२०८१ असोज, ३०
||NEWS LUMBINI |

राष्ट्रियसभामा नेकपाका १६ उम्मेदवार को कस्ता ?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले १६ उम्मेदवारको टुंगो लगाएको हो। जसमा पूर्वएमालेका ९ र पूर्वमा‌ओवादीबाट ७ उम्मेदवार परेका छन्।

नेकपाका १६ उम्मेदवारमध्ये प्रतिनिधिसभा निर्वाचनमा पराजितदेखि प्रदेशसभामा टिकट नपाएकासम्म छन्। प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने आश्वासन दिएर बैंकको जागिर छाड्न लगाएर ‘अलपत्र’ परेकालाई नेकपाले राष्ट्रियसभा उम्मेदवार बनाएको छ।

राष्ट्रियसभामा १९ सदस्य रिक्त छन्। जसमा नेकपाबाट १६ उम्मेदवार हुनेछन्। प्रदेश-२ मा भने नेकपा र राजपाले दुई/दुई उम्मेदवार भागबन्डा गरेका छन्। जस अनुसार प्रदेश-२ मा राजपाका दुई र नेकपाका दुई उम्मेदवार हुनेछन्। बाँकी रहेको १ सदस्य भने राष्ट्रपतिले मनोनित गर्नेछिन्। आइतबार मनोनयन दर्ता कार्यक्रम रहेको राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुँदैछ।

दलित आन्दोलनका अगुवा बने उम्मेदवार
नेकपाबाट प्रदेश-२ को राष्ट्रियसभा निर्वाचनका लागि दुईजना टुंगो लागेको छ। टुंगो लागेको उम्मेदवारमा राधेश्याम पासवान र तुलसा दाहाल रहेका छन्। राधेश्याम पासवान दलित आन्दोलनका अगुवा हुन्। उनले सर्लाही, महोत्तरी, रौतहट, सिरहालगायतमा विभिन्न चरणमा भएको दलित आन्दोलनको अगुवाई गरेका थिए।

उनी तत्कालीन दलित जनजाती पार्टीको उपाध्यक्ष थिए। २०६२-०६३ को जनआन्दोलनपछि माओवादी जनयुद्धबाट फर्किएसँगै एकता गरेका थिए। माओवादी आन्दोलनमासमेत सक्रिय भूमिका निर्वाह गरेका थिए। पासवान माओवादीको सिफारिसमा २०७२ मा राष्ट्रिय दलित आयोगका सदस्य भएका थिए। पासवान हाल नेकपाको प्रदेश कमिटी सदस्य छन्।

त्यस्तै बहुदलीय तथा निर्दलीय व्यवस्थाविरुद्ध भएको आन्दोलनबाट सक्रिय राजनीतिको सुरुवा गरेकी हुन तुलसा दाहालले। बहुदलीय, निर्दलीय आन्दोलनको जगबाट २०४० नेकपा मालेको केन्द्रीय सदस्यसमेत भएकी थिइन्। दाहाल हाल नेकपाकी केन्द्रीय कार्यालय सचिव तथा प्रदेश-२ कमिटी सदस्य छन्।

१३ वर्ष जेल बसेका बेदुराम
प्रदेश-३ मा नेकपाबाट दुई उम्मेदवार चयन भएका छन्।दुईमध्ये एक हुन् बेदुराम भुसाल। नेकपाबाट भुसाल पार्टीभित्र बौद्धिक र इमान्दार नेताको रुपमा चिनिन्छन्। केही समयअघि मात्रै उनले जनताको बहुदलीय जनवाद (जबज)मा विद्यावारिधि गरेका भुसाल राजनीतिक सिद्धान्त इतिहासमा पहिलो पीएचडी गर्ने नेता हुन्।

