२०८० असोज, ७
||NEWS LUMBINI |

लुम्बिनीमा ‘लेजी केबलकार’ र बुद्ध ग्रेटवालको परिकल्पना

बुटवल -केबल कार सञ्चालन कस्तो स्थानमा उपयुक्त हुन्छ भनेर प्रश्न गर्ने हो भने धेरैको उत्तर हुन्छ– तल फेदी र माथि अग्लो डाँडो भएको स्थान । नेपालको सन्दर्भमा अहिलेसम्म सञ्चालनमा आएका केबल कार यस्तै स्थानमा सञ्चालन भइरहेका छन् । तर, अब तराईको समथर भूभागमै पनि केबल कार चलाउन सकिने अवधारणा सार्वजनिक भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसलाई दीगोरुपमा चलाइराख्न र लुम्बिनी घुम्न आउने पर्यटकलाई नयाँपनसहित भुलाउन विमानस्थलका इञ्जिनियर ओम शर्माले अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा केबल कार र ग्रेटवालको कन्सेप्ट ल्याएका हुन् ।

शर्माले डिजाइन गरेको परिकल्पनाअनुसार बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको सम्पूर्ण भूभाग र संरचनालाई भित्र पारेर बनाइएको हालको बाहिरी कम्पाउण्ड वाल (पर्खाल) को चौडाई र उचाईलाई विस्तार गरेर ग्रेट वाल र केबल कार संचालन गर्न सकिनेछ । १२ किलोमिटर लामो हुने ग्रेटवालमा पर्खालकै नजिकबाट सुस्त गतिको केवलकार सञ्चालन गरिनेछ । जसबाट लुम्बिनीको दृश्य आनन्दले हेर्न सकियोस् । ५–५ सय मिटरमा प्लेटफर्महरु बनाइने छ जसबाट केवलकार चढ्न र ओर्लन सकिनेछ ।

पर्खालमा ठूला ठूला बुद्धका प्रतिमाहरु,आकर्षक गेटहरु र विश्रामस्थल हुनेछन् । ग्रेटवालमा विशेष प्रकारको ठूलो आकारको प्रत्येक ईंटामा बुद्धको आकृति हुनेछ । ग्रेटवालमा प्रयोग हुने लाखौं इट्टामा बुद्धको आकृति प्रष्ट देखिने गरिने ईट्टाको डिजाइन गरिनेछ । जसले गर्दा उक्त ग्रेट वाल र लुम्बिनीले विश्वकै सबैभन्दा धेरै बुद्ध भएको ठाउंँ (प्लेस अफ मिलियन्स बुद्ध) को पहिचान बनाउने छ ।

लुम्बिनीभित्रका दृश्यहरु अवलोकन गर्न सहज होस् भनेर नै सुस्त गतिमा चलाइने भएकाले यो केबलकारलाई लेजी केबलकार भनिएको हो । जसले गर्दा पर्यटकहरु सहजै जुनसुकै स्थानबाट सहजै चढ्न, ओर्लन र पुनः पैदल यात्रा गर्न सक्नेछन्

जसरी भारतको इण्डिया गेटमा शहीदहरुको नाम लेखिएकाले उक्त गेट प्रख्यात भयो, त्यस्तै लुम्बिनीको ग्रेटवाललाई विश्वका अरबौं बौद्धमार्गीको आकर्षणको थलो बनाउन सकिने परिकल्पनाकार शर्माको विश्वास छ ।

ग्रेटवाललाई चढ्न र ओर्लन मिल्ने गरी उकालो ओरालो गरी डिजाइन गरिने छ भने पैदल हिँडेर परिक्रमा गर्न पनि सकिनेछ । ग्रेटवालमा चढेर परिक्रमा गर्दा मायादेवी मन्दिर, अशोक स्तम्भ, सेन्ट्रल केनल, शान्ति दीप, २४ वटै देशमा मन्दिर र गुम्बालगायत लुम्बिनीभित्रका सबै महत्वपूर्ण संरचनाहरु अवलोकन गर्न सकिनेछ ।

