२०८० असोज, १७
||NEWS LUMBINI |

सत्यवादी लेडि अनुराधा थापा मगरको भोट माग्ने शैली किम जोङ स्टाईलमा !

भक्तपुर : सोमबार बिहान ८ बजे ‘मादलमा भोट हालौँ’ भन्ने गीत बजिरहेको थियो। सूर्यविनायक नगरपालिकाको वडा ७ गुन्डुस्थित वडा कार्यालय चोकमा निजी सवारीबाट ओर्लिन् अनुराधा थापा मगर।

भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवार रहेकी उनले उक्त चोकमा आयोजित कोणसभालाई सम्बोधन गरिन्।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्व सभामुख दमननाथ ढुंगाना र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतलाई परास्त गर्न आफ्नो उम्मेदवारी भन्दै मादलमा भोट दिन अनुरोध गरिन्। दुबै उम्मेदवारलाई उनले भारतीय दलाल र गुन्डाको आरोप लगाइन् अनि सुरु भयो घरदैलो।

साथमा थिए प्रदेश (क) का उम्मेदवार सरोजराज गोसाई र समानुपातिक उम्मेदवारहरु श्याम बिशुङ्खे, केदार खड्का, चनमति खुलीमुली, श्याम रानाभाट र नेमकिपाका कार्यकर्ता।

अघिअघि उम्मेदवार थापा मगर घरदैलोमा आइपुगेको जानकारी गराउँदै टाटा मोबाइल गुड्यो। त्यसको पछिपछि अनुराधासहित उम्मेदवारहरु आफ्नै उम्मेदवारीको ब्यानर समाएर अगाडि बढ्यो।

साथमा कार्याकर्ताहरु ‘हिजो पनि मादलमा, आज पनि मादलमा’ भन्दै नारा लगाउँदै थिए।

सडकै सडक बढ्यो र्‍याली।

घरहरु लहरै उभिएका थिए, तर उम्मेदवार थापा मगर दैलो पुगिनन्।

टाढैबाट उत्तर कोरियाली शासक किम जोङ उनको शैलीमा अभिवादन गर्दै अगाडि बढिन्।

उनलाई स्वागत गर्ने र शुभकामना दिनेहरुले बाटैसम्म आएर टीकामाला लगाइदिए। उनी भने अभिवादन गर्दै अगाडी बढिरहिन्।

‘के दैलो टेक्दैनन् त अनुराधाले?’ हामीले प्रश्न गर्‍यौँ।

वडा ७ ठूलो रहेको र वडा पूरै घुम्नुपर्ने भएकोले दैलोसम्म पुग्न अलि गाह्रो हुने प्रचारप्रसारमा सहभागी एक कार्याकर्ताले बताए।

तिथलीको उकाली पुगेपछि भने बाटो भुलेर र्‍याली घरैघर भएको ठाउँ पुग्यो। त्यसपछि भने उनले दैलो टेक्न पाइन्। दैलो टेक्न थालेपछि नमस्कार साटासाट गर्न थालिन्। दैलोमा भेटिएकाले पनि नमस्कार फर्काउन थाले।

उकालो सकेपछि पुन कोणसभा राखियो। यसपटक पनि थापामगरले मात्र सम्बोधन गरिन्।

त्यसपछि र्‍याली अघि बढ्यो। एकैक्षणमा चियाबिस्कुट खाने ठाउँ पुगे। चियाबिस्कुट सकेसँगै र्याली बसपार्क तर्फ अघि बढ्यो। त्यहाँ पनि कोणसभा भयो। त्यसपछि वडा कार्यालय चोकको ठीक अगाडि रहेको गाउँ पस्यो र्‍याली।

चार घन्टाको यात्रापछि अनुराधाले आफ्नो बिहानी र्‍याली टुंग्याइन् र निजी सवारी चढी सहरतिर पसिन्।

Facebook Comments Box

फेसबुक