न्युजलुम्बिनी- औद्योगिक हब बन्दै गएको रुपन्देहीको तिलोत्तमामा एकअर्ब रुपैयाँ लगानीमा नवजात शिशुका लागि प्रयोग हुने ‘डाइपर’ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ ।
बच्चा जन्मने बित्तिकै उनीहरुको सरसफाईमा प्रयोग गरिने बेबी डाइपर (नेपकिन कट्टु) को उत्पादन गर्ने यो उद्योग नेपालमै पहिलो भएको उद्योगका संचालकको दावी छ ।
एजी हेल्थ इण्डष्ट्रिज प्रालिले तिलोत्तमा नगरपालिका वडा नम्बर १६ मधवलियामा उद्योग स्थापना गरी ‘सगुन बेबी पोको प्यान्टस्’ ब्रान्डमा डाइपरको ब्यवसायिक उत्पादन शुरू गरेको उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए ।
दुई बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा एक अर्ब लगानी भएको अधिकारीले बताए । ‘नेपालमा प्रयोग गरिने सबै बेबी डाइपरहरू अहिले भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात हुन्छ ।’
बजारको सम्भाव्यता अध्ययन गरी भारत र भुटानलगायतका देशहरुमा निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गरी उत्पादन शुरू गरेको अधिकारीले बताए ।
बजारमा अहिले बाह्य मुलुकमा उत्पादित डाइपर प्याकेजिङ् गरी विक्री वितरण हुँदै आएको छ । अमेरिका र चीनमा निर्मित अत्याधुनिक प्रविधिका मेसिनहरू जडित उद्योगले प्रतिमिनेट ४ सय ५० पिस डाइपर उत्पादन गर्छ । प्रतिघन्टा २७ हजार पिस उत्पादन हुन्छ ।
दैनिक ८ घन्टा उद्योग चलाउँदा २ लाख १६ हजार पिस बेबी डाइपर उत्पादन हुँदै आएको उद्योगका उत्पादन प्रबन्धक गंगाधर अधिकारीले बताए । हाल दैनिक ८ घन्टा मात्रै उद्योग चलिरहेको छ ।
आवश्यक कच्चा पदार्थ नेपालमा नहुँदा उद्योगले अमेरिका, क्यानडा र थाइल्याण्डबाट आयात गर्दै आएको छ ।
स्वदेशमै डाइपर उत्पादन हुन थालेपछि अहिले करिब २५ प्रतिशत आयात प्रतिस्थापन भएको उद्योगका अध्यक्ष अधिकारीको दावी छ ।
‘उद्योग २४ सै घन्टा संचालन गर्न सकियो भने केही वर्षमै सबै आयात प्रतिस्थापन गर्छौ’, अधिकारीले भने, ‘अहिले कच्चापदार्थ आयातमा झन्झट हुँदा उद्योग २४सै घन्टा संचालनमा आउन सकेको छैन ।’
भन्सार विभागको तथ्यांकअनुसार मुलुकमा वाषिर्क ४ अर्ब बराबरको डाइपर आयात हुँदै आएको छ । डाइपरको बजार मूल्य प्रतिपिस न्यूनतम १४ देखि २० रुपैयाँसम्म तोकिएको छ ।
उद्योगले डाइपरसँगै अब छिट्टै महिलाहरूले प्रयोग गर्ने सेफ्टी प्याडको उत्पादन समेत गर्ने तयारी गरेको छ ।
त्यसका लागि थप २० करोड लागतमा इटालियन प्रविधिको मेसिन ल्याइने उद्योगले जनाएको छ । उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।