वैदेशिक रोजगारीका नाममा अवैध रुपमा ठगिरहेका दलाललाई अब जिल्लामै कारबाही गरिने भएको छ । वैदेशिक रोजगार विभागमा दर्ता भएका एजेन्टको विवरण सहित कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिने भएको हो ।
यी बाहेकका दलालले वैदेशिक रोजगारीको नाममा ठगी गरे जिल्लामै कारबाही हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गृहमन्त्री रामबहादुर थापालाई भेटेर यसका लागि समन्वय गर्न आग्रह गरेका थिए ।
यसअघि प्रहरी र प्रशासनले आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै वैदेशिक रोजगारीका नाममा ठग्ने दलाललाई कुनै कारबाही गर्दैनथ्यो ।
यसका लागि वैदेशिक रोजगार विभागले एजेन्टको अध्यावधिक गर्न थालेको छ । म्यानपावर कम्पनीसँग आफ्ना एजेन्टको विवरण पठाउन भनेको छ ।
म्यानपावर कम्पनीले विवरण बुझाइसकेको र अहिले ती विवरणको छानविन गरिरहेको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।
विभागले म्यानपावर कम्पनीबाट आएका विवरण छानविन गरेर श्रम तथा रोजगार मन्त्रालयमा पठाउने र श्रमले गृह मन्त्रालयमा पठाएपछि गृहले कारबाही अगाडि बढाउन प्रशासनलाई निर्देशन दिने भएको हो ।
पछिल्लो समय वैधानिक रुपमा दर्ता भएका कति एजेन्ट छन् भनेर छानविन भैरहेको विभागले जनाएको छ
साभार देशसंचार