२०७७ कार्तिक, ८

सन्तान सप्रे बुवाका, बिग्रे आमाका ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यमुना अर्याल (काफ्ले)-केही समयअघिको घटना जसले अहिले पनि मन झस्काइरहन्छ। चिनजानकै उपाध्याय बाहुनकी छोरीले सुनार केटासँग भागी बिहे गरिन्। समाजमा पुरोहित भनेर कहलिएका बुवाको इज्जत गयो, दु:ख गरेर बिएसम्म पढाएका बाउले आफ्नै भाग्यलाई मात्र सरापेनन् श्रीमतीलाई पनि उत्तिकै सराप्थे।

‘बेलैमा छोरीको बिहे गरौं भन्दा उसकै आमाले रोकी, छोरीलाई पढाउनुपर्छ, अहिले बिहे गर्न के बितेको छ भन्दै  टाउकोमा टेकाउनी भई अहिले के मुखले जजमानी गर्न हिँडू’ ? ‘बाजे तपाईंकी छोरीलाई भित्राउनुहुन्छ कि छोइछिटो गर्नुहुन्छ ? बाजे तपाईंले सुनारको छोरालाई ज्वाँइ भन्नै पर्ने भयो कति अप्ठ्यारो लागे होला होइन ?’ यस्ता प्रश्न सुन्दासुन्दा उनलाई दिक्क लागिसक्यो। एउटा भएको छोरा विदेशमा छ, पढ्न पठाएकी छोरी आफूखुसी दलितको छोरासँग भागेर बिहे गर्छे , थुक्क मेरो भाग्य ? छोरीको ठाउँमा छोरालाई पढाएको भए हुन्थ्यो नि। आमाले बेलैमा होस् विचार पुर्‍याएको  भए यस्तो हुँदैन्थ्यो, आमालाई छोरीको सबैकुरा थाहा थियो उसैले लुकाइ र भगाएर पठाएकी हो …. जसले छोरीको कुरा निकाल्छन् पण्डित बाजेले यही जवाफ दिन्छन्। मानौं पण्डित्नी आमाले जानीजानी छोरीलाई दलित केटासँग भगाएकी हुन्।

आमाको उस्तै गुनाासो छ, आफूले पढ्न नपाए पनि छोरीले पढोस्, केही गरोस् भनेर कति ठाउँबाट माग्न आउँदा पनि बिहे गर्दिन दिइनँ अहिले छोरीले यस्तो हालत बनाएर गई। जे भए पनि आमाको मन हो कहिले छोरी आउँछे भन्ने हुन्छ बाउले म जिउँदो हुँदासम्म तेरी छोरीले मेरो घरको देलो टेक्न पाउँदिन भनेका छन्।

चाडबाडमा आँसुसँग खाना निल्छु, छोरीले जे गरे पनि आमाको मनले मान्दैन तर बाउले नजिक पर्न दिँदैनन्। सबै दोष मैमाथि छ, एउटी छोरीको धूमधामसँग बिहे गर्दिने मन मेरो थिएन होला त ? कुन आमाले आफ्ना सन्तानको कुभलो सोच्दा हुन् ? दुनियाँले अपराधी, हत्यारा भनेको सन्तान पनि आमाको लागि कोखीको घाउ हुन्छ। सन्तानले बाटो बिराउँदा किन दोष आमालाई मात्रै दिइन्छ? छोरी भागेपछि बोलीपिच्छे तेरी छोरी यस्ती, उस्तीभन्दा अर्थोक भन्दैन श्रीमान्।

अर्को घटना, अघिअघि श्रीमान् पछिपछि श्रीमती, दुवैको मुहार मलिन। श्रीमती चुपचाप थिइन्, श्रीमान् एकतमासले गज्रँदै थिए।

‘यो सब तेरै कारणले भयो , तैंले छोरीलाई उक्साएकैले अहिले समाजमा हाम्रो नाक काटियो’। मेरी मात्रै छोरी हो ? तपाईंको  के नाता पर्छ नि उससँग? श्रीमती पनि कड्किइन्। मेरालागि अब ऊ मरिसकी बुवा फेरि कराए। बाह्र कक्षा पढ्दै गरेकी छोरीले भागेर अन्तरजातीय बिहे गरेपछि देखिएको दृश्य हो यो।

उनीहरू भागेकी छोरी फिर्ता ल्याउन चाहन्थे तर समाजको अगाडि नै छोरीले आफू मन परेर गएकोले कुनै पनि हालतमा फिर्ता नआउने बताएपछि बुवाआमा निकै तनावमा परे। पुलिस चौकीमा आफन्त जम्मा भए, छोरीको उमेर पुगेको छैन भनेर फिर्ता ल्याउन खोजे तर छोरीले  मेरो नागरिकता हेर अनुहार होइन भन्दै पुलिसकै सामू चुनौती दिएपछि सबैजना अवाक् बने। यसको सम्पूर्ण दोष आमामाथि थोपरे बुवाले। उपस्थित भद्रभलाद्मीहरूले पनि आमाकै  दोष देखाए, ‘बेलैमा आमाले राम्रो संस्कार दिएको भए पो छोरी तह लाग्छन् त, आमा गतिलो नभएपछि छोरीको यही हालत हुन्छ’  यस्तै कुराहरू एकपछि अर्को थपिए , आमा मनभरी पीडा संगाल्दै भाग्यलाई दोष दिइन्।