ग्रेट वालको बीच बीचमा १२ वटा आर्कषक प्रवेशद्धार बनाइने र त्यहांबाट पर्यटकहरु माथि चढ्न सक्नेछन् । बृद्ध र बिरामीले समेत प्रयोग गर्न सक्ने गरी सिढीँको उचाई ३ ईञ्चभन्दा बढी नहुने गरी बनाइने र अपाङ्गको लागि छुट्टै लेनको व्यवस्था हुनेछ । ग्रेटवालको चौडाई ३० मिटर र उचाई १० देखि ३० मिटर उतारचढावसहितको हुनेछ ।

अति सुस्त गतीमा सजिलै चढ्न र झर्न सक्ने तवरले यसको डिजाइन हुने इन्जिनियर शर्मा बताउँछन् । केबलकार चढ्न नचाहनेका लागि सजिलो खुट्किलोबाट तल माथि सजिलै जान मिल्ने डिजाइन हुनेछ । सय फिट उचाईको प्रत्येक ठाउँमा आर्कषक रेष्टुरेण्ट, हेल्प डेक्स, क्यरिओ सप, फोटोग्राफिक्स सर्भिसेस र भ्यू गार्डेनहरु हुनेछन् ।

यी प्वाइन्टहरुबाट लुम्बिनीभित्र रहेका सबै दृश्य सहजरुपमा अवलोकन गर्न मिल्ने छ । उक्त ठाउँहरुमा आर्कषक छतमाथि बुद्धको विशाल मुर्ति राखिनेछ भने तल ठूला ठूला विश्राम हल हुनेछन् । प्रत्येक एक किलोमिटरमा रहने गरी १२ वटा हलहरु हुनेछन् । अशक्त बृद्ध–बृद्धा तथा पैदल हिँड्न नचाहनेका लागि उक्त ग्रेटवाल संगै जोडिएर अत्यन्त सुस्त गतीमा चल्ने केबल कार रहनेछ ।

लुम्बिनीभित्रका दृश्यहरु अवलोकन गर्न सहज होस् भनेर नै सुस्त गतिमा चलाइने भएकाले यो केबलकारलाई लेजी केबलकार भनिएको हो । जसले गर्दा पर्यटकहरु सहजै जुनसुकै स्थानबाट सहजै चढ्न, ओर्लन र पुनः पैदल यात्रा गर्न सक्नेछन् । सुस्त गति र एउटै लेभलमा चल्ने हुँदा विद्युत खपत पनि कम हुने शर्मा बताउँछन् ।

यो ग्रेटवाल र केबलकार परियोजना शुरु गर्न करिब ५० अर्ब रुपैयाँ वजेट लाग्ने परिकल्पनाकार शर्माको अनुमान छ । यो परियोजना पूरा गर्न १० वर्ष समय लाग्ने शर्माको आँकलन छ । तर, यो वजेट सजिलै जुटाउन सकिने जुक्ति पनि शर्मासंग छ । उनका अनुसार लुम्बिनीभित्रका दुई दर्जन बढी विभिन्न देशका मन्दिर गुम्बाहरुले यो परियोजनामा सहजै लगानी गर्नेछन् ।

जसरी मोनास्ट्रीहरु बनाउन विदेशीहरुलाई दिइएको छ, त्यसैगरी ग्रेटवाल बनाउँदा पनि हरेक देशलाई निश्चित क्षेत्रफल छुट्टाएर दिन सकिन्छ । सरकारले नै बनाउने हो भने पनि वर्षमा ५ अर्ब रकम छुट्याए पुग्छ । संघीय सरकारले मुलुकका ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गर्ने हो भने ९५ प्रतिशत भन्दा बढी स्थानीय तहले यसमा लगानी गर्न सक्नेछन् । किनकी यो मुलुककै सबैभन्दा आकर्षक र नौलो परियोजना हुने छ । आवश्यक परे नीजि क्षेत्रको लगानी पनि ल्याउन सकिने शर्माको तर्क छ ।

