ठाकुरबाबा नगरपालिका–१ सिंहवाहिनीकी ३६ वर्षीया महिलाले जबरजस्ती करणी गरेको भन्दै श्रीमानविरुद्ध मुद्दा दायर गरेकी छन् ।
स्थानीय तारादेवी बोहोराले दिनहुँ यातना दिंदै बलात्कार गरेको भन्दै आइतबार प्रहरीमा कालिबहादुरविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । कालीबहादुर ५२ वर्षका छन् । उनीहरूबीच ०५३ सालमा विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि घरमा तनाव शुरु भएको हो । बोहोराका ४ छोरी र १ छोरा छन् । श्रीमानले सन्तानमाथि पनि कुटपिट गर्दै आएको उनको आरोप छ । नेपाली सेनाका पूर्व हवल्दार बोहोराले १४ वर्षअघि अवकाश लिएका थिए ।
पतिले घर खर्च नदिएका कारण फलफूलको पसल राखेर गुजारा चलाउँदै आएको उनले बताइन् । बोहोराको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको थियो । शरीरका केही संवेदनशील अङ्गमा चोट पटक समेत लागेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक जनक भट्टराईले श्रीमानबाट जबरजस्ती गरेको महलअन्तर्गत मुद्दा दायर गरिएको जनाए ।
पतिले मदिरा सेवन गरी दिनहुँ कुटपिट र शारीरिक यातनासँगै जबरजस्ती करणी गरेको आरोप पाँच सन्तानकी आमाले आइतबार जिल्ला प्रहरी गुलरियामा उजुरी दर्ता गराएकी छन् ।
लामो समयदेखि दम्पतीबीच बेमेल बढेपछि गत कात्तिकमा जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो । ‘सम्बन्धविच्छेद मुद्दा टुंगो नलाग्दै श्रीमानले मेरो इच्छाविपरीत जबरजस्ती गरे,’ उनले भनिन्, ‘कति पीडा सहनु भनेर बाध्य भई मुद्दा हाल्नु प¥यो ।’ यस्तो मुद्दा दर्ता भएको जिल्लामा पहिलो हो । पति पत्नीबीच बोलचाल बन्द भएको १८ महिना भएको छ । ‘श्रीमती बसेको कोठामा गएको हुँ,’ पतिले भने, ‘उनले कुटपिट र अभद्र व्यवहार ममाथि गर्थिन् यस्तो अवस्थामा बलात्कार हुने प्रश्नै उठ्दैन ।’
-नयाँपेज