२०८१ असार, १
||NEWS LUMBINI |

रिक्सा चालक शोभालाई पछ्याउँदा…

भगबती पाण्डेय, बुटवल-‘यहाँ सबैभन्दा ठूलो पुलिस रहेछ छोराछोरीलाई पुलिस नै बनाउने हो, छोरोले आर्मी बन्ने भनेको छ, छोरीलाई पनि प्रहरीमा भर्ती गराउने सोच छ,’ कुराकानीकै क्रममा छोराछोरी के बनून् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्।

‘प्रहरीले साह्रै दुःख दिएको छ यता गए पनि सिठ्ठी फुक्छ, उता गए पनि सिठ्ठी फुक्छ, गल्ती गरे पनि सिठ्ठी फुक्छ नगरे पनि फुक्छ, त्यसैले उनीहरू प्रहरी बनुन् तर जनतालाई दुःख नदिउन् भन्ने चाहना हो’ उनले स्पष्ट पारिन्।

बुटवल देवीनगरकी शोभा घिमिरे अहिले बुटवलको चर्को घाममा अटो रिक्सा चलाउँछिन्। बिहान पाँच बजे उठेपछि घरधन्दासँगै उनको दैनिकी सुरू हुन्छ।

आठ महिनाकी दुधे छोरीलाई अर्काको भरमा छोडेर यात्रुको खोजीमा सबैरै निस्किन्छिन्।

शोभाले सुत्केरी हुनुभन्दा एक साता अघिसम्म रिक्सा चलाईन्। सुत्केरी भएको दुई महिना पछि फेरि नियमित काममा फर्किइन्।

यात्रुहरूको खोजी गर्दै उनीहरूलाई गन्तव्यमा पुर्‍याउन शोभाले बुटवलका गल्ली गल्ली चाहार्न थालेको साढे दुई वर्ष वित्यो। घरको आर्थिक अवस्थाले उनलाई सुत्केरी हुँ भन्नेसमेत महशुस गर्न दिएन।

श्रीमान रामप्रसाद घिमिरे अत्याधिक रक्सी पिउने भएपछि दिनभरी कमाएको सबै पैसा मदिरामै सिद्धाउन थाले। श्रीमानले दिनभर रिक्सा चलाए पनि एक पैसा घर नल्याउने भएपछि शोभा आफैले रिक्सा चलाउन सिकीन्।

केही वर्ष बुटवलकै एक निजी विद्यालयमा काम गरेकी शोभालाई श्रीमानले रिक्सा चलाएर कमाएको सबै पैसा रक्सीमा सकाएपछि घरखर्च जुटाउन सकस भयो।

विद्यालयबाट पाउने ६ हजार तलबले दुई छोराछोरीको स्कुल खर्च, कोठा भाडा, घरखर्च सबै थामिने सम्भावना नभएपछि उनले अटो रिक्सा चलाएर परिवार पाल्ने बाटो रोजिन्।

शोभालाई रिक्सा चलाउन रामप्रसादले नै सिकाए। केही दिन शोभा श्रीमानसँगै रिक्सा लिएर हिँडीन् एक्लै रिक्सा लिएर हिँड्न सक्ने भएपछि र सवारी चालक अनुमतिपत्र बनाएपछि उनले श्रीमानको बाटो हेरिनन्।

२०७२ सालमा संविधान जारी भएसँगै मधेश केन्द्रित दलहरूले देशभर आन्दोलन गरे। नाकाबन्दी भयो, अरू सवारी बन्द भएको मौकामा अटोरिक्साले बजार पायो।

छोटो यात्रामा पनि माईक्रो बस चढ्ने यात्रुको रोजाई अटो रिक्सा बन्न थाल्यो। यही बेला घिमिरे दम्पत्तिले ऋण खोजेर रिक्सा किने।

मादक पदार्थको कुलतमा फसेका रामप्रसाद दिनभरीको कमाई मदिरा खाएरै सिद्धाउँथे।

शुरुका केही महिना एकै दिनमा ५ हजार भन्दा धेरै कमाई गरे पनि उनले पैसा बचत गर्न सकेनन्। दिनभरी कमाई गर्‍यो साँझ नपर्दै रिक्सा एकातिर फालेर मदिरामै रम्यो। उनको यस्तो दैनिकीले शोभालाई त्यही रिक्सा उठाएर चलाउन हिड्न हिम्मत जुटाईदियो।

अहिले उनलाई राति ८/९ बजेसम्म पनि यात्रुलाई गन्तव्यमा पुर्‍याउन जान डर लाग्दैन। ‘अब मलाई कसैको डर लाग्दैन, बिहानैदेखि रातिसम्म घर र रिक्सा चलाए पनि घरमा शान्ति भयो र परिवारसँगै बसेर खाना खान पाईयो भने सबैभन्दा खुसी त्यही लाग्छ,’ उनले भनिन्।

