२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

लुम्बिनी सुरक्षामा गम्भीर खेलवाड

महत्वपूर्ण पुरातात्विक क्षेत्र लुम्बिनीमा ‘मनपरी’ बढेपछि सुरक्षा चुनौती थपिएको छ। गुरुयोजना निर्माणमा मनपरी तथा संवेदनशील क्षेत्रमा अनैतिक क्रियाकलाप बढ्दै जाँदा सुरक्षा चुनौती थपिएको हो। खटिएका सुरक्षाकर्मी र संरक्षणकर्ता विकास कोषका कर्मचारीदेखि पदाधिकारीसम्म नै यसमा संलग्न छन्।

लुम्बिनीमा बढ्दै गएको मनपरीप्रति पुरातत्वविद्हरूले निराशा जनाएका छन्। विकास कोषका पदाधिकारीहरू नै लुम्बिनीको महत्वलाई अवमूल्यन गर्दै मनपरीमा सघाउने गरेका तथ्यहरू सार्वजनिक भए पनि त्यसको निरुपरण खोजिएको छैन।

केही दिनअघि मात्रै मायादेवी मन्दिर छेउमा ताइवानी अस्तु भेटिएपछि पुरातातात्विक वस्तु नै असुरक्षित भएको विज्ञहरूले बताएका हुन्। मायादेवी क्षेत्र लुम्बिनीकै सबैभन्दा संवेदनशील क्षेत्र हो। विश्वसम्पदामा सूचीकृत सो स्थानमा बुद्ध जन्मेको एक मात्र प्रमाण छ।

विकास कोषका कर्मचारी र सुरक्षाकर्मीले घुस लिएर मायादेवीछेउमै ताइवानी नागरिकको अस्तु राखेको भेटिएको थियो। सोही संवेदनशील क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोप्ने भनिएको पीपलको बिरुवा तत्कालीन राजदुत रञ्जित रेले ०७१ मंसिर २४ गते छेउमै रोपेका थिए। उनले जहाँ पीपल रोपेका छन् त्यो अत्यन्तै संवेदनशील क्षेत्र हो। विकास कोषका पदाधिकारी र संस्कृति तथा पर्यटन मन्त्रालयका कर्मचारीको स्विकृतिपछि बिरुवा रोपिएको थियो।

‘लुम्बिनीको पुरातातात्विक महत्वलाई कमजोर आकलन गरिएको छ, पुरातत्व तथा संस्कृतिविद् डा. गितु गिरी भन्छन्, ‘यस्ता क्रियाकलापले लुम्बिनीको गरिमामा असर पार्छ।’ गोप्य क्षेत्रमा हुने गतिविधिले ठूलो क्षति निम्त्याउन सक्ने उनको चेतावनी छ।

विकास कोषले ‘सेक्रेट जोन’को सुरक्षामा मात्रै होइन गुरुयोजना कार्यान्वयनमा पनि लापरवाही गर्दै आएको छ। जसकारण कैयौं संरचना गुरुयोजनाविपरीत निर्माण गरिएका छन्। कोषमा आउने पदाधिकारीहरूले व्यक्तिगत स्वार्थमा रहेर विदेशी संघसंस्थालाई त्यस्ता संरचना निर्माण गर्न दिएका हुन्।

चार वर्षअघि कोरियन महाबोधि सोसाइटीले विनियमावली अस्पष्टताको फाइदा उठाउँदै विशाल विहार निर्माण गरे पनि विकास कोषले कुनै चासो दिएन। त्यस्ता विहारले पदाधिकारीहरूलाई खुसी पार्न विदेश भ्रमण गराउने गरेको कोषका एक अधिकारीले बताए।

अग्लो भवनले लुम्बिनीको सुरक्षामा गम्भीर असर पर्ने जानकारी हुँदाहुँदै समेत तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यांग्बो शेर्पा, तत्कालीन सदस्य सचिव राजेन्द्र थापा, तत्कालीन योजना प्रमुख टेम्बा शेर्पा र भरत कुँवर कोरिया घुम्ने मौका पाएपछि विहार निर्माणबिरुद्ध बोल्न सकेनन्।

जापानी आर्किटेक्चर कान्जो टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना र पछि निर्माण भएको मापदण्डमा तीन तलाभन्दा अग्लो संरचना बनाउन नपाइने उल्लेख गरिएको छ। मापदण्डमा स्पष्ट उचाइ नतोकिएको फाइदा उठाउँदै सोसाइटीले झण्डै तीन तलाको भवन पाँच तलाभन्दा पनि अग्लो बनाएको छ।

निवर्तमान सदस्यसचिव अजितमान तामाङको स्विकृतिमा नेपाल कोरियामैत्री संघले साउथ पोखरीको बीचमा गुरुयोजनाविपरीत संरचना निर्माण गरेको छ। बुद्धको मूर्तिसहित गुरुयोजनाअनुरूप फूलबारी बनाउने भन्दै हात हालेको संघले बुद्धको मूर्ति र ठूलो आकारको घण्ट झुण्ड्याउने भन्दै नयाँ संरचना बनाइरहेको छ। संरचना निर्माण भइरहँदाका उपाध्यक्ष सिद्धार्थ महर्जनले गुरुयोजना ढुंगामा कुँदेको नभई केही परिवर्तन हुँदैमा समस्या नहुने बताएका थिए।

