नेपाली राष्ट्रिय टीमका स्टाइकर अनिल गुरुङ अब अन्तराष्ट्रिय खेलमा सहभागि हुने छैनन् । एसिया कप फुटबल छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको पाँचौं खेल खेलेपछि उनले अन्तराष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । हालै एक समारोहबीच उनलाई विदाइ समेत गरियो ।
सन् २००७ देखि २०१७ सम्म उनले राष्ट्रिय टीममा रहेर ५० बढी प्रतियोगितामा सहभागिता जनाए । हालै रंगशालालाई ढोगेर अन्तराष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट नखेल्ने जनाउँदै विदा लिएका छन् । यसै सिलसिलामा अनिलसँग इमेज च्यानलका तर्फबाट जगदिश खरेलले गरेको कुराकानीको अंश:
रंगशालाको चौरलाई ढोगेर विदाई लिंदा कस्तो अनुभव भयो ?
सोच्दै नसोचेको विदाई भयो मेरो । नरमाइलो अनुभव भइरहेको छ । ९० मिनेटको खेल सकिनासाथ मेरो मन रोइरहेको थियो । राष्ट्रिय टिमका तर्फबाट १० नम्बरको जर्सी अब म सँग हुनेछैन भन्ने लागिरहेको थियो । मेरो भब्य विदाइको तयारी भएको रहेछ । जुनबेला म दुःखको हाँसो हासिरहेको थिएँ ।
उमेर त ढल्किसकेको थिएन तपाईंको सन्यास नै किन लिनुपर्यो ?
मैले धेरै बर्ष देशका लागि खेलें । सधैं मैले मात्र खेल्नुपर्छ भन्ने छैन् । नयाँ पुस्ताले अवसर पाउनुपर्छ । पछिल्लो समयमा नेपालमा धेरै गेम हुन सकिरहेका छैनन् । त्यसले पनि अलिक निराश बनायो ।
कुन ‘ट्रनिङ पोइन्ट’मा आइपुगेपछि सन्यास लिने सोच्नुभयो र अहिले घोषणा गर्नुभयो ?
मैले सोचेको चाहीं मलेसियामा भएको सोलारिडि कप जितेर आएपछि सोच आयो । त्यसपछि मैले अग्रजहरुसँग सल्लाह लिएको थियो ।
तपाईंले खेल्नुभएको ५० अन्तराष्ट्रिय खेलमध्ये नौं गोल गर्नुभयो, यो पर्याप्त हो ?
यो गोल संख्या कम हो । हामीले धेरै हाइ लेभलको टिमहरुसंग खेल्नुपर्दथ्यो । अलिक गार्हो थियो खेल्न ।
पछिल्लो समयमा तपाईं प्रशिक्षकको नजरमा पर्नुभएन की एन्फाले नै तपाईंलाई रोजेन ?
कतिपय अवस्थामा कोचले पनि म लगायतका खेलाडीको प्रोफाइल पनि हेर्नुभएन । कतिपय अवस्थामा सल्लाह पनि गर्नुभएन् । तर पछिल्लो समयमा जापानी कोचको नजरमा परेको थिएँ । हाम्रो कोचहरुले प्रायः जुनियर खेलाडीलाई मात्र राष्ट्रिय टिममा राख्ने परिपाटीको विकास पनि हुँदै गयो । केही सिनियर खेलाडीहरुलाई पनि राखेर राष्ट्रिय टिममा राख्नुपर्ने थियो । त्यो हुन सकिरहेको छैन् । यद्यपी, एन्फाबाट चाहीं मलाई त्यस्तो नराम्रो भएन् ।
बेलायतमा तालिम लिएपछि फुटबल करियरमा कसरी ‘ट्रनिङ पोइन्ट’ बन्यो ?
सन् २००९ मा लन्डनमा तालिममा सहभागी भएँ तर एकदमै हार्ड लाग्यो । सक्दिन जस्तो लाग्यो । तर युकेका दाईहरुबाट हौसला पाएपछि तालिमलाई निरन्तरता दिएँ । त्यहाँको वातावरण, खेलाडीको जीनवशैली आदि देखेर अझ मेहेनत गर्दै गएँ । विस्तारै कोचले पनि मलाई रुचाउनु भयो । तर भिषाका कारण धेरै समय लन्डनमा बस्न सकिन । त्यो छोटो अवधीको तालिम मेरा लागि फुटबल जीवनकै उपलब्धी बन्यो ।
दक्षिण एसियामा नेपाली फुटबलको अवस्था कस्तो पाउनुहुन्छ ?
पहिले राम्रो थिएन् तर अहिले धेरै राम्रो हुँदै आएको छ । तर बीचमा फुटबलमा ग्याप हुनुहुँदैन् । निरन्तरता दिनुपर्छ । यसमा एन्फाले पनि ध्यान दिनुपर्छ । राम्रो रंगशाला पनि छैन् नेपालमा । यसमा सुधार गर्नुपर्छ । सबैले फुटबल खेललाई कदर गर्न सक्नुपर्छ ।