अर्घाखाँचीको बल्कोटबाट छोराछोरीको भविश्यका लागि भन्दै यी दम्पत्ति बुटवल झरे। प्रोजेक्ट र होटलमा काम गर्दा गर्दै अटो रिक्सा चलाउन शुरू गरेका रामप्रसाद मदिराको लतमा फसे।

रामप्रसाद ढुक्कसँग भन्छन्, ‘म पहिले साह्रै बिग्रेको थिएँ अहिले पुनर्स्थापना केन्द्रमा गएर सुध्रिने प्रयास गर्दैछु।’

कुरा गर्न सिपालु उनी अगाडि थप्छन्,‘मदिरा सेवन गरेपछि ३/४ दिन आफैं हराएको थाहै पाउँदिन कता जान्छु कता, तर अहिले सुध्रिने प्रयास गर्दैछु।’

बुवाआमा भारतमा रहेकाले हजुरआमासँगै अर्घाखाँचीमा बाल्यकाल विताएकी शोभाले एसएलसीसम्म पास गरेकी छन्। गाउँमा दुःख गरेर जेनतेन एसएलसीसम्म पढेपनि त्यसभन्दा माथि पढ्ने उनको धोका पुरा हुन सकेन।

१७ वर्षमै विवाह बन्धनमा बाँधिएकी शोभा आफूले दुःख पाए पनि छोरा छोरीलाई भने धेरै पढाएर ठूलो मान्छे बनाउने सपना देखेकी छन्। ‘छोरा आर्मीमा भर्ति हुने हो भन्छ, मलाई भने छोरीलाई पनि काम गरेर खाने वर्गलाई अनाहकमा दुःख नदिने ईमान्दार प्रहरी बनाउने ईच्छा छ,’ उनले पटक पटक दोहोर्‍याइन्।

अहिले शोभाकी १३ वर्षकी ठूली छोरी ६ कक्षामा पढ्छिन् भने ११ वर्षका छोरा ५ कक्षामा पढ्दैछन्।

‘रिक्सा चलाउँदा सुरूसुरूमा कमाई राम्रै थियो, अहिले केही घटेको छ, प्रतिस्पर्धा पनि धेरै छ रिक्सा पनि धेरै भए हाइवेमा आउन पाईदैन,’ उनले सेतोपाटीसँग भनिन्,‘हाईवे क्रस गर्दा पनि ट्राफिक प्रहरीले सिठ्ठी फुकेको फुक्यै गर्छ। कहिलेकाँही त यात्रुलाई झार्न नपाउँदै चाबी खोसेर लगिदिन्छन्।’

शोभाले रिक्सा चलाउन शुरु गर्दा महिला रिक्सा चालक थोरै थिए। अहिले अटो रिक्साप्रति महिलाहरूको आकर्षण पनि बढेको छ।

विद्युतीय रिक्सा व्यवसायी समितिका अनुसार बुटवलमा मात्र ७० जना महिला रिक्सा चालक छन् ।

ट्राफिक प्रहरीबाट कहिलेकाँही झमेला बेहोरेकी शोभाले अरू रिक्सा चालक र यात्रुबाट भने त्यस्तो कुनै अप्ठ्यारो भोग्नु परेको छैन। ‘पुरूषलाई भन्दा महिलालाई यात्रुले अलि बढी बिश्वास गर्छन्,’ शोभाले भनिन्, ‘महिलाले चलाउँदा दौडाउँदैनन् र दुर्घटना कम हुन्छ भनेर पनि हामीले चलाएको रिक्सा रोजेर यात्रुहरू आउनुहुन्छ।’

श्रीमानको भर नभएपछि छिमेकीको सहारामा दुधे छोरीलाई छोडेर रिक्सा चलाउन हिडे पनि शोभाको मन भने घरमै छोरीसँगै हुन्छ।

‘कतिबेला कहाँ जाने यात्रु पाईन्छ ठेगान नै हुँदैन, छोरीलाई दुध खुवाउन घर जान्छु भनेर हिँड्यो बाटोमा यात्रु भेटिन्छन्, पैसाको लोभ लागिहाल्छ तिनलाई पुर्‍याउँछु र घर जाउला भन्यो त्यहाँबाट फेरि अन्यत्र जाने यात्रु पाईन्छन्, नजाउ भने कमाई छैन जाउँ भने छोरीको घाँटी सुक्यो भन्ने पिर यस्तो धेरै पटक भयो,’ शोभाले पिडा पोखिन्।

सानो घरको एउटा कोठा भाडामा लिएर बसेकी शोभाको धेरै ठूलो सपना पनि छैन। ‘छोराछोरीलाई राम्रोसँग पढाउन सकूँ, एउटा घडेरी किनेर सानो भए पनि बास बनाउन सकूँ त्यसैको लागि मासिक १ हजार रूपैया भए पनि बचत गर्न शुरू गरेकी छु,’ उनले योजना सुनाईन्।

Facebook Comments Box

फेसबुक