२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

रुपन्देहीमा मोवाइल पसल चोरी रोकिएन, दुई वर्षमा १० पसलमा २ करोडको चोरी

बुटवल – रुपन्देहीका मोवाइल ब्यबसायी असुरक्षित बन्दै गएका छन् । जिल्लाको तथ्यांक हेर्दा २ वर्षभित्रमा २ करोड भन्दाबढी मूल्यका मोबाइल चोरी भएका छन् भने १० वटा पसलमा तोडफोड र चोरी भएको छ । बुटवल र भैरहवा क्षेत्रबाट मात्रै २ करोडबढीको मोवाइल चोरी भएको हो ।

श्रृंखलाबद्ध रुपमा भएको मोवाइल पसल चोरीका कारण मोवाइल ब्यवसायिहरु असुरक्षित बन्दै गएका छन् भने उनीहरु ब्यबसायबाट नै पलायनको स्थितीमा पुग्ने मनस्थितीमा पुगेका छन् ।

‘बुटवल बजारमा रहेका मोवाइल पसलमा महिनै पिच्छे चोरीका घटना भैरहेका छन्, हामीले प्रहरी प्रशासनलाई कोड जानकारी दिँदा पनि कुनै चोर पक्रिएको र कारबाही भएको छैन ।’ बुटवल उद्योग बाणिज्य संघ मोवाइल बस्तुगत समितिका सभापति विष्णु ज्ञवालीले भने ।

बुटवल र भैरहवा क्षेत्रका गणेश इलेक्ट्रोनिक, श्री आर एस, आरएस मोवाइल बजार, एटुजेड मोवाइल, सचिन मोवाइल, विशाल मोवाइल, सिद्धबाबा इन्फोटेक लगायतमा ठूला र अन्य साना ठूला गरी १० मोवाइल पसलमा चोरी भएको छ ।

ब्यबसायीले प्रहरी प्रशासन मुकदर्शक बनेको र चोरी कार्यमा संलग्नहरु एउटै गिरोह हुन सक्ने उनीहरुको दावी छ । प्रहरीले आश्वासन मात्रै दिने तर ठोस काम नगरेको ब्यबसायीले आरोप लगाएका छन् ।

ब्यवसायिक सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने क्यान महासंघ रुपन्देहीका सचिब बिरबहादुर क्षेत्रीले बताए ।

मंगलबारमात्र बुटवल ट्राफिकचोकमा रहेको सिद्धबाबा इन्फोटेकमा १५ लाख बढीमा मोवाइल लगायतका इलोक्ट्रोनिक समान चोरी भएको हो ।

सबै मोवाइल पसलहरुमा कालो झण्डा राख्ने ब्यबसायीको निर्णय

ब्यबसायीले बुटवलमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन थाल्ने समेत जनाएका छन् । उनीहरुले चोर पकि्रनका लागि एक हप्ताको म्याद प्रहरी प्रशासनलाई दिएका छन् ।

एक हप्तासम्म पनि चोर पत्ता नलागे सबै मोवाइल पसलहरुमा कालो झण्डा राखिने ब्यबसायीको निर्णय छ । मोवाइल बस्तुगत समितिमा मात्र बुटवल क्षेत्रका दुई सय ५० पसल ब्यवसायिहरु आवद्ध छन् ।

यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक केशव भट्टराईले मोवाइल चोरीमा संलग्नको खोजी भइरहेको बताए ।

एक महिना अगाडि अमरपथमा रहेको सचिन मोवाइलमा भएको चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको र फरार दुई जनाको खोजिका लागि अनुसन्धान भइरहेको बताए ।

उनले मोवाइलको आइएमईआई कोर्ड ट्रयाक गर्ने कार्य नेपालमा मात्र सम्भव भएको बताउँछन् । सबै प्रकारका चोरीको श्रृङ्खला नियन्त्रणमा आउने डीएसपी भट्टराइको दावी छ ।

-अनलाइन खबर

Facebook Comments Box

फेसबुक