२०८१ असोज, ३०
||NEWS LUMBINI |

सिमेण्टमा लगानी बढाउँदै चाचान समूह

बाँके । चाचान समूहले बाँकेको जानकी गाउँपालिकास्थित जय बागेश्वरी सिमेण्ट उद्योगको क्षमता विस्तार गरेको छ । दैनिक ९ हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएको उक्त उद्योगले केही हप्तापछि दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जानकारी दिएको छ । पीपीसी सिमेण्ट मात्र उत्पादन गर्दै आएको सो उद्योगले अबदेखि ओपीसी सिमेण्टसमेत उत्पादन गर्ने बताएको छ ।

उद्योगमा अहिले सिमेण्ट उत्पादन गरी परीक्षण कार्य भइरहेको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताए । ‘अहिले परीक्षण चलिरहेको छ । अबको २ हप्तापछि क्षमता वृद्धिसहित र ओपीसी सिमेण्टसमेत उत्पादन गर्छौं ।’ अढाई वर्षदेखि चाचान समूहले जय बागेश्वरी सिमेण्ट उद्योगबाट त्रिशक्ति र बज्रशक्ति ब्राण्डका सिमेण्ट उत्पादन गर्दै आएको छ ।

उपभोक्ताको माग बढेपछि उत्पादन क्षमता वृद्धि गरिएको अध्यक्ष चाचानको कथन छ । ‘गुणस्तर राम्रो भएकाले हाम्रो सिमेण्टको माग बढेको हो,’ उनले भने । उद्योग शुरू गर्दा ५० करोड लगानी गरिएको थियो भने क्षमता वृद्धि गर्न ३० करोड थप लगानी गरिएको चाचान समूहले बताएको छ । उद्योगमा सयभन्दा बढीले रोजगारी पाएका छन् ।

वीरगञ्जमा मुख्य कार्यालय रहेको यस समूहले सिमेण्टलगायतका उद्योग सञ्चालन गर्दै आएकोमा पश्चिम क्षेत्रमा सिमेण्ट उद्योगबाट लगानी विस्तार गरेको हो । बुधवार उद्योग परिसरमा आयोजित कार्यक्रममा चाचानले पश्चिम क्षेत्रमा लगानीमैत्री वातावरण बन्दै गएको बताए ।

‘हाम्रो योजना पूर्णरूपमा सफल भए अन्य क्षेत्रमा पनि हात हाल्छौं,’ चाचानले भने । स्वदेशी सिमेण्ट उद्योगका कारण भारतीय सिमेण्ट विस्थापित भइसकेको उनको भनाइ थियो ।

Facebook Comments Box

फेसबुक