पोहोर साल छोरी स्कुलमा प्रथम हुँदा त मेरी छोरी फर्स्ट भई भन्दै सबैलाई सुनाउँदै हिँड्नी तपाईं नै अहिले उसले आफूखुसी बिहे गर्दा मेरीमात्रै भई? सबै गल्ती मेरै भयो? छोरी फर्स्ट हुँदासम्म तपाईंकी पोइल हिँडेपछि, समाजमा नाक काटिएपछि मेरी? छोरीको बिहे गर्दिने मेरो मन थिएन होला? उसोभए छोरीलाई मैले पोइल पठाएँ? आमा एकपछि अर्को कुरा निकाल्दै कराइन्। कुरा सुनिरहेका बाबु फ्याट्ट बोले तैंले जेसुकै भन् आमा गतिलो नहुँदा छोराछोरीको यस्तै हालत हुन्छ, फेरि पनि दोष आमाकै देखियो।

अर्को घटना, बुवाको सधैं मध्यपान गरिरहने, चुरोट खाने लत थियो तै पनि छोरालाई नखान आग्रह गर्थे। बुवाले खाएको देखेर संगीसाथीको लहलहैमा लागेर सोह्र वर्षको छोरो चुरोट तान्ने, रक्सी पिउने भयो। लुकिछिपी खाने छोरो एकदिन नशाले चुर भएर  बेठेगानले घरमा आइपुग्यो। अर्काका घरमा लुगा धोएर, भाँडा माझेर जीविका चलाउने आमा छोरालाई खानाखान पर्खेर बसिरहिन। आधा रातमा छोरो आयो तर बेहोसी पारामा। रक्सी खाएर ऊ होशमा थिएन,रक्सीमात्र खायो कि के के खायो आमालाई थाहा छैन। बल्लतल्ल छोरालाई कोठामा पुर्‍याइन् आमाले। बुवा भने रिसले चुर भइसकेका थिए।

‘हेर तेरो छोराले के गर्यो आज ? खुब पुल्पुल्याएर राख्याथिस् नि थाहा भयो आज ? अझै पनि छोरालाई टाउकोमा टेकाउछेस् कि के गर्छेस् ?’ आधा रातमा श्रीमानले के के भने उनको दिमागले नै काम नगरे जस्तै भयो। धेरै बेर श्रीमानका कुरा सुनेपछि जवाफ फर्काइन्, ‘तपाईंलाई बच्चाको सामु रक्सी नखानु, चुरोट नखानु भन्दा लागेन आज छोराले त्यही सिको गर्यो। मैले जाँडरक्सी खाएको छैन चुरोट तान्दै हिँडेको छैन, कसको सिक्यो त छोराले ? छोराले गल्ती गरेपछि आमाकै दोष हुन्छ ? उसलाइई जाँडरक्सी खान मैले सिकाएँ ? रातदिन घरमा मैले रक्सी खान्छु ?’ उनी जति कराए पनि छोराको  यस्तो हालत हुनुको गल्ती श्रीमानले उनैलाइ देखाए।

यी  प्रतिनिधि घटनाले के देखाउँछन् भने आफ्ना छोराछोरी राम्रो भए, असल बाटोमा लागे भने त्यसको पहिलो जस बुवालाई जान्छ। राम्रोको जस आमालाई सकभर थाहा हुँदैन। आमाको नामबाट सकभर चिनिँदैन। फलानाको छोराले यस्तो सफलता पायो, फलानाको छोरी त कति अब्बल। घरमा आएर त्यही बुवाले कति नाक फुलाएर गफ दिन्छ आज मेरी छोरीले यस्तो गरी, छोराले यस्तो गर्यो, छोराछोरी त मेरै जस्ता हुनु नि। तर यसको विपरीत भयो भने त्यसको अपजस आमाले लिनुपर्छ। तेरी छोरीले नाक काटी, तेरो छोराले यस्तो गर्यो। संसारका सबैभन्दा नि:स्वार्थी माया गर्ने भनेका आमाबुवा हुन्। आमाबुवाले आफ्ना सन्तानलाई बिनाकुनै प्रलोभन ममता दर्शाउँछन्। त्यही माया आफू अनुकूल नहुँदा किन कित्ताकाट गरिन्छ ? कुन आमाले आफ्ना सन्तान बिग्रेको, नराम्रो लतमा लागेको हेर्न चाहन्छिन् होला ? न त पहिलो घटनाकी आमाले आफ्नी छोरीले भागेर अन्तरजातीय बिहे गरोस् भन्ने चाहेकी थिइन् न त दोस्रो घटनाकी आमाले जुँगाको रेखी बस्दै गरेको छोरो नशाले मातिएर आधा रातमा घर आओस् भन्ने चाहेकी थिइन्। आमाले नचाहँदा नचाहँदै पनि धेरै छोराछोरी बिग्रेका छन्, नराम्रो लतमा फसेका छन, घर परिवारको इज्जत डुबाएका छन्, समाजमा ठाडो शिर हुन दिएका छैनन्।

के यस्ता गतिविधि गर्ने सन्तानबाट आमा खुसी होलिन् त ? यस्ता घटनामा बुवाको हात हुँदैन ? सन्तान आमाबाट बिग्रन्छन् कि बुवाबाट ? सन्तान आमाबुवा दुवैका हुन् भने त्यसको अपजस पनि त बराबर हुनुपर्ने होइन र ? आफू रातदिन रक्सी खाने छोराछोरीलाई नखाऊ भन्ने, आफू जुवातास खेल्ने सन्तानलाई नखेल्न भन्ने, आफू आधा रातमा घर आउने , छोराछोरी एकैछिन ढिलो आउँदा स्पष्टिकरण माग्ने अनि सन्तानले नराम्रो काम गरे भने त्यसको पूरै अपजस आमाले बोक्नुपर्ने ?

सन्तान आमाबुवा दुवैका हुन त्यसको जसअपजस दुवैले लिनुपर्छ। सन्तान सप्रेको खण्डमा बुवाका, बिग्रँदा आमाका कहिल्यै पनि हुँदैन। यो मानसिकता कहिले अन्त्य गर्ने ?

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक