२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाललाई हराउन दुई डीएसपी नै परिचालित

काठमाडौं, मंसिर १२ । निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई हराउन उच्च प्रहरी अधिकारीहरु नै लागिपरेको खुलासा भएको छ । राजनीतिक दलका नेता तथा केही प्रहरी अधिकारी मिलेर वाम गठबन्धनका नेताहरुको दैनिक निगरानी गरिरहेको स्रोतले बताएको हो ।

आईजीपी प्रकाश अर्यालको सचिवालयमा कार्यरत डीएसपी सविन प्रधान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीएसपी भूपेन्द्र खत्रीलाई गोप्य रुपमा परिचालन गरिएको उच्च स्रोतको दाबी छ ।

उनीहरुले वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल र अनिल शर्मालगायतको दैनिक निगरानी गर्दै आएको स्रोतले बताएको हो । पूर्वडीआईजी सिलवाल हाल ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि उम्मदेवार रहेका छन् भने शर्मा भने काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार रहेका छन् ।

पूर्वडीआईजी सिलवालले आफू योग्य हुँदाहुँदै अन्यलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । विशेषगरी कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको कोपभाजनमा परेका कारण उनी योग्य हुँदाहुँदै पनि आईजीपी बन्ने अवसरबाट वञ्चित भएका थिए । त्यसपछि नेकपा एमाले प्रवेश गरेका सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमा भावी सरकारमा गृहमन्त्रीसमेत बनाउन सकिने सम्भावना भएको बताएका थिए ।

स्वयं कांग्रेसको सरकार रहेकाले र प्रहरीमा सिलवालाई आफ्नो प्रतिद्वन्द्वी मानेकाहरुले उनलाई कुनै हराउन चलखेल गरिरहेको स्रोतले बताएको छ । केही समयअघि मात्र सिलवालनिकट पुग्न सक्ने भन्दै ललितपुर चापागाउँका डीएसपीको सरुवा गरिएको थियो ।

अर्का उम्मेदवार शर्मा माओवादी नेता जनार्दन शर्माका भाइ हुन् । हाल मन्त्रीसमेत रहेका जनार्दन शर्माले तत्कालीन समयमा आईजीपी विवादमा फरक मत राखेका थिए । त्यस्तै, काठमाडौं क्षेत्र नं. १ मा पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले कांग्रेसको धेरै भोट काट्ने आँकलन गरिएको छ । यस कारण कांग्रेसका नेता प्रकाशमान सिंह कमजोर हुने र वाम गठबन्धनका शर्माले चुनाव जित्न सक्ने भन्दै उनलाई हराउन चलखेल भएको स्रोतको दाबी छ ।

केही दिनअगाडि मात्रै आईजीपी अर्यालले आफ्ना पीए रहेका डीएसपी प्रधानलाई विशेष ब्युरोमा काज खटाएको देखाएर वाम गठबन्धनका हरेक उम्मेदवारको कल डिटेल विश्लेषण, दैनिक गतिविधिको निगरानीका लागि परिचालन गरेका छन् । डीएसपी प्रधान अहिलेसम्म विशेष ब्युरोमा हाजिर भएका छैनन् ।

उनी कहिले आईजीपी सचिवालय, कहिलेकाहीँ आईजीपीको निवास त कहिले नक्सालमै सञ्चालित एक सेफ हाउसमा बसेर सबैको निगरानी गर्ने गरेका छन् । कसले कसलाई भेट्यो, कसको सम्पर्क कससँग छ भनेर सबै डिटेल उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकोमा पु¥याउने गरेको स्रोतको भनाइ छ । विशेष ब्युरो आतंकवाद तथा जाली नोट कारोबारलाई नियन्त्रणमा लिन स्थापना भएको हो । तर, प्रहरी नेतृत्वले त्यस ब्युरोलाई दुरुपयोग गर्दै राजनीतिज्ञहरुको दैनिक गतिविधि निगरानीका लागि हाल प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, अर्का डीएसपी भूपेन्द्र खत्री आफ्नो दरबन्दी रहेको प्रहरी एकेडेमीमा हाजिर मात्रै लगाएर सँगै रहेको सीआईबीमा बस्ने गरेको स्रोतको दाबी छ । पारिवारिक रुपमा कांग्रेसी पृष्ठभूमिका खत्रीका लागि सीआईबीमा एक कोठा तयार गरिएको छ । उनले आफ्ना हरेक गतिविधि त्यहीँबाट सञ्चालन गर्ने गरेका छन् । वाम गठबन्धनका नेता, कार्यकर्ताहरुको विगत कोट्याउने, कुनै आपराधिक गतिविधिमा संलग्न भए तत्काल पक्राउ गर्ने कामको नेतृत्व उनले गरेको स्रोतको दाबी छ ।

माओवादी नेता बालकृष्ण ढुंगेलको पक्राउमा पनि उनकै नेतृत्वदायी भूमिका थियो । वाम गठबन्धनका उम्मेदवारलाई कसरी फसाउन सकिन्छ, झूठा मुद्दा लगाउन सकिन्छ र चुनावमा कसरी हराउन सकिन्छ भनेर उनीहरुले गतिविधि गर्ने गरेको स्रोतको दाबी छ । उनीहरुले तयार पारेका हरेक विवरण भारतीय दूतावासमा बुझाउने गरेको पनि दूतावास स्रोतको दाबी छ ।

हाल सिलवाल र शर्मालाई हराउनका लागि सादा पोशाकमा ललितपुर तथा काठमाडौंमा प्रहरीहरु खटाइएको स्रोतले बताएको छ । राजनीतिक दाउपेचका लागि प्रहरी संगठनको शक्तिको दुरुपयोग हुँदा संगठनकै छविमा आँच आउने एक प्रहरी अधिकारीले बताए । – शुसासनन्युजबाट

Facebook Comments Box

फेसबुक