आइतबारको राष्ट्रिय सभा बैठकमा दुई कार्यसूची थिए। पहिलो नियमावली मस्यौदा समिति सदस्यमा हेरफेर र दोस्रो उपाध्यक्ष पदको निर्वाचन। राष्ट्रिय सभाको उपाध्यक्षका लागि कांग्रेसको तर्फबाट बिन्दादेवी आले (राना) र वाम गठबन्धनको तर्फबाट माओवादी सांसद शशिकला दाहाल उम्मेदवार थिए।
बिन्दादेवीलाई बद्रीप्रसाद पाण्डेले प्रस्ताव गरे भने सरिता प्रसाईंले समर्थन गरिन्। शशिकलाको प्रस्तावक दीनानाथ शर्मा थिए भने दिलकुमारी रावल थापा समर्थक बनिन्। दुवै प्रस्ताव राष्ट्रिय सभामा निर्णायार्थ प्रस्तुत भएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बोल्न चाहने सदस्यलाई नाम टिपाउन आग्रह गरे।
अनिता देवकोटा, बलराम बास्कोटा, रामजी पासवान, कोमल वलीलगायतले नाम टिपाए। राष्ट्रियसभाको आफ्नै शैली छ। जहाँ सम्बोधन गर्दा ‘अध्यक्ष महोदय’ भनेर सम्बोधन गर्नुपर्छ। यद्यपी केही सदस्यले राष्ट्रिय सभाको गरिमा भन्दा फरक ढंगले सम्बोधन गर्दा हाँसोका पात्र भएका छन्।
संघीय समाजवादी फोरमका रामप्रित पासवान उपाध्यक्ष पदको निर्वाचनका एक उम्मेदवारको पक्षमा सम्बोधन गर्न पोडियममा पुगे। तर, उनले पाएको समयभित्र अन्य भाषण गरेरै बिताए। उनले संविधन संशोधनको विषयलाई महत्वका साथ प्रस्तुत गरे।
संविधानले जातीय, वर्गीय समस्या र मागलाई सम्बोधन गर्न नसक्नु नेपालका अहिलेसम्मका संविधानको कमजोरी भएको तर्क गरे। उनले नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्न नसक्नेसमेत बताए। संविधानको नाममाथि नै आपत्ति जनाए। २०१९ सालमा पनि नेपालको संविधान लेखिएको सम्झना गर्दै उनले संविधानको नाम संघीयता, लोकतन्त्र जस्ता शब्द समेटिनुपर्नेमा जोड दिँदै गर्दा राष्ट्रियसभामै ‘आदरणीय जनसमुदाय’ भनेर सम्बोधन गरे।
‘संविधानको नाममा ‘संघीय लोकतान्त्रिक नेपाल’ हुनुपर्थ्यो। अहिले पनि संघीयता देशमा स्थायित्व हुने कि नहुने भन्ने प्रश्न जनताले गरिरहेका छन्’, पासवानले सम्बोधनका क्रममा भने, ‘आदरणीय जनसमुदाय’, हामी एउटा ऐतिहासिक मोडमा उभिएका छौँ। देशमा बृहत राष्ट्रिय एकता कायम गरेर विकासको गतिलाई अगाडि बढाउनुपर्ने समय आएको छ।’
उनले ‘आदरणीय जनसमुदाय’ भन्दै सम्बोधन गर्दा केही राष्ट्रियसभा सदस्यले मुखामुख गरे। तर,पासवानले त्यो शब्द सच्याउन चाहेनन्, लगातार सम्बोधन गरिरहे। सभाध्यक्ष तिमल्सिनाले समय सकिएको ‘रुलिङ’ गर्दासम्म उनी विषयमा प्रवेश गरेकै थिएनन्। सभाध्यक्षले ‘मान्यज्यू समय सकियो’ भनेपछि मात्र उनी विषयमा प्रवेश गरे। सभाध्यक्षले लाइन काटेपनि पासवानले आफ्नो पार्टीको समर्थन दीनानाथ शर्माले प्रस्ताव गरेकी उपाध्यक्ष उम्मेदवार शशिकला दाहाललाई रहेको घोषणा गरे।
गल्ती गर्नु मानवीय प्रवृत्ति नै मानिन्छ। तर, राष्ट्रिय सभा जस्तो उच्च सदनमा सम्बोधन गर्दा भएको शाब्दिक गल्तीलाई नसच्याउनुले मान्यज्यूको गरिमालाई कसरी मूल्यांकन गर्ने ?
-अन्नपूर्णपोष्ट