२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

रूकुम पूर्वमा अनिश्चितकालीन कर्फ्यू जारी

नेपालको सबैभन्दा कान्छो जिल्ला प्रदेश नं. ५ अन्तर्गतको रूकुम पूर्व विगत तीन दिनदेखि अशान्त रहँदै आएको छ।

देश संघीय सीमांकनमा गएपछि साविक राप्तीको अति दुर्गम एउटा पहाडी जिल्ला रूकुम टुक्रिएर रूकुम पूर्व र रुकुम पश्चिम कायम गरिएको थियो।

पछिल्लो समय रूकुम पश्चिम प्रदेश नं. ६ मा पारिएको छ भने रूकुम पूर्व प्रदेश नं. ५ अन्तर्गत राखिएको छ।  त्यही कान्छो जिल्ला रुकुम पूर्व अर्थात ५ नं. प्रदेश अन्तर्गतको एउटा जिल्लामा सदरमुकाम कहाँ रहने भन्ने विषयमा विवाद हुँदा अशान्त बन्दै आएको छ।

सदरमुकामको विषयलाई लिएर स्थानीयको बीचमा झडपको स्थिति उत्पन्न भएपछि त्यहाँ तीन दिनदेखि स्थानीय प्रसाशनले अनिश्चितकालिन कर्फ्यू लगाउँदै आएको छ।

स्थानीय प्रशासनले आइतबार बेलुकी ७ बजेटबाट लगाएको कर्फ्यू कहिले हट्छ भन्ने अझैं निश्चित हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले तनावपूर्ण स्थिति रहँदासम्म कर्फ्यू कायम रहने सेतोपाटीलाई जानकारी दिए।

स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारी निर्णय कार्यान्यनको मागसहित गोल्खाडाबासी र त्यसका पक्षधरहरु एकातर्फ आन्दोलन गरिरहेका छन् भने माघ १५ गतेदेखि नै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नं. ५ र ६ रुकुमकोट तथा त्यसका पक्षधर  आन्दोलनमा उत्रिएका थिए।

रूकुमकोट पक्षधर संघर्ष समितिले संयोजक नन्दलाल शर्मालाई चयन गर्दै आन्दोलनमा होमिएको छ भने गोल्खाडा पक्षधर सरोकार समितिले संयोजक केशरमान रोकालाई बनाएर आन्दोलन गर्दै आएको छ।

हाल अस्थायी सदरमुकाम रहेकै ठाउँमा सदरमुकाम कायम हुनुपर्ने र सरकारको निर्णय कार्यान्वय हुनुपर्ने माग गर्दै गोल्खाडाबासी छुट्टा छुट्टै आन्दोलन तथा प्रदर्शनमा उत्रिँदा झडपको स्थिति उत्पन्न भएपछि त्यो रोक्न अनिश्चितकालिन कर्फ्यू लगाउनु परेको प्रजिअ शर्माले बताए।

२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नं. –१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो।

त्यसलगतै सरकारको उक्त निर्णय खारेजीको माग गर्दै   माघ १७ गते सर्वोच्चमा अदालतमा रुकुमकोट तथा त्यसका पक्षधर स्थानीयको पहलमा रिट दायर भएको छ।

जिल्लाको सदरमुकाम कहाँ रहने भन्ने सवालमा सर्वोच्चमा उक्त मुद्दा विाचाराधिन अवस्थामै छ। तर, सर्बोच्चको निर्णय आइ नसकेको भए पनि रुकुमकोट र गोल्खाडा पक्षधर भने आ–आफ्नै क्षेत्रमा सदरमुकाम कायम हुनुपर्ने माग गर्दै चरणवद्ध रुपमा आन्दोलन र प्रर्दशनमा उत्रिएका छन्।

सदरमुकामको माग गर्दै हुँदै आएको आन्दोलन दिनानुदिन चर्किदै गएपछि र आन्दोलनले उग्ररुप लिन थालेपछि शान्ति सुरक्षाको लागि बाध्य भएर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गर्नु परेको प्रजिअ शर्माले जानकारी दिए।

‘सदरमुकामको विषयलाई लिएर यहाँ दुबै पक्ष आ–आफ्नै अडान र दाबी गर्दै प्रर्दशन गर्ने थाले। झडपको स्थिति उत्पन्न हुन थाल्यो। त्यसैले अनिश्चितकालीन कफ्र्यू लगाउनु परेको हो,’ प्रजिअ शर्माले सेतोपाटीलाई भने।

गोल्खाडामा सदरमुकाम कायम हुनुपर्छ भन्ने पक्षधर रूकुमकोटमा गएर प्रर्दशन गर्न खोज्नु र रुकुमकोट पक्षधर कुनैपनि हालतमा आफ्नो क्षेत्रमा विरोध प्रर्दशनका कार्यक्रम गर्न नदिने अडानमा उभिएको हुँदा सम्भावित झडपको स्थिति रोक्न निषेधाज्ञा जारी गर्नुपरेको शर्माले बताए। ‘स्थानीय प्रशासनले आन्दोलनरत दुबैपक्षलाई सम्झाउन धेरै प्रयास गर्‍यो, तर दुबै पक्ष आ–आफ्ना दाबी र अडानबाट टसको मस नहुने स्थिति देखियो,’ प्रजिअ शर्माले भने ‘यहाँ सदरमुकाम प्रतिष्ठाको लडाइ बन्दै गएपछि प्रशान बाध्य भएर कफ्र्यू लगाउनु परेको हो।’

त्यही भएर आइतबार साँझदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ को रूकुमगाडहुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५ को रुमालबारा हुँदै सहिदपार्कसम्म अनिश्चित कालिन कर्फ्यू आदेश जारी गरिएको प्रजिश शर्माले जानकारी दिए।

प्रजिअ शर्माले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) को उपदफा (३) अनुसार अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर जारी गरिएको निषेधाज्ञा कायमै रहने सेतोपाटीलाई बताए। ‘जबसम्म झडपको स्थिति कायमै रहन्छ र स्थितिमा सुधार आउँदैन तबसम्म कर्फ्यू जारी रहनेछ,’ प्रजिअ शर्माले भने ।

तोकिएको चार किल्लामा अर्को सूचना नआएसम्म कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको उनले जानकारी दिए ।

उत्पन्न समस्या समाधानका लागि शनिबार र आइतबार  प्रजिअको रोहवरमा दुबै पक्ष बीच छलफल भए पनि दुबैपक्ष आ–आफ्ना पूर्ववत अडानमा कायमै रहेपछि त्यसले कुनै निकाश निकाल्न सकेको थिएन ।

Facebook Comments Box

फेसबुक