२०८० असोज, १७
||NEWS LUMBINI |

रोहितको शव बुझ्न परिवार सहमत

आइतबार गोली हानी हत्या गरिएका रोल्पाको लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय  रोहित पुनको शव बुझ्न परिवार सहमत भएका छन्।

आफन्त र परिवारजन रोहितको शव बुझ्न सहमत भएपछि मंगलबार बिहानदेखि पोष्टमार्टम सुरू भएको रोहितका जेठान रक्ष वलीले जानकारी दिए। ‘पोष्टमार्टम सुरू भइसकेको छ। आजै हामी शव बुझेर अन्तिम संस्कार गर्ने तयारीमा लागेका छौं,’ वलीले भने ।

ज्वाईं रोहितको सांघातिक हत्या हुँदा आफूहरू मर्माहत भए पनि आफूहरूको कारणले हिन्दु नारीहरूको महान पर्व तीजमा असजिलो नहोस् भन्नका लागि आन्दोलन स्थगित गरिएको उनका जेठान वलीले बताए। जिल्ला बन्द र चक्का जामको कार्यक्रम स्थगित ग रेपनि हत्यामा संलग्न सबैलाई कानूनी कारबाही नहुँदासम्म अन्य खालका दबाबमुलक कार्यक्रम भने जारी रहने वलीले जानकारी दिए।

वलीले ज्वाईंको सुनियोजित तरिकाले सांघातिक हमला गरी हत्या गरिएको हुँदा त्यसमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग गरे।

‘उहाँको दाँत भाँचिएको अवस्था छ, शरीरभरि निलडाम छन्,’जेठान वलीले सेतोपाटीलाई भने ‘ पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार पहिलो गोली हान्दा खोस्न प्रयास भएको देखिन्छ । गोली चोर औंला र बुढी औंला छेड्दै गएको छ ।’

सोमबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रोल्पाले जिल्ला बन्द गरेको थियो भने बन्द खुलेपछि बेलुका नेपाली कांग्रेस र भातृ संगठनहरूले जिल्ला प्रहरी कार्यालय रोल्पाको अगाडि  प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले तरुण अध्यक्ष पुनको गोली हानी हत्या गरेको अभियोगमा रोल्पा नगरपालिका वडा नं.  १० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई एकथान कटुवा पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

खड्काले अरु थप चार जनालाई समेत पक्राउ गरिएको बताए। तर उक्त हत्या काण्डमा संलग्नमध्ये थप तीन जना भने फरार रहेको हुँदा उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

हत्या गरिएका रोहितका १० वर्षीय छोरा रेमण्ड पुन र पत्नी लालकुमारी वली पुन छन् ।

पुनलाई शहीद घोषणा गर्न माग गर्दै ज्ञापनपत्र 

यसैबीच नेपाल तरुण दलका लिवाङ  नगर अध्यक्ष २९ वर्षीय  रोहित पुनको गोली हानी हत्या भएको तेस्रो दिन मंगलबार देशभरका जिल्ला प्रशासन कार्यालयमा तरुण दलले हत्यारालाई कारवाही, पिडित परिवारलाई उचित क्षतिपूर्ति र हत्या गरिएका रोहितलाई शहीद घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिइएको छ ।

सोमवार कांग्रेसले रोल्पामा गरेको प्रदर्शनमा सहभागीहरूले पनि  नगर अध्यक्ष पुनलाई शहीद घोषणा गरिनुपर्ने, हत्यामा संलग्नहरूको पहिचान गरी सबैलाई पक्राउ गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, परिवारका अन्य सदस्यलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जस्ता माग गरेका थिए ।

-सेतोपाटीबाट

Facebook Comments Box

फेसबुक