मिलियन्स बुद्धसहितको ग्रेटवाल र केबलकार बनेपछि यसले चीनको ग्रेटवाल भन्दा बढी पर्यटक तान्ने शर्माको ठोकुवा छ । ‘चीनको ग्रेटवाल पर्खाल मात्रै हो, यहांको ग्रेटवालमा अर्बौ बौद्धमार्गीको आस्थाका धरोहर बुद्धको आकृति लाखौं संख्याका प्रत्येक इट्टामा हुनेछ’–शर्मा भन्छन्–‘दैनिक १० हजार आन्तरिक र वाह्य पर्यटकको आगमन गराउन र उनीहरुलाई पूर्ण आनन्दका साथ भुलाउन सकिन्छ ।’

यो अवधारणालाई लुम्बिनी विकास कोष, स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पनि गर्न सकिने शर्मा सुझाउँछन् । ग्रेटवाल र केबलकार बनेपछि हालको पर्यटक आगमनको संख्या १० देखि २० गुणा बढाउन सकिने शर्माको दाबी छ ।

लुम्बिनीमा पर्यटकलाई भुलाउने आकर्षक गन्तव्य र पर्यटकीय संरचना नहुँदा यहाँ आउने पर्यटकको बसाई औसत आधा घण्टा पनि नभएको सरकारी तथ्यांक नै छ । यदि ग्रेटवाल र केबलकार बनाउने हो भने आन्तरिक मात्र होइन छिमेकी चीन र भारतीय करोडौं पर्यटकलाई लोभ्याउन सकिने शर्मा तर्क गर्छन् ।

अण्डर वाटर बिजनेस पार्क

लुम्बिनी आउने पर्यटकलाई थप नयाँपन दिन इञ्जिनियर शर्माले लुम्बिनीको प्रवेश विन्दु पर्साचोकबाट कपिलवस्तु जाने प्रस्थान बिन्दु (लुम्बिनी बसपार्क) सम्म अण्डर वाटर बिजनेस पार्क ( भव्य प्रवेशद्धार ) बनाउन सकिने परिकल्पना गरेका छन् । सडकको दुवैतर्फ डेढ मिलोमिटर लम्बाईको अण्डरपास (सडक) तथा यसको दुबैतर्फ आकर्षक बिजनेस पार्क रहनेछ । यसको चौडाई तीन सय मिटर र १५ सय मिटर लम्बाईको क्षेत्रमा पारदर्शी बलियो शिशामाथि सफा पानीको बन्द तलाउ रहनेछ । यो ठूलो साईजको एक्वरियम जस्तै देखिनेछ । जसमा माछाका विभिन्न प्रजातिसहित विभिन्न जलीय जीवजन्तु रहनेछन् । यसको तल रहेको सडक र बिजनेस पार्कमा यात्रा गर्ने, घुम्ने पर्यटकले आफु समुन्द्रमुनि यात्रा गरिरहेको महशुस गर्नेछन् । दायाँबाया माथिको साईडबाट पनि वाटरपार्कको सजिलै अवलोकन गर्न सकिनेछ । मानिसको आवात जावतका लागि अन्डरग्राउण्डमा पर्याप्त स्थानहरु र वरिपरी हरियाली बगैंचासहित साना पार्कहरु हुनेछन् ।

इन्जिनियर शर्माले यसअघि सिद्धार्थ राजमार्गको सिद्धबाबाको पहिरोको जोखिमबाट बच्न ड्रागन टनेल र त्यहाँ पर्यटक भुलाउन सिद्ध लेकको अवधारणा पहिलोपटक अनलाइनखबर मार्फत सार्वजनिक गरेका थिए ।

याे पनि पढ्नुहाेस् 

सिद्धबाबाको पहिरो छल्न ड्रागन टनेलको अवधारणा

-टोपराज शर्मा/अनलाइन खबरबाट

Facebook Comments Box

फेसबुक