२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

सावधान! एउटा सानो गल्तिले परिवारमा ठुलो असर गर्ला

सुरेन्द्रको बानी सानैदेखि राम्रो थियो । मेहनेती थिए राम्रोसँग पढ्थे । तर परिवार गरिब भएकाले पढ्न सकेनन् । विदेश जानुपर्ने बाध्यता पर्‍यो । उनी मलेसिया गए ।

त्यहाँ काम राम्रो थियो । उनले घरमा पैसा पठाउन पनि थालिसकेका थिए । पहिलोपल्ट बिदामा घर आएर विवाह गरेर विदेश गएका थिए । दोस्रो पल्ट विदेश गएर तीन वर्ष बसे । परिवारको अवस्था बिस्तारै राम्रो हुँदै गएको थियो । उनी घर फर्किने तयारीमा लागिसकेका थिए ।

तर उनी आउने बेलामा बिरामी परे । अस्पतामा भर्ना भए । रगत जाँच गर्दा उनको शरीरमा एचआइभी एड्स देखा पर्‍यो । उनी छाँगाबाट खसे जस्तै भए । परिवारमा कसरी मुख देखाउने भनेर चिन्तित हुँदै बसे । साथीहरूले उनलाई जसोतसो घर पठाइदिए । एयरपोर्टमा लिन आएकी श्रीमतीको आँखामा उनले हेर्न पनि सकेनन् ।

उनी बस्ने ठाउँ नजिकै एक जना विदेशी महिला बस्थिन् । बेलुकापख बाहिर निस्कँदा उनीहरूको देखादेख हुन्थ्यो । एक दिन साथीहरूले चिनजान पनि गराइदिए । केही समयमा उनीहरूबिचमा शारीरिक सम्बन्ध भएको थियो । असुरक्षित तरिकाले गरिएको त्यो सम्बन्धको असर यस्तो होला भनेर उनले सोचेका थिएनन् ।

जे हुनु भइसकेको थियो । रोग उनको श्रीमतीमा सरेको छ कि छैन भनेर जाँच गर्न उनीहरू स्वास्थ्य संस्थामा गए । धन्न श्रीमतीमा सरेको रहेनछ र पेटमा हुर्किँदै गरेको बच्चालाई केहीपनि भएनछ । अहिले उनी घरमै बस्छन् । डाक्टरले रोग निको पार्ने दबाइ नभएको तर माया र स्याहारले उमेर लम्बिन सक्ने भनेकाले उनी त्यसरीनै बसिरहेका छन् । यस्तो समस्या भएपछि अपनाउनुपर्ने सावधानीका उपायहरू अपनाएका छन् र उनको व्यवहारमा पनि धेरै राम्रो परिवर्तन आएको छ । परिवारमा आमाबुवा र श्रीमतीले उनलाई माया.गर्छिन् । अहिले उनी आफ्ना साथीहरूलाई आफ्नो जस्तो समस्या नपरोस् भन्ने सल्लाह दिन्छन् ।

कथाले सिकाएको कुरा:

वैदेशिक रोजगारीको लागि लामो समय विदेश बस्नुपर्ने भएकाले यौन सम्पर्क राख्ने इच्छा हुनु स्वभाविक हुनसक्छ । तर त्यसो कार्य गर्नुभन्दा पहिला त्यसले पार्ने असरलाई भने जहिल्यै पनि ख्याल गर्नुपर्छ । आफूले आफ्नो इच्छालाई हेर्दा परिवारलाई कस्तो असर पर्छ भन्ने बारेमा बिचार गरिएन भने परिवारनै तहसनहस हुनसक्छ । सुरेन्द्रकै हकमा पनि यदि त्यो रोग उनको श्रीमति र बच्चालाई पनि सरेको भए कस्तो नराम्रो हुन्थ्यो होला त्यसैले विदेशमा बस्दा त्यहाँ आफ्नो कारणले वा अरूकै कारणले पनि लाग्न सक्ने रोगहरूबारे जहिल्यै सचेत हुनुपर्छ ।

विदेशमा लाग्नसक्ने सम्भावित रोगहरूबारे जान्नको लागि तलका लेखहरू पढ्नुहोस्:

विदेशमा काम गर्दा कस्ता स्वास्थ्य समस्या आउन सक्छन्? धेरै रक्सी/मदिरा खाँदा आउन सक्ने समस्या।
विदेशमा कस्ता स्वास्थ्य समस्या आउन सक्छन्? अत्यधिक घाम वा गर्मीले ल्याउने स्वास्थ्य समस्या
खाडी मुलुकमा काम गर्नेलाई कस्ता कस्ता स्वास्थ्य समस्या आउन सक्छन् ?
नोट: माथि उल्लेखित घटना काल्पनिक हुन् । कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन् ।

Facebook Comments Box

फेसबुक