तत्कालिन माओवादी केन्द्रका उम्मेदवार रामबहादुर थापा बादल राष्ट्रियसभामा असुरक्षित बनेपछि एमाले उम्मेदवार भुसालले पछि हट्नु परेको थियो। प्रदेश ३ खुलाबाट चार जनाको उम्मेदवारी परेपछि बादलका लागि वाम गठबन्धनले एमाले नेता भुसालको उम्मेदवारी फिर्ता गराएको थियो।

२०२७ सालमा कम्युनिस्ट पार्टी सदस्य भएका बेदुरामले विद्यार्थी संगठनमा रहेर लामो समय काम गरे। अर्घाखाँचीको धनचौर भन्ने ठाउँमा उनले पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको विद्यार्थी संगठनमा काम गरेका हुन्। उनी २०२९ सालमा पार्टीको सेल कमिटी सदस्य बने।  २०३० सालमा लुम्बिनीमा भएका ठूलाठूला आन्दोलनमा सहभागी भएका भुसाल अर्घाखाँचीको बर्रे संघर्षको क्रममा २०३० चैत ३० गते पक्राउ परे। त्यसपछि लगातार १३ वर्ष जेलमा बसेका भुसाल २०४३ साल जेठमा काठमाडौंबाट छुटे।

जेलबाट छुटेपछि उनी चितवन पुगेर भूमिगत भए। भूमिगत कालमा गुल्मी अर्घाखाँची संयुक्त कमिटी सदस्य बनेका भुसालले पाल्पा, रुपन्देही जिल्ला कमिटीमा रहेर काम गरे। २०४७ सालमा नेकपा मालेको कपिलवस्तु जिल्ला कमिटी सचिव बनेका बनेका उनी पश्चिम दक्षिण क्षेत्रीय किमिटी सदस्य बने।

२०४७ सालमा लुम्बिनी अञ्चल कमिटी सचिव बनेका भुसाल २०५७ सालमा नेकपा एमालेसँग पार्टी एकता भएपछि केन्द्रीय संगठन विभागको सचिव बने। २०५९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सभापति भए। २०६५ सालमा केन्द्रीय किमिटी सदस्य, पोलिब्यूरो सदस्यसँगै स्कुल विभाग विभाग प्रमुख  भए।  उनी २०५८ देखि जनआन्दोलन अवधिसम्म राष्ट्रियसभाको सदस्य बनेका हुन्। एमालेको नवौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बनेका भुसाल अहिले नेकपाका स्थायी समिति सदस्य हुन्।

त्यस्तै राष्ट्रियसभाको उम्मेदवार बनेकी गंगा बेलवासे पूर्वमाओवादी नेता स्व. धनीराम पौडेलको श्रीमती हुन्। १९ वर्षदेखि राजनीतिमा लागेकी उनी अहिले नेकपाको केन्द्रीय सदस्य हुन्। २०४६ मा नेकपा चौंथो महाधिवेशनबाट उनी संगठित बनेकी थिइन्। नेकपाले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेकोमा उनी खुसी छन्।

प्रतिनिधिसभामा पराजित श्रेष्ठ राष्ट्रियसभाका उम्मेदवार
प्रदेश-४ बाट राष्ट्रियसभामा दुई उम्मेदवार बनेका छन्। नेकपाबाट नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा उम्मेदवार बनेका छन्। श्रेष्ठ २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा गोरखा-२ बाट पराजित भएका थिए।

तत्कालीन नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराईसँग श्रेष्ठ ७ हजार ९ सय ३७ मतान्तरले पराजित भएका हुन्। भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएका थिए भने श्रेष्ठले २३ हजार ८ सय ७० मत ल्याएका थिए।

प्रा.डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका थिए। यही विषयमा असन्तुष्टि नेता श्रेष्ठले राजीनामा दिएका थिए। श्रेष्ठले कारिन्दा भएर प्रवक्तामा बस्नुको औचित्य नरहेको भन्दै राजीनामा दिएको बताएका थिए। तर उनको राजीनामा सचिवालय बैठकले अस्वीकृत गरेको थियो।