उपाध्यक्ष अवदेश त्रिपाठी (भिक्षु मैत्तेय) ले अब गुरुयोजनाबाहिर रहेर संरचना निर्माण नहुने बताए। ‘अध्यक्षज्यू (संस्कृतिमन्त्री) ले गुरुयोजनाभित्र रहेर मात्रै संरचना निर्माण गर्ने बताउनुभएको छ, अबको पहिलो काम गुरुयोजना सक्नेमा हुन्छ, उनले अन्नपूर्णसँग भने। गुरुयोजनाको २० प्रतिशत काम सकेपछि गुरुयोजनाको पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ।

राजनीतिक नियुक्तिमा आउने कोषका पदाधिकारीकै स्विकृतिमा लुम्बिनीका प्लटसमेत अवैधानिक ढंगले वितरण गरिएका छन्। एउटा देशले एउटा प्लट पाउने नियम भए पनि आर्थिक लोभमा प्लट वितरण गर्ने गरिएको कोषका एक अधिकारीले बताए।

‘विदेशी संस्थाहरूले भ्रमण, आर्थिक सहयोग दिएर जमिन लिने गरेका छन्, ती अधिकारीले भने, ‘यसमा पदाधिकारी मात्रै नभई मन्त्री र मन्त्रालयको पनि ठूलो सहयोग छ।’

केही समयअघि मात्रै लुम्बिनी विकास कोषका अध्यक्ष तत्कालीन संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अमेरिकी संस्था रगरिंग एसीलाई दुई वटा प्लट दिने निर्णय गरेको थियो। उक्त संस्थाले चार वर्षअघि कोरिया मन्दिर पछाडिको एउटा प्लट पाइसकेको थियो।

लुम्बिनीमा विश्वका बौद्ध मुलुकहरूलाई आफ्नै संस्कृति, कला झल्किने विहार बनाउन एक÷एक वटा प्लट दिने गरी गुरुयोजना निर्माण भएको हो। ४२ देशमा बुद्ध धर्म अनुशरण भएकाले थेरवादीयनहरूलाई केन्द्र नहरको पूर्वतर्फ १३ वटा र महायानीहरूलाई पश्चिमतर्फ २९ वटा प्लट दिने योजना थियो। तर, पदाधिकारीहरूले मनोमानी गर्दै एउटै संस्था र देशलाई ३÷३ वटा प्लट दिएका छन्। थाइल्याड र अमेरिकी संस्था रगरिंग एसी ३÷३, म्यानमार, श्रीलंका, म्यानमार र कोरियाले २÷२ प्लट लिएका छन्। १८ वटा देशलाई मात्रै दिएर ४२ वटा प्लट सकिएका छन्।

लुम्बिनीमा निर्माण गरिएका बेबी बुद्ध, सडक पिचलगायत अन्य थुप्रै संरचना गुरुयोजनाविपरीत छन्। विदेशी राष्टले आफ्नो शक्ति देखाउन लुम्बिनीमा ‘कब्जा’ जमाउने रणनीति लिएको जानकारहरू बताउँछन्। भारतले विशेष रूपमा लुम्बिनीमा चासो राख्ने गरेको एक अधिकारीको भनाइ छ। केही संरचना निर्माण आफैं गर्ने भन्दै भारत प्रस्तावसमेत पठाइसकेको छ।

कोषका उपाध्यक्ष त्रिपाठीले लुम्बिनीको संरक्षणको विषयमा युनोस्को, विकास कोषले के गर्ने भन्ने विषयमा स्पष्ट नभएकाले त्यसलाई स्पष्ट बनाउन बुद्धजयन्तीपछि छलफल गरिने बताए।

‘विकास कोषमा भएको लापरवाहीले हामीलाई चेतना दिएको छ’, उनले भने, ‘अब केही ठोस काम सुरु गर्छाैं।’ उनले लापरवाही गर्नेहरू कारवाहीमा पर्नेसमेत बताए। मायादेवी छेउमा अस्तु राख्न दिने कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको भन्दै थप कारवाही हुने उनले बताए। कर्मचारी निष्कासनसम्मको कारबाही गरिने उनको दाबी छ।

पुरातत्वविद् गिरीले लुम्बिनी सुरक्षा सेनालाई जिम्मा दिँदै एकीकृत सुरक्षा रणनीति लागु गर्नुपर्ने बताए। ‘लुम्बिनी तथा कपिलवस्तु नेपालमा पर्दैनन् भन्ने भ्रम छर्नेहरूसँग बेलैमा सचेत हुनुपर्छ, उनले भने, ‘त्यसका लागि सेनालाई सुरक्षाको जिम्मा दिनु उपयुक्त हुन्छ।’

-अन्नपूर्णपोष्टबाट

Facebook Comments Box

फेसबुक