०२५ सालमा तेह्रथुममा जन्मेका त्रिलोचन गौतमको बाल्यकाल झापाको साबिक गच्चेमारी–८ मा बित्यो । त्यहाँ माध्यमिक तहसम्मको अध्ययन गरेका उनै गौतम उच्च शिक्षाको सिलसिलामा विराटनगर आइपुगेका थिए ।
०४२ सालदेखि अनवरत रूपमा विराटनगरलाई कर्मथलो बनाई स्थायी रूपमा बसोबास गर्दै आएका गौतम विराटनगरस्थित सगरमाथा बोर्डिङ स्कुलका सञ्चालक, लायन्स क्लब अफ् विराटनगर कञ्चनवारीको चार्टर प्रेसिडेन्ट, टियु ब्लड डोनेसन सेन्टरको फाउन्डर मेम्बर, स्मारिका बचत तथा ऋण सहकारी संस्थाको सचिव तथा विभिन्न संघ–संस्थामा आबद्ध छन् ।
पुरानो कांग्रेसमा आस्था राख्ने गौतम डा. बाबुराम भट्टराईको विचार समय सापेक्ष लागेर नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् । सो पार्टीको विराटनगर संयोजक तथा प्रदेश कमिटी सदस्य रहेका गौतम यतिबेला मोरङ–६ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
गौतमसँग कोसी अनलाइनकर्मी किशोर विश्वकर्माले गरेको चुनावी संवाद :
तपाईंका चुनावी एजेन्डा के–के छन् ?
मेरा चुनावी एजेन्डा भन्नुपर्दा पहिलो शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायातलगायत सम्पूर्ण क्षेत्रको विकास नै मेरा प्रथामिकता हुन् । त्यस्तै, कृषिउपजको समर्थन मूल्य तोक्ने, प्रत्येक परिवारलाइ आफैं स्वरोजगार बनाउन त्यसका लागि बैंकमार्फत् ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा जानेलाई सकेसम्म रोकी देशमै दक्ष जनशक्ति बनाउने र स्वरोजगार बनाउने, विभिन्न ठाउँमा हटलाइन टेलिफोन राखेर जनताको गुनासोको सुनुवाई गर्ने आदि मेरा चुनावी एजेन्डा हुन् ।
त्यसैगरी, मेरो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने मेरो योजना छ भने निर्वाचित भए मैले राज्यबाट पाउने सबै सम्पूर्ण सुविधा सामुदायिक विद्यालयका लागि खर्च गर्नेछु । मुख्य कुरा विराटनगरलाई प्रदेशको राजधानी बनाउन नसकेमा तुरुन्तै राजनीतिबाट सन्यास लिनेछु ।
यसबाहेक बाइपास रोड तत्काल निर्माण गराउन पहल लिन्छु । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गराउने मेरो अर्को मुख्य कार्ययोजना बन्नेछ । त्यसैगरी, मदिरा, लागूपदार्थ र अन्य हानिकारक खाद्य वस्तुको नियन्त्रण गर्न पनि म भूमिका खेल्नेछु ।
समग्रमा सुन्दर, सफा र हराभरा विराटनगरको परिकल्पनालाई यथार्थमा परिणत गराउने मेरा योजना छन् । र, मुख्य कुरा– मेरो क्षेत्रमा उठ्ने सम्पूर्ण राजस्व त्यही क्षेत्रकै विकासमा लगाउँछु ।
तपाईंको चुनाव जित्ने आधार के हो ?
पहिलो कुरा म कर्तव्यनिष्ठ, समाजसेवामा निःस्वार्थ भावनाले लागेको युवा हुँ । अहिले अन्य दलले भ्रमको खेती गरेर लामो समयदेखि जनतालाई निराश बनाइरहेको अवस्थामा उनीहरूले सही विकल्प खोजिरहेका छन् । यो बेला मैले आफूलाई त्यो विकल्पका रूपमा लिएको छु । मलाई आशा छ, मलाई मतदाताले मत दिएर जिताउँछन् ।
अन्य दलका उम्मेदवारले निर्वाचनमा मोटो रकम खर्च गरिरहेका छन् । तपाईंले कति खर्च गर्दै हुनुहुन्छ ?
जन, धन र डनका भरमा होइन, जनताको विशुद्ध मन जितेर चुनाव लड्नुपर्छ भन्ने म ठान्छु । मैले अनावश्यक रूपमा १ रुपैयाँ पनि खर्च नगरी चुनाव जित्ने प्रण गरेको छु ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईं कमजोर उम्मेदवार भन्ने सुनिन्छ नि ?
हेर्नुस्, निर्वाचनमा कोही पनि कसैभन्दा कमजोर हुँदैन । जनताको इच्छा र चाहनाअनुरूप नै मैले उम्मेदवारी दिएको हो । त्यसैले प्रतिस्पर्धामा म अत्यन्त उत्साहित छु । र, मतदाता भगवान हुन् । उहाँहरूले सबैलाई हराएर मलाई जिताउनुहुन्छ । उहाँहरूको आशा, भरोसा, माया र विश्वासले म पैसा खर्च नगरी चुनाव जित्छु । मेरो उम्मेदवारीले आदरणीय मतदातालाई सही ठाउँमा मत हाल्ने अवसर प्राप्त भएको छ ।
सबैले यसो गर्छु, उसो गर्छु भन्छन् । मतदातालाई मतदाता शिक्षाचाहिँ दिनुपर्दैन ?
तपाईंले ठीक भन्नुभयो । साँच्चै ! मतदातालाई मतदाता शिक्षाको अतिआवश्यक छ । म निःशुल्क जनशक्ति तयार गरी चाँडै परिचालन गर्ने सोचमा छु ।
तपाईं निर्वाचित भएपछिका थप योजना के छन् ?
भ्रष्टाचार, विकृति र विभेदको अन्त्य गरी सामाजिक सद्भाव कायम राख्ने मेरो पहिलो प्राथमिकता हो । विराटनगरको वातावरणीय प्रदूषण दिनरात लागिपरेर हटाउँछु । मैले अघि पनि भनें, मेरो क्षेत्रमा पर्याप्त कलकारखाना छन् । त्यसबाट उठ्ने राजस्व त्यही क्षेत्रको विकासमा लगाउनेछु । ५ वर्षभित्र विराटनगरको कायापलट गराउने मेरो प्रतिबद्धता हो । भ्रष्टाचारलाई शून्यमा पु¥याउनेछु ।
र, अन्त्यमा सम्पूर्ण आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा मेरो चुनाव चिह्न आँखामा मत दिई मलाई विकासको मेरो लक्ष्यमा पुग्न सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्छु । हाम्रालाई हैन, राम्रालाई भोट खसाल्न हार्दिक अपिल गर्छु ।