त्यस्तै २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट भानु नगरपालिकाको मेयर पदमा पराजित भगवती न्यौपाने सत्तारुढ नेकपाबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेकी छन्। नेपाली कांग्रेसका मेयर उम्मेदवार उदयराज पौडेलले न्यौपानेलाई ४ सय ५१ मतान्तरले हराएका थिए। संविधानसभा र प्रतिनिधिसभा सदस्यमा गरी दुई पटक समानुपातिक सूचीमा परेकी थिइन्। पार्टी एकीकरणपछि पार्टी नेतृत्वले जिल्ला अध्यक्ष केदार सिग्देललाई बनाएपछि भूमिकाविहिन थिइन्। आफूलाई जिम्मेवार दिन नेतृत्वसँग पटकपटक माग गरेकी थिइन्।

पूर्वएमालेकी न्यौपाने पार्टीभित्र गुट परिर्वतन गरि रहने नेतृभित्र पर्छिन। सुरुमा तत्कालीन अध्यक्ष झलनाथ खनाल गुटमा रहेकी उनी माधव नेपाल हुँदै पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा छन्। न्यौपानेकी दिदी पनि राजनीतिमा सक्रिय छिन्। ६ दिदीबहिनीमध्ये उनको एक दिदी विष्णुमाया न्यौपाने धिताल लमजुङ कांग्रेसकी जिल्ला सचिव हुन् भने अर्की दिदी लक्ष्मी नेकपा सुन्दरबजारको कमिटीमा आवद्ध छन् । उनी ठूली दिदीको प्रेरणाले राजनीतिमा लागेको बताउँछिन्। २०५० सालमा अनेरास्ववियु कालिका मावि पूर्कोट तनहुँको सचिवबाट सुरु गरेको विद्यार्थी राजनीति यात्रा गोरखा क्याम्पसको एकाई कोषाध्यक्ष हुँदै महेन्द्ररत्न क्याम्पस ताहाचलको कमिटी हुँदै जिल्ला कमिटी तनहुँको सदस्यसम्म पुग्यो। अनेमसंघको लामो राजनीति गरेकी उनी जिल्ला सचिवसम्म भएकी थिइन्।

जनयुद्धका घाइतेदेखि मेयरमा पराजितसम्म
प्रदेश-५ बाट तीन जनालाई उम्मेदवार बनाएको छ। तीन जनामध्ये दुई जना पूर्वएमाले र एक जना पूर्वमाओवादीका हुन्।

पार्टीले महिलाबाट विमला घिमिरे, अल्पसंख्यक/अपांगबाट जगप्रसाद शर्मा र अन्यबाट गोपालप्रसाद भट्टराईलाई उम्मेदवारमा चयन गरेको छ। घिमिरे पार्टीको केन्द्रीय कमिटी सदस्यसहित कपिलवस्तु जिल्ला सहइन्चार्ज हुन्। उनी स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्। ४६ वर्षीया घिमिरे अखिल नेपाल महिला संघको स्थायी कमिटी सदस्यसमेत छन्।

अल्पसंख्यक तथा अपांगता कोटामा उम्मेदवार सिफारिस भएका शर्मा दाङ निवासी हुन्। उनी तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका घाइते हुन्। माओवादीको केन्द्रीय सचिवालय सदस्यसम्म भएका उनी अहिले नेकपाको केन्द्रीय सदस्य र प्रदेश कमिटीको सचिवसमेत हुन्। ०५५ सालमा सल्यानमा भएको सुरक्षाकर्मीसँगको भिडन्तमा उनी घाइते भएका थिए।

