नेपाली चलचित्र क्षेत्र सानो छ । तर, यो सानो नगरीमा ठूलो सपना देखेर वर्षेनी दर्जनौं नयाँ अनुहारहरु भित्रिन्छन् । उनीहरुमध्ये थोरैले मात्र यो क्षेत्रमा लामो करिअर बनाउन सफल हुन्छन् ।
बर्ष २०७४ मा पनि नेपाली चलचित्रले धेरै नयाँ कलाकार पायो । उनीहरुमध्ये केही चम्किए भने केही ओझेलमा परे । जो चम्किए, उनीहरुको डिमाण्ड चलचित्र क्षेत्रमा खुबै भइरहेको छ । चलचित्रको सफलतादेखि मिडिया हाइप र दर्शकको उत्सकुताले गर्दा उनीहरु चर्चामा आए ।
यहाँ हामी यस वर्ष डेब्यू गरेका केही नायक-नायिकाको चर्चा गर्दैछौं, जसले लामो रेसको घोडा बन्ने छनक देखाएका छन् ।
सलिनमान बनियाँ
‘ए मेरो हजुर २’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सलिनमान बनियाँ यो बर्ष चम्किएका नवकलाकारको सूचीमा सबैभन्दा अगाडि आउँछन् । यो चलचित्र बक्स अफिसमा सफल हुनुमा सलिनको भूमिकाले धेरै हदसम्म काम गर्यो । सलिनमानको लुक्स, उनको पहिरन, हेयर स्टाइलले खुबै चर्चा पायो । सलिनमानलाई हेर्नैका लागि यूवतीहरुको भिड हलमा देखियो ।
पहिलो चलचित्रबाट नै चम्किएपछि सलिमानलाई चर्चित ब्यानरका निर्माता-निर्देशकले आफ्नो चलचित्रमा अनुवन्धित गर्न खोजे । तर, सलिमान चुजी बने । उनले यसपछि नयाँ चलचित्रमा काम गर्न लागेको खबर सार्वजनिक भएको छैन । निर्माता केशव भट्टराइको चलचित्रमा उनी अनुवन्धित भएको गसिप मात्र चलेको छ ।
अदिती वुढाथोकी
इन्स्ट्राग्राममा पोष्ट गरेको बोल्ड फोटोका कारण चलचित्र क्षेत्रमा आउनु अगाडि नै मोडल अदिती वुढाथोकीको चर्चा व्यापक थियो । सुपरस्टार अनमोल केसीसँग चलचित्र ‘कृ’ मा काम गर्ने भन्नासाथै उनको चर्चा ह्वात्तै बढ्यो । चाँडै नै उनी नेपाली दर्शक र मिडियामाझ परिचित बनिन् । पहिलो चलचित्रबाट नै सफलता पाएपछि उनलाई अन्य निर्माताले पनि खोजिरहेका छन् ।
अदितीको बोल्ड शैली, फरासिलो बानी र अभिनयले धेरैलाई आकषिर्त गर्यो । चलचित्र रिलिज अगाडि अनमोलकी हिरोइन भनेर अदितीलाई चिनिए पनि रिलिजपछि उनले आफ्नै परिचय बनाइन् ।
दीपिका प्रसाई
नायिका दीपिका प्रसाईले पनि यो बर्ष चलचित्र क्षेत्रमा भाग्य जाँच्ने अवसर पाइन् । चलचित्र ‘ऐश्वर्य’ मा नायक रमेश उप्रेतीको जोडीको रुपमा चम्किएपछि उनलाई चलचित्रमा खोज्ने दर्शकको संख्या बढ्यो । दीपिकाको फिगर, अभिनय, सुन्दरता र बोल्ड शैलीले धेरैको मन जित्यो । चलचित्र ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीतले पनि उनलाई धेरै दर्शकमा चिनाउन मद्दत गर्यो ।
दीपिकाले यसपछि नयाँ चलचित्रमा काम गरेको खबर छैन । बरु उनी चलचित्र ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराइसँगको प्रेममा परेको खवर फैलिएको छ । जे होस, दीपिका यो बर्ष सफल हुने थोरै नवकलाकारको सूचीमा पर्छिन् ।
आशिरमान देशराज जोशी
नायक आशिरमान देशराज जोशीले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ यो बर्ष रिलिज भयो । यो चलचित्रबाट रजतपटमा डेब्यू गरेका आशिरमान बक्स अफिसमा त सफल हुन सकेनन् । तर, उनी भने डिमाण्डेड बने ।
चलचित्र असफल भएपनि आशिरमानको मिहिनेत, हाइट, लुक्स र अभिनयले राम्रै तारिफ पायो । उनलाई यूवतीहरुले खुबै रुचाए । आशिरमान अहिले चलचित्र ‘ब्रेकअप’मा काम गरिरहेका छन् । यो चलचित्रमा उनले महंगो पारिश्रमिक लिएको चर्चासमेत भयो ।
सारा सिर्पाली
नायक निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘रुद्र’बाट यो बर्ष नायिका साराले चलचित्र क्षेत्रमा पाइला राखिन् । यो चलचित्र बक्स अफिसमा खासै चलेन । यस्तै, यो बर्ष नै निखिलसँग दोश्रो चलचित्र ‘पिजडा ब्याक अगेन’मा पनि सारा देखिइन् ।
दुबै चलचित्रले व्यापार सुखद नगरे पनि साराले भने धेरैको मत जितिन् । सायद, यहि कारणले हुनसक्छ उनलाई नयाँ चलचित्र ‘सुश्री सम्पत्ती’मा काम गर्ने अवसर मिल्यो । साराको साधारण शैली, पहिरन, सुन्दरताले दर्शकको मन जित्यो ।
जसिता गुरुङ
कतिपय कलाकारले चलचित्र रिलिज अगावै नै चर्चा पाउँछन् । यसरी चर्चा पाउने कमै मात्र कलाकारमा नव-नायिका जसिता गुरुङ पर्छिन् । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ रिलिज अगावै नायिका जसिता गुरुङले हाइप पाइसकेकी छिन् । जसिताले अभिनय गरेको यो चलचित्रले अहिले राम्र्रै ‘बज’ क्रियट गरिसकेको छ । जसिताको सुन्दरता, उनको बोलिचाली र ट्रेलरमा देखिएको अभिनयले गर्दा उनलाई यो हाइप मिलेको हो । जसितालाई लिएर चलचित्र बनाउन अहिले देशकै चर्चित ब्यानरहरु पनि लागिपरेका छन् ।
र, अन्य
यी बाहेक सफल चलचित्र ‘छक्का पन्जा २’ बाट नायक स्वरुप पुरुष ढकाल, चलचित्र ‘प्रेमगीत २’बाट नायिका अश्लेषा ठकुरीलगायत पनि चलचित्र क्षेत्रमा भित्रिए । तर, उनीहरुको खासै चर्चा भएन । उनीहरुको चलचित्र यात्रा एउटै फिल्ममा सिमित नहोस, यही कामना गरौं ।
-अनलाइनखबरबाट