काठमाडौं -प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् ।
विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो दिएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए । भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए ।
‘उहाँहरुको विषयमा समाचारहरु बाक्लै आउन थालेपछि खास स्थिति के हो त भनेर बुझ्ने सल्लाह मैले र सीडीओ साबले गर्यौं । त्यसैले उनीहरु जिल्ला आएको मौकामा बोलाएका हौं,’ लम्सालले भने ।
लम्साल अनुसार विष्णुले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताएकी छिन् । उनको भनाइ उद्धृत गर्दै निरौलाले भने, ‘मलाई त्यति बोल्न आउँदैन, त्यसैले बाहिर गएर घुलमिल हुन सक्दिनँ ।’
यो पनि पढ्नुहोस विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?
लम्साल भन्छन्, ‘हामीसँग पनि उहाँले थोरै कुरा गर्नुभयो । लवज गाउँले पाराको थियो । बोल्नै नआउने त होइन ।’
उनले बाहिर सार्वजनिक भएर कार्यक्रमहरुमा भाग लिन सुझाव दिएको बताए ।
‘तपाईंको यति मीठो स्वरकी धनी हुनुहुन्छ । देशभरि तपाईंका प्रशंसक छन् । कार्यक्रमहरुमा जानुस, गीत गाउनुस । बोल्न बिस्तारै बिस्तारै बानी परिहालिन्छ नि ।’ उनले विष्णुलाई भनेका थिए । तर, विष्णुले कुनै जवाफ दिइनन् ।
विष्णुको अनुहारमा कुनै खोट (एसीड वा जलनको दाग) भएर पो मुख लुकाएकी हुन् कि भन्ने आशंकाले मास्क पनि खोल्न लगाएको लम्सालले बताए ।
‘उहाँले मास्क पनि खोलेर अनुहार देखाउनुभयो, अनुहारमा आशंका गरिएजस्तो केही छैन,’ लम्सालले भने ।
उनले विष्णुलाई आफूले निकै दुब्ली देखेको बताए ।
‘तपाईं यति हिट हुनुहुन्छ । पैसा कमाइरहनुभएको छ । शरीरचाहिँ किन सुकेको त ? भनेर पनि मैले सोधेँ । उहाँले अझै दुब्लाउन मन लागेको जवाफ दिनुभयो,’ लम्सासले भने ।
सीडीओ र एसपीले सुन्दरमणिसँग पनि बाहिर नदेखिनुको कारणबारे सोधपुछ गरेका थिए । उनले सुरुमा त्यस्तो खास कारण केही नभएको बताए ।
‘त्यसपछि हामीले भन्यौं कि त्यसो भए तुरुन्तै यहीँ पत्रकार सम्मेलन गर्नुस् र जनतालाई भनिदिनुस् कि हामी दुबै ठीक छौं,’ लम्सालले भने ।
तर, सुन्दरमणिले त्यसलाई इन्कार गरे । उनले भने, ‘हामी एउटा उद्देश्यमा छौं, उद्देश्य पूरा नभएसम्म सार्वजनिक हुन सक्दैनौं । हाम्रो बाध्यता बुझिदिनुहोला ।’
उनको यस्तो भनाइपछि आफूहरुले धेरै कुरा खोतल्न नचाहेको प्रजिअ लम्साल बताउँछन् ।
‘जब उनीहरु दुबै बाहिर खुल्न चाहँदैनन् भने यो उनीहरुको निजी विषय हो, त्यसैले यसमा थप खोतलिरहनु आवश्यक देखिएन,’ लम्सालले अनलाइनखबरसँग भने ।
विष्णुका बुबा र आमालाई पनि गाउँबाट झिकाइएको दियो । विष्णुकी आमाले छोरीसँग नियमित भेट र कुराकानी भइरहेको प्रशासनलाई बताइन् ।
‘उहाँले भदौमा मात्रै छोरीको घर बसेर आएको बताउनुभयो, कान्छी छोरी विष्णुसँगै बस्दिरहिछन्,’ लम्सालले भने । बुवा भने बिरामी हुनुहुँदोरहेछ, खासै बोल्नुभएन । यसअघि उनका बुवाले आफ्नी छोरीसँग वर्षौंदेखि भेट र कुराकानी नभएको बताएको भनेर मिडियामा समाचार आए पनि त्यो सत्य नदेखिएको लम्सालले बताए ।
‘आमाको कुरा सुन्दा परिवारमा पनि कुनै गुनासो देखिएन,’ उनले भने । विष्णु र सुन्दरमणिले आफूहरु काठमाडौंको सोह्रखुट्टेमा बस्ने र जुम्ल्याहा छोरा भएको बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विष्णु माझीले स्वेच्छिक रुपमै गुमनाम जीवन बिताइरहेको देखिएको बताए । तथापि भविश्यमा पनि उनको बारेमा ध्यान दिने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस विष्णु माझीको खोजीमा जिल्ला प्रशासनको चासो, जुम्ल्याहा छोरा भएको खुलासा
-अनलाइन खबरबाट साभार गरिएको हो