अन्य कोटाबाट परेका गोपाल भट्टराई पूर्वएमालेका इमान्दार नेताका रुपमा चिनिन्छिन्। पुष्पलालसँग रहेर काम गरेका ६९ वर्षीय भट्टराई प्रदेशको निर्वाचनमा समानुपातिक सूचीमा परेका थिए। ०२८ सालमा वामदेव गौतम रुपन्देहीको पार्टी सचिव हुँदा जिल्ला कमिटी सदस्यका रुपमा काम गरेका भट्टराई अहिले प्रदेश कमिटी कार्यालय सचिवका छन्। उनले २२ वर्ष जिल्ला कमिटीमा रहेर काम गरेर अञ्चल हुँदै प्रदेश कमिटीमा पुगेका हुन्।

प्रदेशमा टिकट नपाएका शर्मादेखि बैंकको जागिर छाडेकी सुमित्रासम्म
कर्णाली प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनका लागि दुई उम्मेदवार बनेका छन्। जसअनुसार पूर्वमाओवादीबाट मायाप्रसाद शर्मा र पूर्वएमालेबाट सुमित्रा विसी छन्।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा (पारसमणी) हुन्। २०३८ सालमा अखिलको सदस्य हुँदै २०४२ सालमा शिक्षक संगठनमा आवद्ध भएका शर्मा २०४७ सालदेखि पार्टी राजनीतिमा लागेका हुन्। २०५१ देखि २०६३ सालसम्म तत्कालीन माओवादीमा आवद्ध भएर भूमिगत भएका थिए। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सांसद बनेका थिए। २०६९ सालमा तत्कालिन माओवादी विभाजनपछि मोहन बैद्य किरण समूहमा लागेका शर्मा रामबहादुर थापा (बादल)सँगै एकीकृत माओवादीमा फर्किएका थिए।

२०७४ सालमा भएको कर्णाली प्रदेश सभाको सदस्यमा टिकट नपाएका शर्मा पार्टीसँग असन्तुष्ट बने। उनलाई पार्टी एकतापछि कर्णाली प्रदेश कमिटीको सचिव पद दिएर थामथुम पारियो। तर असन्तुष्टी पोख्दै पद अस्वीकार गरेपछि नेकपाका नेताले उनलाई उचित ठाउँमा अवसर दिने आश्वासन दिएपछि उनी पद बहाली गर्न राजी भए ।

उम्म्दवार बनेकी सुमित्रा विसी पूर्वएमालेकी हुन्। नेपाल कम्युनिस्ट पार्टी मालेबाट २०३५ सालबाट पार्टी राजनीतिमा लागेकी हुन्। तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिवसमेत भएकी थिइन्। बाँकेको ज्ञानोदय प्राविमा एक वर्ष शिक्षण पेशा गरेकी उनी ०४६ सालमा वाणिज्य बैंककी जागिरे हुन्। २०७४ सालमा पार्टीले समानुपातिक उम्मेदवार बनाउने आश्वासनपछि उनले राष्ट्रिय वाणिज्य बैंकको जागिबाट राजीनामा दिएकी थिइन्। तर पार्टीको मत कम आएकाले उनी परिनन्।

प्रदेश-१ तीन उम्मेदवार
नेकपाले प्रदेश-१ बाट राष्ट्रियसभा उम्मेदवार तीन जनाको नाम टुंगो लगाएको छ।  महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन्। इन्दु र देवेन्द्र पूर्वएमालेका हुन् भने गोपी अछामी पूर्वमाओवादी हुन्।

सुदूरपश्चिम दुई उम्मेदवार
सुदूरपश्चिमबाट दुईजना उम्मेदवारको टुंगो लगाएको छ। अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्टको राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारीका लागि टुङगो लगाएको हो। स्वाँर नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्लाका इन्चार्ज हुन्।उनी साविकको नेकपा माओवादीका नेता हुन्। स्वाँर प्रचण्डका पुराना सहयात्री पनि हुन्।

यस्तै कैलालीकी शारदा भट्ट सक्रिय महिला नेत्री हुन्। उनी साविकको नेकपा एमालेकी नेत्री हु्न्।उनी केपी शर्मा ओली गुटको भएको पार्टी स्रोतले जनाएको छ।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक