र सुशिल भएकाले खडगको उनीप्रति अतिशय प्रेमभाव थियो । रानी दरवार पश्चिमेली कला र कौशलको उत्कृष्ट नमूनाबाट निर्माण गरिएको थियो । रानी महलमा खडक शमशेरले महत्वपूर्ण साजसज्जा र फर्निचरले कोठा सजाएका थिए । महल तयार भएपछि कहिले कहि रानीको संझनामा खडक शमसेर भावविह्वल हुदै रानी दरवारमा रात विताउने गर्दथिए ।
तानसेनबाट १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ । रानी तेजकुमारीले भारतमा रहेको ताजमहलजस्तै नेपालमा पनि एउटा महल बनाउने इच्छा व्यक्त गरेपछि खडग शमशेरले रानी महल बनाएका थिए । रानीको सम्झनामा बनाइएकाले यो महललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । सुरुमा यो महलको नाम ‘तेजमहल’ राखिएको थियो । पछि यसलाई रानीमहल भन्न थालिएको हो । अहिले प्रदेश नम्वर पाचँ तानसेन नगरपालिका–१३ रहेको यो महललाई नेपालको ताजमहल भन्ने गरिन्छ । महलको छेउबाट कालीगण्डकी बगेको छ । रानी महलमा कालीगण्डकी उत्तरतर्फ बगेको छ । नदी उत्तरतर्फ बगेको विश्वमा कमै सुन्न र देख्न पाइन्छ । रानी महल पुगेका पर्यटक उत्तरतर्फ बगेको कालीगण्डकी देखेर अचम्म मान्ने गर्छन् । कालीगण्डकी धेरै ठाउमा नागबेली हुँदै बगेको छ । जुन हेरिरहौँ जस्तो लाग्छ । महलतर्फको क्षेत्र पाल्पा जिल्ला पर्दछ भने नदीपारि स्याङजा जिल्ला पर्दछ । रानी महलपारिको सटुका गाउँ उस्तै लोभलाग्दो देखिन्छ । रानी महल पुगेका पर्यटकहरुलाई सटुका गाउँ देखेर एकरात बिताउन त्यतै जाउँजाउँ बनाउँछ ।
आज भन्दा एक सय २० वर्षअघि बनाइएको ऐतिहासिक महल आजभोली पर्यटकको गन्तब्य बनेको छ । पछिल्लो समय रानी महल ‘लभर्स प्वाइन्ट’का रुपमा परिणत भएको छ । त्यस्तै खडग शमशेरद्वारा निर्मित तानसेनको शीतलपाटीको इतिहास पनि एक सय २० वर्ष भइसकेको छ । उनले हावा खान र सैनिक जमघट गर्न तानसेनमा शीतलपाटी बनाएका थिए । खडग शमशेरको पालामा १९९० र १९९५ मा निर्माण गरिएको कुलो पाल्पामा अझै अस्तित्वमा रहेको छ । छेर्लुङ र अर्तुङ्गामा पानी पु¥याउन बनाइएको यो ऐतिहासिक कुलो हेर्न आजभोली पर्यटकहरु पुग्ने गर्दछन ।
तानसेन प्राचीन एवं सुन्दर पहाडी सहर हो । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने हुन्छ । मगरहरुको बाहुल्य रहेको यो ठाउँमा उनीहरुको आफ्नै भाषा, धर्म, संस्कृति र इतिहास छ । तानसेनमा बसोबास गर्ने पहिलो जाति मगर भएको विश्वास गरिन्छ । करिव ६ सय वर्ष पहिले हालको नेपाल विभिन्न स–साना राज्यमा बाँडिएको थियो । त्यतिबेला यो ठाउँ १२ मगरातका नामले पनि चिनिन्थ्यो । मगरपछि यहाँ नेवार समुदायको बाहुल्य हुन पुग्यो । जुन कारणले तानसेनको रहन सहन र संस्कृति काठमाडौंसँग मिल्दोजुल्दो छ । महाभारत क्षेत्रको दक्षिणी भिरालोमा रहेको तानसेन नेपाली कला तथा संस्कृतिको अनुपम नमुना देख्न सकिन्छ । प्राचीन कलायुक्त नेवारी घर तथा ढुंगा छापिएका बाटोको सुन्दर स िमश्रण पाइने तानसेनमा पर्यटकहरुलाई घुमघाम गर्ने धेरै ठाउ छन । तानसेन पुगेपछि घुम्नैपर्ने ठाउँ श्रीनगर डाँडो हो । डाँडोमा चढेपछि देखिने प्र्राकृतिक सौन्दर्यले पर्यटकहरु रमाउने गर्दछन । श्रीनगरबाट पश्चिममा धवलागिरि एवं पूर्वमा गणेश हिमालको अवलोकन गर्न सकिन्छ ।
