२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

शोकमा पाल्पा, बस दुर्घटनामा १४ जनाको मृत्यु, ९ घाइते (नामावली सहित)

पाल्पा -शुक्रवार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि १४ जनाको निधन भएको छ । सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका–४ हुमिनमा दुर्घटनामा परेको थियो । उक्तमा दुर्घटनामा परि ९ जना घाइते भएका छन् ।

दुर्घटनबाट मृत्यु हुनेमा तानसेन–४ का ५२ वर्षीय विष्णुमान वज्राचार्य, तानपा–३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान वज्राचार्य, ६० वर्षीय छेत्रमान शाक्य, तानपा–६ का ५९ वर्षीय शुसिल प्रसाद श्रेष्ठ, ४३ वर्षीय सचिन बज्राचार्य, तानपा–४ का ५० वर्षीय कृष्ण बहादुर बोहोरा, ६२ वर्षीय दुर्गावहादुर सारु, तानपा–२ का ५९ वर्षीय लोकनाथ ढकाल, तानपा–३ का ४२ वर्षीय कमला कार्की, ३९ वर्षीया वसन्ती खाँण, तानपा–६ का २९ वर्षीय गीता बुढाथोकी, तानपा–५ की दुर्गादेवी श्रेष्ठ, तानपा– २ की ४५ मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् भने विष्णुमान लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, छेत्रमान उपाध्यक्ष, लोक प्रसाद कार्यसमिति सदस्य, शुसिल श्रेष्ठ कार्यसमिति सदस्य, देवेन्द्रलाल संस्थापक सदस्य, दुर्गाबहादुर संस्थापक सदस्य, सचिन संस्थापक सदस्य, वसन्ती बजार प्रतिनिधि, गीता बजार प्रतिनिधि, कमला कार्की बजार प्रतिनिधि रहेको सहकारीका संस्थापक अध्यक्ष हरि रायमाझीले बताए ।

घाइते हुनेमा संस्थापक सदस्य प्रफुल्ल शर्मा, बसका सह–चालक विमल रञ्जन, कार्यसमिति सदस्य उत्तम कुमार वज्राचार्य, संस्थाका कोषाध्यक्ष ओम प्रसाद मलेगो, बजार प्रतिनिधि मिना खाम्चा, बस चालक अर्जुन थापा, कार्यसमिति सदस्य प्रविण वज्राचार्य, कर्मचारी सन्तम बज्राचार्य, संस्थापक सदस्य पूर्णमाया महर्जन रहेका छन् । घाइते मध्ये चालक अर्जुन थापा, मिना खाम्चा, प्रविण बज्राचार्यलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत शुक्रबार नै काठमाडौं लगिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । अन्य घाइतेको युनाइटेड मिशन अस्पताल र प्रभास मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस सडकभन्दा डेढसय मिटर तल खसेको छ । तानसेन स्थित लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनका पदाधिकारी तथा सदस्यहरू रामपुरमा रहेको विभिन्न शहकारीको अवलोकन भ्रमणका लागि गएका थिए । मोटर साइकललाई साइड दिनेक्रममा सडक भासिएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तले बताए ।

साभार:-पाल्पा समाचारबाट

Facebook Comments Box

फेसबुक