प्रकृतिको सुन्दर उपहार तानसेन वरपरका पर्यटकियस्थलहरु अवलोकन गर्न कम्तीमा पनि ७ दिनको बसाइ आवश्यक छ । सुन्दर श्रीनगरको डाँडो चढ्ने क्रममा शान्त जंगल, सल्लाका रुख तथा लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिन सकिन्छ । डाँडोको गन्तव्य श्रीनगर पार्क हो । पार्कको पूर्व दिशातिर अघि बढदा आधा घण्टामा बौद्ध स्तूप पुग्न सकिन्छ । थाई भिक्षुको सहयोगमा बनेको यो स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन । यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ । प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेको जनविश्वास यहाँका चित्रबाट झल्कन्छ ।
ढाकाटोपी र करुवाले चिनिएको पाल्पा तानसेनको श्रीनगर बाहेक थुप्रै पर्यटकीय स्थलहरु छन । तानसेन दरबार, शीतलपाटी, वीरेन्द्र पूmलबारी, आनन्दविहार मा पनि पर्यटकहरु पुग्ने गर्दछन । अझ पाल्पा जिल्लामा रहेका सत्यवती, सीताकुण्ड, सुके र नन्दताल पुग्नको लागि तानसेन पुगेका पर्यटकहरुले आफ्ना बसाइ लम्ब्याउने गर्दछन । पाल्पा पुग्ने पर्यटकहरु तानसेन, रिडी, रानीघाट, राम्दीघाट, नुवाकोट गढी र रिब्दीकोट घुमेर आनन्द लिने गर्छन् । पाल्पा नेपालकै उत्तम जिल्ला मानिन्छ । प्राकृतीक वातावरण तरेली परेका चुरे र महाभारत श्रृखंलाका डाडाकाडा नदी र खोला किनारका माडी, रामपुर, हुगी, अर्गेली, कचन, दर्पूक, सर्देवा र पूर्वीखोला जस्ता खेतीयोग्य उर्वरा फाटहरु पनि पाल्पा जिल्लाको सेरोफेरोमा रहेको छ ।
कला सस्कृतीले सजावट तानसेनमा अग्रेज संगको लडाइमा विजयको उत्सवमा उजीर शमसेरले भगवतीको मन्दिर निर्माण गर्न लगाएका हुन । एशियाकै ठूलो मानिने काठबाट निर्मीत शितलपाटीको मुलढोका, अमरनारायण को मन्दिर, तानसेन दरवार,जस्ता ऐतिहासिक स्थलले पाल्पा तानसेन पुग्ने पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र दृष्यावलोकनका स्थलहरु वनेका छन । पाल्पा जिल्ला कला र सस्कृतीमा निकै धनी मानिन्छ । पश्चिम पाल्पामा पर्ने भुवनपोखरी गोखुङगामा अवस्थित ऐतिहासिक रैनादेवी पाल्पा जिल्लाको मात्र नभएर गुल्मी र अर्घाखाची लगायतका क्षेत्रको प्रशिद्ध धार्मीक स्थल हो । तानसेन देखि ३८ कि.मि.को दुरीमा रहेको रैनादेवीको मन्दिर प्राचिन, धार्मीक, ऐतिहासिक, पर्यटकिय एवं पुरातात्विक महत्वका हिसावले अग्रस्थान छ । दसैको महाअष्ठमीको दिन मध्यरातमा गरिने कालीकाको पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच रैनादेवीको प्रमुख सस्कृतीको आकर्षण मानिन्छ ।
रानी महल र तानसेन वरपरका स्थलको अवलोकन पछि पर्यटकहरुले आफ्नो बसाई लम्वाउन समे रुरु क्षेत्र अर्थात रिडीमा पनि पुग्न सकिन्छ । रिडीमा माघे संक्रान्तिको अवसरमा तिर्थाटन अर्थात धार्मिक मेला लाग्दछ । धार्मिक पबित्र स्थल चार धामको रुपमा मान्यता पाएको रुरु क्षेत्र कालीगण्डकीमा स्नान गरी ऋषिकेश देबताको दर्शन गर्न तिर्थाटन पर्यटकहरुको घुँईचो लाग्दछ । रुरु क्षेत्रमा परापुर्बकाल देखि नै जेठी, माईली र कान्छी सक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्रमा स्नान गर्न पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, रुपन्देही लगायतका जिल्लाबाट हजारौ भक्तजनहरु पुग्ने गर्दछन । गुल्मी, पाल्पा र स्याङजा तीन जिल्लाको संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । रुरु कन्याको नामबाट रुरु क्षेत्रको नाम रहन गएको धार्मिक पौराणिक मान्यता छ । रिडीमा ऋषिकेश, भृगुतुङ्गेश्वर, रुरु कन्या, गल्फु वडार, आनन्दकुटी गुफा, तालदोभान गुफा लगाएत दर्जनौ मठ मन्दिर,पाटी पौवा र धार्मीक आस्था संग जोडिएका स्थल रहेका छन ।
पूर्वी पाल्पाको ताहूमा रहेको रम्भादेवीको ऐतिहासिक महत्वले पनि पाल्पा पुग्ने पर्यटकहरुको लागि अध्ययन सामाग्री बन्दछ । मगर जातीहरुको वाहुल्यता रहेको पुर्वी पाल्पामा रम्भादेवीको महत्व र धार्मीक विस्वासमा सवै जाती जनजातीहरुको आस्थाको केन्द्र बनेको छ । वाह्य पर्यटकहरु कमै पुग्ने भएपनि पुर्वी पाल्पाका गाडाकोट, झिरुवास, मित्याल, सहलकोट, अर्चले खालीवन, गल्धा, दर्छा र रामपुर मात्र होइन त्यस क्षेत्रका मानिसहरुले रम्भादेवीलाई आफ्नो कुलदेवीको प्रतिकको रुपमा समेत पुज्ने गर्दछन ।
खडग शमशेरको श्री ३ बन्ने षडयन्त्र
इतिहास अनुसार १९०३ साल असोज १ गते २९ वर्षको उमेरमा प्रधानमन्त्री र सेनापति बनेका जङ्गबहादुर कुँवरले राणापद्वी पाए । श्री ३ महाराज पनि बने । १९४२ सम्ममा राणा परिवार सिंह र शमशेर खलकमा विवाजित भईसकेको थियो । रणद्विप सिंहको हत्या गरी शमशेर खलकका जेठा ३२ वर्षिय विर शमशेर श्री ३ बने । माहिला २६ वर्षे डम्बर हजुरिया जर्नेल र साहिँला २४ वर्षे खडग सेनापति बने । रणदेव र चन्द्र शमशेर क्रमश पश्चिम, पूर्व र दक्षिण कमाण्डिङ जर्नेल (जङ्गीलाठ) बने । यसैलाई ४२ साल पर्व भनिन्छ । विरले खडगलाई विश्वास गरी नेपाल अधिराज्यको सबै तैनाथको जिम्मेवारी सुम्पेका थिए ।
खडग शमशेरले नेपाल अधिराज्यको सबै तैनाथको जिम्मेवारी लिदै जादा वि.स. १९६० सालमा खडक शमशेरलाई पदको मोह बढन थाल्यो । श्री ३ को पद र काठमाण्डौ उपत्यका कव्जा गर्ने षढयन्त्र उनले गर्न थाले । जुन षढयन्त्र त्यतिवेलाका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले थाहा पाए । चन्द्र शमसेरले खडक शमसेरलाई अपदस्त गरि तैनाथी आफ्नो हातमा लिन सेनाहरुलाई पाल्पामा पठाए । त्यो कुरा खड्क शमशेरले थाहा पाएपछि सरकारी ढुकुटीको रकम लिएर खडग शमशेर भारत पलाएन भएका थिए । जसबाट खडग शमशेरको श्री ३ बन्ने षडयन्त्र असफल भयो ।
पाल्पा घुमिसकेपछि उपहार के लैजाने भन्ने पीर छैन । यहाँको ढाकाटोपी नेपालमा मात्र होइन विदेशसम्म माग हुने गर्छ । पुरुषलाई भए ढाकाटोपी र महिलाका लागि भने ढाकाजन्य कपडा पाल्पा भ्रमणको चिनो लिएर फर्कन सकिन्छ ।
-पाल्पा समाचारबाट साभार गरिएको हो